• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

 नदी 

म छल्कदै जहाँजहाँ पुगें असार सार भो
तरङ्ग रङ्ग दङ्ग भो र जिन्दगी अपार भो 
म जन्मले हिमाल हुँ र कर्मले मधेश हुँ
जहाँजहाँ पुगें सबै, सबै म हुँ अशेष हुँ

म तालमा जमें कतै  र तालबाट जन्मिएँ 
झरें कतै म कन्दरा र यो धरा नि सिञ्चिएँ
म पालुवा र वालुवा खिलाउँदै रमाउँछु 
कुलाकुला गरागरा म गीत गुन्गुनाउँछु

छ लाखलाख वन्दना म शम्भुको नि भक्त हुँ
नशानशा म बग्दछु म रङ्गहिन रक्त हुँ 
नदीनदी महानदी अडी यहाँ म रुक्दिन
म धैर्य गर्न सक्दिन र वेग थाम्न सक्दिन

म फूल भै फुले कतै सुगन्ध मन्दमन्द भो 
र देशमा सुरम्य यो अनन्त शान्ति फैलियो ।
म धर्तीपुत्र देशको म सम्पदा हुँ देशको
नयाँनयाँ म मार्ग खोज्छु पुग्नलाई स्वर्गको 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर