कैलालीमा ८५ प्रतिशत बजेट खर्च 

हिमाल जोशी/धनगढी । आर्थिक वर्ष २०७४/०७५ मा कैलालीमा ८५ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत कूल रकममध्ये १५ प्रतिशत रकम खर्च हुन सकेन । गएको आर्थिक वर्षको ५ अर्ब ८५ करोड ७६ लाख १५ हजार बजेटमध्ये ५ अर्ब ४८ लाख ७३ हजार ५ सय १५ रकम खर्च भएको छ ।  

जिल्लाका विभिन्न विकासे अड्डाले आर्थिक वर्षको अन्त्यमा आएर ठूलो रकम खर्च गरे पनि बजेट फ्रिज हुने प्रवृत्ति यो वर्ष समेत उस्तै देखिन्छ । असार महिनामा मात्रै १ अर्ब ७० करोड बजेट पुँजीगत बजेट खर्च भएको छ । सो बजेटमध्ये असारको अन्त्यको एक सातामा मात्रै ९० करोड बजेट खर्च भयो, भने आइतबार एक दिनमै ३६ करोड बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ ।
 
जिल्लामा असार अन्त्यतिर विकास निर्माणका कामहरु हतारहतारमा सक्ने प्रवृति रोक्न भने विकासे अड्डाहरु अझै असफल भएका छन् । सिचाइँ, सडक, पुल, खानेपानी, मर्मतसम्भार लगायत निर्माण कार्यमा रातदिन हतार–हतारमा काम गर्दै करोडौँ रकम सक्ने प्रवृतिमा यस वर्ष पनि सुधार आउन सकेन ।

विकासे सरकारी कार्यालयमध्ये मोहना पुल अत्तरिया सडक आयोजना र क्षेत्रीय सहरी विकास आयोजना, क्षेत्रीय आयोजना कार्यान्वयन कार्यालयले सबैभन्दा कम बजेट खर्च गरेका छन । मोहना पुल अत्तरिया सडक आयोजना कार्यालयले झण्डै आधा रकम खर्च गर्न सकेन ।  ५१ करोड ८१ लाख कुल बजेटमध्ये आयोजना कार्यालयले २९ करोड २१ लाख ६५ हजार ७ सय ४८ बजेट खर्च गर्न सकेको छैन । 

सहरी विकास आयोजनाको कुल बजेटको थोरै रकम खर्च गरेको छ । यस कार्यालय जिल्लाको अन्य कार्यालयले भन्दा कम रकम खर्च गर्ने कार्यालयको सूचीमा परेको छ । २ करोड १८ लाख कुल बजेट रहेको कार्यालयले १२ लाख मात्रै खर्च गरेको छ । 

विकासे सरकारी कार्यालयमध्ये सबैभन्दा बढी रकम खर्च गर्ने कार्यालयमध्ये सिचाइँ विकास डिभिजन, जिल्ला भू–संरक्षण कार्यालय र भूमिगत जल सिचाइँ विकास डिभिजन कार्यालय रहेका छन । सिचाइँ विकास डिभिजनले ९९ प्रतिशत रकम खर्च गरेको छ । कुल १२ करोड ९६ लाख १८ हजार बजेटमध्ये १२ करोड ८८ लाख २ हजार ४९ बजेट खर्च भएको छ । कुल १२ करोड २२ लाख ३ हजार बजेटमध्ये १२ करोड ८ हजार २ सय ४२ खर्च गरेको जिल्ला भू–संरक्षण कार्यालय बजेट खर्चको हिसाबमा दोश्रो देखिएको छ भने भूमिगत जलश्रोत विकास समिति शाखाले ९८ दशमलव १७ प्रतिशत बजेट खर्च गरेको छ । ५ करोड ४६ लाख ६ हजार कुल बजेटमध्ये ५ करोड ३६ लाख ६ हजार बजेट खर्च गरेको छ । 

यस्तै जिल्ला खानेपानी तथा सरसफाई कार्यालयले पनि ८२ प्रतिशत रकम मात्रै खर्च गर्न सकेको छ । ३६ करोड ८८ लाख ५ हजार कुल बजेटमध्ये २९ करोड ९१ लाख ६२ हजार ४ सय ६६ रकम खर्च गरेको छ । जिल्ला वन कार्यालय कैलालीले आर्थिक वर्षको अन्त्यसम्म ७५ प्रतिशत रकम मात्रै खर्च गर्न सकेको छ । ४३ करोड ४१ लाख रकममध्ये ३२ करोड ८१ लाख मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका मदनराज पाण्डेले जानकारी दिए ।  उनका अनुसार हुलाकी सडक योजना कैलाली ९३ प्रतिशत रकम खर्च गरेको छ । ३५ करोड ३१ लाख कुल बजेटको ३३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ । 

खुटिया विपिनगर दिपायल सडक योजनाको कूल १५ करोडमध्ये १३ करोड ५१ लाख खर्च भएको छ । सडक योजनाको ९० प्रतिशत रकम मात्रै खर्च भएको हो । यस्तै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ९२ प्रतिशत रकम खर्च गरेको छ । १ अर्ब ४७ करोड ९७ लाख ५१ हजार बजेटमध्ये १ अर्ब ३७ करोड ३४ लाख ७१ हजार २ सय ८५ रकम खर्च गर्न सकेको छ । 

जिल्ला समन्वय समिति (जिल्ला प्राविधिक कार्यालय) ले ७६ प्रतिशत बजेट खर्च गरेको छ । कुल ३१ करोड ४१ लाख ८५ हजार बजेटमध्ये २४ करोड १३ लाख ४३ हजार २ सय ७३ रकम खर्च गरेको छ । भने २४ प्रतिशत रकम फ्रिज जाने भएको छ । रानीजमरा कुलरिया सिचाइँ आयोजनाले ९५ प्रतिशत रकम खर्च गरेको छ । १ अर्ब ५८ करोड, १३ लाख ४१ हजार कुल बजेटमध्ये १ अर्ब ५० करोड ६२ लाख ५५ हजार ६ सय ५१ रकम खर्च गरेको छ । 

यसैगरी जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन नम्बर २२ कैलालीले ९४ प्रतिशत रकम रकम खर्च गरेको छ । ३८ करोड ३६ लाख कुल बजेटमध्ये कार्यालयले ३६ करोड १५ लाख ५३ हजार ७ सय ६४ रकम खर्च गरेको छ । भूमिगत जल सिचाइँ विकास डिभिजन कार्यालयले ९ करोड ९२ लाख ९७ हजार कुल बजेटमध्ये ९ करोड १४ लाख ४८ हजार रकम खर्च गरेको छ । 

गत आर्थिक बर्षको तुलनामा यो वर्ष पुजीगत ३ प्रतिशतले खर्च बढेको छ । ८२ प्रतिशत रकम खर्च भएको थियो । आर्थिक वर्ष २०७३÷०७४ को ६ अर्ब २४ करोड बजेटमा ५ अर्ब १३ करोड खर्च भएको थियो ।    कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार स्थानीय तहकमा गएको १ अर्ब ७० करोड ससर्त अनुदान रकमको खर्च विवरण भने अझै आइसकेको छैन । संघीय सरकारबाट समानीकरण अनुदानमार्फत स्थानीय तहमा गएको रकम भने फ्रिज हुँदैन । 

यो वर्ष तुलनामा आर्थिक वर्ष २०७१/०७२ मा ४ प्रतिशत बढी बजेट खर्च भएको थियो । ८९ प्रतिशत रकम खर्च हुँदा कुल बजेट २ अर्ब ९९ करोड बजेट थियो । त्यसमध्ये २ अर्ब ६८ करोड खर्च भएको थियो । यसैगरी आर्थिक वर्ष २०७२/०७३ को तुलनामा भने यो आर्थिक वर्षको खर्च २ प्रतिशतले बढेको देखिन्छ । ८३ प्रतिशत रकम खर्च भएको वर्षमा ३ अर्ब २४ करोड कूल बजेट थियो । भने २ अर्ब ७० करोड खर्च भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर