संघीय सरकार चुरे विनाशतर्फ अग्रसर : आन्तरिक मामिला मन्त्री यादव

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकार स्वयं चुरे विनाशतर्फ अग्रसर रहेको आरोप लगाएका छन् । चुरेको बिच भएर मदन राजमार्ग निर्माण गर्ने सरकारको योजनाले सरकार स्वयं चुरे विनाशका लागि उद्वत रहेको कुरा स्पष्ट भएको मन्त्री यादवले आरोप लगाए । 

नेपाल वातावरण पत्रकार समूहले जनकपुरधाममा आयोजना गरेको सञ्चार बहस प्राथमिकतामा वातावरण विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले चुरे विनाश गर्नेहरुलाई राजनीतिक संरक्षण दिइदै आएको र चुरे संरक्षणको कुरा गर्नेहरुको आवाज दबाइदै आएको बताए । उनले नेपालको रक्षाका लागि चुरेको संरक्षण गर्नु आवश्यक रहेको भन्दै यसका लागि प्रदेश २ का सम्पूर्ण जनतालाई काँधमा काँध मिलाएर अगाडि बढ्न आह्वान गरे । वातावरण अनुकुल बनाउनुको साटो हामी मरुभूमिकरणतर्फ अग्रसर रहेको उनको भनाई थियो । 

तराई मधेश राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी हुन नसकिरहेको समयमा प्रधमानमन्त्री केपी शर्मा ओलीको यो कार्यक्रमको नाममा रहेको तराई मधेश शब्दप्रति एलर्जी हुने गरेको व्यङ्गय गरे । उनले प्श्न गरे ‘प्रधानमन्त्री ओलीलाई तराई मधेश शब्दप्रति एलर्जी छ भने यस क्षेत्रको के विकास गर्न सक्नु हुन्छ’ ?

कार्यक्रममा प्रदेश २ का सांसद रामसरोज यादवले राजनीतिक संरक्षणकै कारण वन जंगल विनाश भइरहेको स्वीकार गरे । उनले नेपालको वातावरणमा प्रतिकुल असर परिरहेकोले चुरे संरक्षणतर्फ ध्यान दिनु आवश्यक रहेको बताए । 

प्रदेश सांसद रामचन्द्र मण्डलले परम्परावादी सोचबाट वातावरण संरक्षण गर्न नसकिने बताए । उनले समयानुसार योजनामा परिवर्तन ल्याएर वातावरण संरक्षणका लागि नयाँ नयाँ योजना ल्याउनु पर्नेमा जोड दिए । 

बरिष्ठ पत्रकार चन्द्रकिशोर झाले प्रदेश २ को सरकारले बेटी बचाउ बेटी पढाउ नारा दिएको भन्दै बेटी बचाउ नदी बचाउ यस प्रदेशका लागि उपयुक्त हुने बताए । उनले भने ‘दूबै मातृ शक्ति भएका कारण दूबैको संरक्षण हुनु आवश्यक छ’ । कार्यक्रममा उनले प्रदेश २ को वातावरणीय परिवर्तन सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर