• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

‘मुगुदेखि स्पेन गयौं, कर्णाली भेरीका छाल...’

काठमाडौं ।

मुगुदेखि स्पेन गयौं कर्णाली भेरीका छाल
फुटबल खेल्न झुक्दै नझुक्न्या हामी सिस्ने हिमाल’

स्पेन पुगेर फुटबल खेलेर फर्किएका मुगुका चेलीले एकै स्वरले गाएको यो गीतले भनेझै उनीहरुको पनि आत्मबल बढेको छ । मुगुको विकट गाउँघर, कुनाकन्दरा, भिरपाखामा लडिबुडी खेल्दै हुर्किएका १७ जना किशोरीहरु आफूहरुले सोच्दै नसोचेको देश स्पेन पुगेर  फुटबल खेलेर नेपाल फर्किएका छन् ।

स्पेनको अन्तर्राष्ट्रिय मैदान सान्सेबास्टियानामा जुलाई १ देखि ७ सम्म भएको अन्तर्राष्ट्रिय ‘डोनास्टिक कप फुटबल’ खेलेर उनीहरु असार २५ गते नेपाल फर्किएका छन् । ३४ देशका ६ सय ३० टिम सहभागी अन्डर १४ फुटबल खेल्न ‘टिम रारा’को तर्फबाट मुगुका १७ किशोरी स्पेन गएका थिए । 

फुटबल खेलेर फर्किएपछि उनीहरु सबैमा उत्साह छाएको छ । आफूले सोच्दै नसोचेको ठाउँमा गएर फुटबल खेल्नु पाएकोमा उनीहरु आफुलाई भाग्मानी ठान्छ्न नै त्यो पनि जीवनमै नदेखिएका चिजहरु पहिलो पटक देख्दा उनीहरु दंग छन्  । कहिल्यै घर नछाडेको किशोरीहरुको स्पेनसम्मको यात्रा कम्ता रोचक छैन । ‘घर छाडेर म त काहिँ गएकै थिइन् । प्लेन पनि चढ्न पाइयो । गाडी पनि चढें स्पेन पनि पुगें’ यमुना चौलागाईले खुसी हुुँदै सुनाइन् । 

पहिलो पटक लगभग ६ महिना अघि १४ वर्ष मुनिका किशोरीहरुको स्पेनमा फुटबल खेल हुँदैछ भनेर रेडियोबाट सुन्दा उनीहरुले फुटबल नै खेलेका थिएनन् । यमुनाले आफू स्पेनसम्म पुग्नुको कथा सुनाइन् ‘रेडियोको सूचना सुनेपछि हामी पनि फुटबल खेल्छौं भनेर सरलाई भन्यौं । मानबहादुर धामी सरले नखेल तिमीहरुले सक्दैनौं भन्नुभयो । पछि म्याडमलाई सोध्यौं । म्याडले एउटा टिम बनाउ न त भन्नुभयो । म्याडले सरस्वती पूजाको टिम बनाइदिए ।’ १० वटा टिम बाट उत्कृष्ट १७ खलाडी छनौट गरियो । आक्कल झुक्कल फुटबल खेल्न थाले । ६ महिनासम्म छनौट भएपछि उनीहरुले अभ्यास गर्न पाएनन् । 

मुगुको त्यो हिउँ, उकाली आरोली मैदान ढुंगामाटो बराबरी । केही किशोरी गोल्डस्टार जुत्ता लगाएर आक्कल झुक्कल फुटबल खेल्थे त केही चपल्ल र खाली खुट्टामै । विपना मल्लले सुनाइन् ‘त्यही पनि केटाहरु आएर बल खोसेर लान्थे । हामीलाई खेल्न दिँदैनन्थ्ये ।’

यीनै आरोह अवरोहकाबीच उनीहरु फुटबल खेल्न स्पेन लागे ।

पहिलो पटक प्लेनको अनुभव सुनाउँदै सत्यलक्ष्मी बुढाले भनिन् ‘कस्तो डर लागेको । आवाज पनि हुँं... आउने । 

यमुना चौलागाईको पहिलो प्लेन अनुभव थियो यो । ‘यसभन्दा अघि प्लेन चढेको थिइन । कस्तो डर लाग्यो । आवाज कस्तो हुँ..आउँदो रछ । मर्ने पो होकी भन्ने लाग्यो । सबैजना चिच्यायौं । हामी चिच्याएको पाइलटले भिडियो पनि बनाएछन् ।’

उखरमाउलो गर्मीका बिच उनीहरु मध्यान्ह ११ बजे नेपालगञ्ज ओर्लिए । नेपालगञ्ज शहर देखेपछि उनीहरुलाई लाग्यो काठमाडौं झन् कस्तो होला ? ‘मुगुका भन्दा ठूला ठूला घर हामी त छक्क परिउ’ राज्यलक्ष्मीले सुनाइन् । 

पहिलो पटक प्लेनमा चेढेका उनीहरुका लागि बसको यात्रा पनि नौलो नै थियो । बसबाटै काठमाडौं जाने १७ किशोरीहरुले कर गरेपछि बसमै ल्यायौं सुनकली डकुमेन्ट्रीका निर्देशक भोजराज भाटले भने । सबैजना उल्टी गर्दै लखतरान भएर काठमाडौं आइपुगे ।

आलिसान महल, ट्याँट्याँ र टुटु गाडीका आवाज, कोलाहल भिडभाड, निसासिए जस्तो, काठमाडौंका यस्तै कुराहरु उनीहरुलाई अनौठो लायो ।

गाउँका कान्लामा भुकुण्डो हिर्काएका उनीहरुलाई एन्फाको मैदान देखाउन लगिएको थियो । जुत्ता थिएनन् । उनीहरु चप्पलमै एन्फाको ग्राण्ड हेर्न सातदोबाटो पुगे ।

‘एन्फा मैदानको त्यो दुबो हामीले पहिला देखेकै थिएनौं । सरले रियल दुबो भन्नुभयो । उलेख्न खोजेँ । उखेलिएन । कालो गेडा पनि हालेको रछ । दाँतले टोक्यौं पत्ता लगाउन सकेनौं । ग्राउण्डको कुनामा पुग्दा कार्पेटको टुप्पो देखियो अनि बल्ल कार्पेट हो भन्ने थाहा पाइयो’ पहिलो पटक एन्फाको मैदान देखेकी यमुना चौलागाईलाई के को मैदान छुट्याउनै गाह्रो परेको थियो । 
एन्फामा १० दिन ट्रेनिङ गरेर घर फर्किएपछि परिवारमा केही परिवर्तन आइसकेको थियो । पहिला छोरीले खेल्नु हुँदैन भन्ने अभिभावकले अब खुसी हुँदै आर्शिबाद दिएर छोरीलाई स्पेनका लागि बिदाई गरेका थिए । 

प्लेनको अनुभव भइसकेकाले उनीहरुलाई पहिला जस्तो डर थिएन । १४ जना प्लेनमा अटाए पनि सोजपूरा महतरा, भाग्यलक्ष्मी भाम, थमकली बुढा अटाएनन् । ‘हामीलाई प्लेनले नलगेपछि स्पेन जान पाँइदैन भन्ने लाग्यो । हामी रुदै घर फर्किएका थियौं । पछि प्लेन आएपछि  खबर आयो अनि गयौं’ प्लेन छुटेपछिको पीडा थमकलीले सुनाइन् ।

काठमाडौंदेखि स्पेनसम्म

पहिले आएर १० दिन एन्फामा ट्रेनिङ गरिसकेकाले उनीहरुलाई काठमाडौं यो पटक सामान्य लागेको थालेको थियो । काठमाडौंको केही दिनको बसाई पछि उनीहरु स्पेनका लागि प्लेन चढे । ‘स्पेनको प्लेन  त घर जस्तै रछ । आवाज पनि नआउने । टिभी पनि छ, ३०० मान्छे बस्न मिल्ने, खाना पनि दिने’ थमकलीले अनुभव सुनाइन् ।

स्पेनको आधुनिक शहर, सफा वातारणले उनीहरुलाई नलोभ्याउने कुरै भएन । स्पेनका बस, रेल, समुन्द्र सबै देखेर उनीहरु दंग परे । अझै पनि स्पेनमा देखेको दुई तल बस र आफू चढेको रेल उनीहरुको आँखामा झलझली आउँछ । सबैभन्दा धेरै पानी रारामै छ भन्ने लागेका उनीहरु समुन्द्र देखेपछि छक्क परे ।

मेस्सीले फुटबल खेल्ने मैदानमा उनीहरुको पनि पाइला परो । उनीहरुले समाचार दैनिकसँग बार्सिलोना मैदानका बारेमा भने ‘बार्सिलोनाको मैदान पनि देखियो । सुरुमा ढोकियो र मैदान टेकियो । मेस्सीले खेल्ने ग्राउण्डमा ढोगेर हामीले नि यस्तै ग्राण्डमा खेल्न पाए हुन्थ्यो भन्ने लाग्यो । मेस्सीको जर्सी, गोल्डेन बुट, सबै हेरियो, छुन नपाएइने रछ । सिसाले छोपेर राखेको थियो मेस्सीको गोल्डेन बुट ।’ 

छुन नपाए पनि उनीहरुले फोटो खिच्न भने भ्याए । १० दिनको बसाईमा उनीहरु स्पेनका केही शहर घुमे र फुटबल खेले । मुगुमा हुँदा फुटबल खेल्ने सुनकली दिँदीलाई मात्रै चिनेका उनीहरुले मेस्सीलाई पनि चिन्ने अवसर पाए । ‘गाउँमा फुटबल खेल्ने दिदी सुनकलीलाई मात्रै चिनिएको थियो । स्पेन आएपछि त मेस्सीलाई पनि चिनियो’ रामकली बोहराले सुनाइन् ।

बल होल्ड गर्न सिकियो

स्पेनमा उनीहरुले ४ वटा म्याच खेलेका थिए । चारै वटा म्याचमा उनीहरु पराजित भएका थिए । पहिलो खेलमा ३ दोस्रोमा ५, तेस्रोमा ९ र चौथोमा ११ गोल खाएको अनुभव उनीहरुले सुनाए । ‘पहिला मैदान छिर्दा डर लाग्यो । कसरी खेल्ने होला भन्ने लाग्यो । पछि खेल्दै गएपछि डर हरायो’ किशोरीहरुले खेल अनुभव सुनाए ।

किन हारियो त ? यसबारे उनीहरुको एउटै भनाई छ ‘हामी एक्लै खेल्दा रछौं । उनीहरु ११ जना नै मिलेर खेल्दा रछन् ।’

स्पेनले उनीहरुलाई फुटबल खेल एक्लै खेलेर नहुेने टिम गेम रहेछ भन्ने पाठ त सिकाएको छ नै । बल होल्ड गरेर विपक्षीलाई दवाव दिनु पर्ने पनि उनीहरुले सिके । ‘उनीहरु पास खेलेर गोल हान्ने हामी बल पाउने बित्तिकै एक्लै कुदाउने भयौं’ रामकली बोहराले सुनाइन् ।

स्पेनको खेल मैदान, सिक्ने सिकाउने कलाका कारण उनीहरुको खेल राम्रो भएकोले स्पेनले जितेका उनीहरुको भनाई छ । १० दिनको अभ्यासले नपुगेको निष्कर्ष उनीहरुले निकालेका छन् ।

अब के गर्ने ?

सपनामा पनि नदेखेको देश स्पेन पुगेर फुटबल खेलेर फर्किएपछि उनीहरुको सोचमा केही परिवर्तन भएको छ । पढाईसँगसँगै फुटबल खेलेर खेलाडी बन्ने । उनीहरुको अनुहारमा त्यो आत्मविश्वास पनि देखिन्छ । 

परिवारले खेल्न दिँदैन कसरी खेलाडी बन्नु हुन्छ ? भन्ने प्रश्नमा उनीहरु ढुक्कसाथ भन्छन् ‘अब हामी परिवारलाई मात्रै हैन समाजलाई सम्झाउन सक्छौं ।’

गाउँमा हरेक कुरामा छोरा र छोरीमा भेदभाव भएको भन्दै त्यो खाडल पुर्न आफूहरु लागि पर्ने पर्ने उनीहरुले बताएका छन् । मुगुदेखि स्पेनसम्मको आफ्नो यात्रा सुनाउँदै समाज परिवर्तन गर्न सक्ने हिम्मत किशोरीहरुले देखेका छन् ।

मुगुमा हिँउ, ढुंगामाटो, उकाली, ओरालीमा फुटबल खेल्नु पर्ने बाध्यता भएको भन्दै उनीहरु राज्यले एउटा खेल मैदान उपलब्ध गराउनु पर्ने माग रोखेका छन् ।

हिउँमा कोही गोल्ड स्टार जुत्ता, चप्पल, खाली खुट्टाले समेत फुटबल खेल्न बाध्य हुनु पर्ने अवस्था रहेको बताउँदै राज्यले यी समस्याको सामाधान गरे आफूलाई राष्ट्रिय खेलाडीसम्म बन्न सक्ने उनीहरुको आत्मविश्वास छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर