• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

ड्याम्मै एकता !

एकता कति मिठो सुनिन्छ । देशको एकता, पार्टीको एकता, जनताको एकता, सरकारमा एकता, गठबन्धनमा एकता, प्रतिपक्षमा एकता, बाम एकता, कांग्रेस एकता, मधेशी एकता, पहाडी एकता, हिमाली एकता जता हेर्यो उतै एकता ! जताततै एकतै एकता । आफूलाई भने यो सुन्ने बित्तिकै भाउन्न्नन भएर आउँछ । कानमै राष्ट्रघाती कानेकुजी बसेपछि मेरो के लाग्छ र ? कोट्याउँ नङमा लाग्न फसाद ! नाकको हालत पनि त्यस्तै । हातको त कुरै नगरौं । बाँसुरी बजाउन पनि हात चाहिने, निरोले बजाएजस्तो ! यस्सो तलमाथि गर्यो झ्याप्प बिटा टेबुलमुनी राख्ने प्रमुख कारिन्दा हात नै हो । सन्धि–सम्झौता गर्नुपर्यो भने पनि यही हातले हस्ताक्षर नगरेसम्म प्रमाणित नहुने । हात नमिलाई एकता पनि नहुने ।  यो हात देखेर पनि मलाई अचम्म लागेर आउँछ । भात खान’नि चाहिने, चाक धुन’नि चाहिने । एकता गर्न’नि यही हात चाहिने ! मुड्की बजार्न’नि हात नै चाहिने । सन्धिसम्झौता गर्न’नि यही चाहिने ।  खुट्टा हेर्यो यसको नि कामै एकताका लागि दौडधुप गर्नुपर्ने । कहिले दक्षिण दौडिया’छ । कहिले उत्तर दौडिया’छ । कहिले पूर्व दौडिया’छ त कहिले पश्चिम दौडिया’छ । जहिले धपेडी । दौडधुप नगरी एकता नहुने । त्यसैले खुट्टाको महिमा हजार टाउका भएका शेषनागले पनि बखान गर्न नसक्ने खालको छ । विदेश भ्रमण, स्वदेश भ्रमण, मन्दिर भ्रमण, आकाश भ्रमण, एकता भ्रमण जताततै खुट्टाकै आवश्यकता ! अब नाकको कुरै नगरौं । सुँघ्न मात्रै होइन, चश्मा अड्याउन पनि नाक नै चाहिने । चश्मा नलगाई कागजमा सन्धिसम्झौता गर्न पनि गाह्रो । नाकको डिलमा चश्मा नराखी सम्झौताका अक्षर बुझ्न गाह्रो । यसका बाजे ! यो नाक देखेर’नि चौउन्न्न्न्न छुटेर आउँछ भन्या । सिंगान जम्मा गर्न’नि नाकै चाहिने । चश्मा राख्न’नि नाकै चाहिने, सास तान्न’नि नाक नै चाहिने ।  मुखको कुरै नगरौं । खान मिल्ने र नमिल्ने जति सबै खान्छ यसले । घुस खान’नि मुखै चाहिने, भात खान’नि मुखै चाहिने, रउसी खान’नि मुखै चाहिने । सुर्ती खाँ’र फुर्ति लाउन पनि मुखै चाहिने । गाँजा चरेश खान’नि यही मुख चाहिने । हप्काउन दप्काउन’नि यही मुख चाहिने । यो मुखको महिमा पनि अपरम्पार छ भन्या । अझ नेपालाँ यो मुखको निकै महत्व छ । साँच्चै अहिलेसम्म तलुवाहरुले किन मुख दिवस नराखेका होलान् !  आँखाको त कुरै नगरुम् । यता हेर्छ, उता हेर्छ झ्याप्पै उम्न थाल्छ । मनले एकता गरिहालुम् भन्छ, यो शरीर भन्ने जिनिस लम्पसार पर्छ । टाउको भुइँमा जोत्छ, हात सिनिक्क तन्काउँछ र लास जसरी लम्पसार पर्छ । लम्पसार पर्न शरीरलाई आँखा, हात, खुट्टा, शरीर सप्पैले मद्दत गर्छन् । अनि लम्पसारवाद नआएर स्वाभिमानवाद आउँछ त ? कान, नाक, हात, खुट्टा, आँखा, मुख, टाउको, यी अंग प्रत्यंग भएपछि एकताका लागि जग बलियो हुने नै भयो । तर, यिनका आ–आफ्ना काम छन् । कहिले हातको रुचि हुँदा खुुट्टाको नहुने । नाकको हुँदा कानको नहुने । हैट ! यो मुखको हुँदा हातको नहुने । एकता भनेपछि कहिले नाक जुरुक्कै हुने कान लुरुक्कै हुने । कहिले मुख ओडार जस्तो च्यातिने कान कानेकुजीले बुझिने । कहिले त कानले एकतै एकता सुन्छ आँखाले देख्दै देख्दैंन् । टाउकोले एकता भन्छ, हातले लेख्दै नलेख्दैंन । यो शरीरको अंगलाई दक्षिणी वायूले छोयो’की टेडेङमेडेङ भैहाल्ने । वायू पनि पोलुटेट । हैट ! हावाको नि छाती हुन्छ रे !! अनि त्यो छाती चाहिँ मुसाको जत्रो पनि नहुने यो कस्तो वायूको हो ? अनि एकता गर्न बस्यो’कि वायूले उडाएर लइ हाल्ने । दुईजना बस्यो’कि उँद्योबाट उँघो हुर्ररिएर वायू आउने र उडाएर लाने । अरु वायूले त उडाएर लान्छन् यो दक्षिणी वायूले त आफूतिर तानेर पो लान्छ । मेरो झ्वाकको सीमाले चौघेरा नाघिसक्या’छ । अब ड्याम्मै एकता गर्दिन्छु !!

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर