• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

साउनमा हरियो चुरा र म्हेन्दी: संस्कार कि फेसन ?

उमा आलेमगर/पोखरा । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने महिना हो । साउन महिनामा अधिकांश महिलाहरु व्रत बस्ने, महिना भरी माछामासु, लसुन प्याज नखाने, नङ, कपाल नकाट्ने र हरियो चुरा, हरियो पोते, म्हेन्दी लगाउँछन् । पछिल्लो समय पुरुष पनि व्रत बस्ने गरेका छन् । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने महिलाहरु प्रायः त्यही चिजमा झुमिन्छन् । 

साउन महिनामा चुरा पसलेलाई भ्याईनभ्याई हुन्छ । उनीहरु बिहानदेखि साँझसम्म चुराको कारोवार गरिरहेका भेटिन्छन् । साउन महिना भगवान् शिवलाई मनपर्ने महिना, सोमबार मनपर्ने दिन । यही अवसर पारेर महादेवका उपासकहरू उनको आराधनामा तल्लीन हुन्छन् । साउनका सोमबारभरी व्रत बस्ने तथा चोखो खाने चलन छ । साधारणतयाः अरू पूजाजस्तै रातो सौभाग्यजनक पहिरन एवं प्रशाधनहरू लगाएर पूजा गर्ने चलन थियो । 

हिन्दू धर्म आफै पनि प्रकृतिप्रेमी धर्म र महादेव पनि प्रकृतिमै (कैलाश पर्वत) बस्ने भएकाले पनि साउने सोमबारमा हरिया—राता सौभाग्यका प्रशाधन लगाइने चलन छ । केही समययता साउनभरी हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, नेलपोलिस, म्हेन्दी आदि लगाई सोर्ह शृंगारमा सजिएर उपासना गर्ने चलन बढेको छ । यतिबेला महिलाहरू मठ—मन्दिर, बाटो, अफिस, घर सबैतिर हरियो रंगमा सजिएका देख्न सकिन्छ । साउनका लागि भनेर पहिरन किन्ने वा बनाउने तथा आफन्त एवं साथीभाइबीच सौभाग्यका सामग्रीहरू आदान—प्रदान गर्ने चलन पनि बढ्दै गएको छ । साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । 

कतिपयले सतीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व छ । साउन महिनामा बढी वर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ । तर अहिले यो बढी फेसनेवल भएको देखिन्छ । साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । 

तर, हरियो चुरा र म्हेन्दी लगाउनेको संख्या चाहिँ बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र म्हेन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित म्हेन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ । पौराणिक मान्यताअनुसार साउन महिना देवताका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । 

शिवजीसँग जोडिएको महिना भएकाले महिलाको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्य एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । 

हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो । चुरापोते र कपडासँगै साउन महिनामा हातभरी म्हेन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा म्हेन्दीको रंग राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाले यही विश्वासमा म्हेन्दी लगाएका होइनन् । आज नेपाली समाजमा पुराना र मौलिक संस्कृति विस्थापित हुँदै नयाँ–नयाँ संस्कृति भित्रिन थालेका छन् । 

द्वन्द्ववादको नियम अनुसार पुरानोलाई नयाँले निषेध गर्छ । हरेक वर्ष चाडपर्व, संस्कृति र परम्परा घुमिफिरी दोहोरिने गर्छन् । साउन महिनाको सुरूवातसँगै हरियो चुरापोते र कपडाको फेसन नयाँ संस्कृति बनेर विगत केही वर्ष यता नेपालमा भित्रिएको छ । यो नेपालीको मौलिक संस्कृति होइन न परम्परा नै हो, यो त देखासिकीको आयातित संस्कृति हो । सभ्यताको विकास भएको प्रमुख देशमध्ये इजिप्ट एक भए पनि अहिले त्यहाँका कैयौँ नागरिकहरू विश्वमै असभ्य मानिन्छन् । 

यतिसम्म कि इजिप्टका नागरिक मिश्रीहरू वैदेशिक रोजगारमा बाहिरी मुलुकमा गए भने घरबाट हिँडेदेखि नफर्किदासम्म दाँत नमाझ्ने पनि छन् । चुरा लगाउने प्रचलन पनि इजिप्टबाटै भएको इतिहासले बताउँछ । तर नेपालमा भने भारतीय संस्कृतिबाट चुरा लगाउने परम्परा भित्रिएको मानिन्छ । हरियो चुरा मूलतः देखासिकीको संस्कृति बनेको छ । 

जसरी केही वर्ष यता तिज आउन एक महिना छँदै दर खाने संस्कृति सुरू भएको छ, त्यसरी नै यो हरिया चुरा लगाउने संस्कृति पनि मौलाउँदै गएको छ । यसको यथार्थता र महत्व नबुझी छिमेकीको प्रभावले साउन हरियो चुरा लगाई मनको रहर पूरा गर्ने परम्पराको रुपमा विकास हुन थालेको छ । हुन त जसलाई जेजस्तो मन लाग्छ, कानुनमा आँच नआउने गरी लगाउन, खान र गर्न पाउनु लोकतान्त्रिक मूल्य–मान्यताको नैसर्गिक अधिकार हो । तर अधिकार र इच्छाका पछाडि कर्तव्य र कारणबोध गर्नु पनि जरूरी हुन्छ । मानव समाजको विकाससँगै धर्म, संस्कृति, रहनसहन, पहिरन र शृङ्गारको विकास हुँदै जाँदा धातुका गरगहना प्राचीन कालदेखि नै सुरू भएको पाइन्छ । 

महिलाले हाम्रो संस्कृतिबमोजिम तिज, दशैँ, तिहार जस्ता चाडपर्व, विवाह पार्टी, समारोह जस्ता कार्यक्रममा विभिन्न रङ र डिजाइनका चुरा लगाउने चलन छ । तर हरियो चुरा लगाउने भन्ने विषयमा धार्मिक र सांस्कृतिक महत्वबारे कतै पनि चर्चा गरेको पाइँदैन । हरियो चुरापोते र कपडाबारे फरक–फरक कोणबाट फरक–फरक धारणा आउने गरेका छन् । नारीहरूले थप व्याख्या गरी हरियो चुरापोते र कपडा पहिरिएर शिवजीको आराधना गरी विवाहित महिलाले आफ्नो पतिको दीर्घजीवन माग्छन् भने अविवाहित नारीले राम्रो पतिको कल्पना र कामनामा इच्छाशक्ति राख्छन् । कसैले हरियो रङलाई वन वातावरणको प्रतीक मान्छन् भने युवायुवतीले पे्रमको प्रतीक पनि मान्छन् । हरियो चुरापोते र कपडाले प्रकृति र वातावरण संरक्षणको सन्देश दिन खोजेको कसैले बताउँछन् । तर साउनमा मात्र किन ? सधै प्रयोग गरे त भैगो भन्नेहरू पनि छन् । 

यसबारे कसैले भन्छन्– बनाउने कम्पनीले कुनै माध्यमले साउनमा हरियो चुरापोते र कपडा लगाउनु पर्छ भन्ने हल्ला फिजाएपछि अन्य समयमा बिक्री नहुने यी चिजहरू वर्षमा एक पटक बिकाउनका लागि प्रोडक्सन गर्ने कम्पनीले गरेको कुटनीतिक खेल देखासिकीको रूपमा संस्कृतिको सुरूवात गराएको हो । उता हरियो रङलाई विशेषज्ञले शीतलता र स्फूर्ति प्रदान गर्ने रङ भनेका छन् भने यसले आँखालाई फाइदा गर्छ पनि भनेका छन् । अक्सर गरेर चुरा व्यवसाय मुस्लिम समुदायले बढी गर्ने भएकाले पनि उर्दु वा अरबी भाषाबाट पनि चुराको नामाकरण गरेको पाइन्छ । चुरा नेपाली संस्कृति त होइन नै, यद्यपि विवाहित नारीले शृङ्गार र सुन्दरताका लागि चुरा लगाउन सुरूवात् गरेको पाइन्छ, तर अहिले त विवाहित अविवाहित सबैले लगाउन सुरू गरेका छन्, यो बनाउन प्रयोग गरिने कच्चा पदार्थले मानव शरीरलाई कति फाइदा वा नोक्सानी गर्छ । यसबारे अधिकांश महिलालाई थाहा भने छैन । 

विशेषज्ञले हरियो रङलाई शान्तिको प्रतीक, सकारात्मक ऊर्जा सञ्चारको रङ भने पनि नेपाली समाजले हरियो चुरा, कपडा र पोते लगाउनुले श्रीमान्को आयु बढाउने कुरालाई सकारात्मक रूपमा लिन वा पत्याउन सक्तैन । अझ यसलाई परम्परागत मान्यतामा ढाल्नेले त अर्कै फरक अर्थमा व्याख्या गर्न पनि बेर लगाउँदैनन् । हरेक साउन महिनाको सुरूवातसँगै सुरू हुने हरियो चुरापोते र कपडाको संस्कृति मूलतः आयातित देखासिकी हो । बिक्री नभएका हरियो चुरापोते कपडा बिकाउने कम्पनीको अप्रत्यक्ष प्रचार हो र अनावश्यक खर्च बढाउने विलासिता पनि हो । तर समयसँगै संस्कृतिको जगेर्ना गर्नु पनि राम्रो पक्ष हो । साउन र हरियोलाई जोडेर प्रचारप्रसार गर्नु, चुरापोतेसँगै हरियो वस्त्र लगाउनु संस्कृतिको विकसित रूप पनि हो । परिमार्जित भए पनि संस्कृति त कायम रह्यो, सँगसँगै व्यापार पनि राम्रो भयो । त्यसैले भोलिका दिनमा अन्य विकृति नआउने हो भने साउनमा देखिएको रङप्रतिको मोह सराहनीय छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर