• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मन्त्रीहरुलाई बोलाएर अध्यक्ष प्रचण्डले सोधे, जनताको हितमा के काम गर्दै हुनुहुन्छ ?

काठमाडौं । पछिल्लो चरणमा सार्वजनिक कार्यक्रमहरुमा पातलो उपस्थिति देखाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुले जनताका पक्षमा गरेका कामको प्रगति बिवरण लिन थालेका छन् । सरकारले जनताको अपेक्षा अनुसार गति लिन नसकेको भनेर नेकपा भित्रै चर्चा चलिरहेका बेला अध्यक्ष प्रचण्डले सरकारका विभिन्न मन्त्रालय सम्हालेर बसेका मन्त्रीहरुलाई आफ्नो निवास खुमलटारमा बोलाएर गरिरहेका कामबारे जानकारी लिएका हुन् ।

बुधबार दिउँसो अध्यक्ष प्रचण्डले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर सम्बन्धित मन्त्रालयले जनताका पक्षमा के के काम गरिरहेका छन् ?, जनताको चाहना र अपेक्षा अनुसार किन परिणाम निस्कन सकेको छैन ? भन्ने विषयहरु सोधखोज गरेको खुमलटार श्रोतले समाचार दैनिक डटकमलाई जानकारी दियो । अध्यक्ष प्रचण्डले नेकपाका मन्त्रीहरुसँगको यो छलफललाई बिहीबार समेत जारी राख्दै अन्य मन्त्रीहरुसंग पनि प्रगति विवरण सोध्ने तयारी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजबादी फोरम सहभागी भएको दुई तिहाई बहुमतको  बलियो सरकारले शान्ति प्रकृयाका बाँकी कामको टुंगो लगाउने, संविधान कार्यान्वयनमा समयबद्ध तालिका अनुसार ऐन नियमहरु बनाएर कार्यान्वयन गर्ने, संघीयता कार्यान्वयनको विषयलाई सशक्त बनाउने र जनताका विकासका आकांक्षा सम्बोधन गर्न नसकेको भन्दै आलोचना गर्न सुरु भएको छ । 

डा. गोविन्द केसीले चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि भन्दै सुरु गरेको १५ औं चरणको आमरण अनशनलाई सम्बोधन गर्ने, महंगी नियन्त्रण धुलो, धुवा तथा हिलो सडकले कष्टकर बनेको नागरिकको जनजीवन सहज बनाउने, बाढी पहिरो पीडितहरुलाई तत्काल राहत तथा उद्दार गर्ने जस्ता जनताका सेवामा समेत सरकारले चुस्त ढंगले काम गर्न नसकेको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सरकारको कामबारे चासो राखेका हुन् । केही दिनअघि मात्रै अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन र सिन्धुपाल्चोक पुगेर काठमाडौं फर्किएका हुन् । 

निर्वाचनका मुखमा जनता समक्ष गरेको प्रतिबद्धता तथा त्यसपछि बनेको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनआकांक्षा सम्बोधन गर्न नसकोको गुनासो गर्दै नागरिकहरुले सरकारको गति प्रति निराशा व्यक्त गरेका छन् । सरकारकै कतिपय कामको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद अबरुद्ध गरिरहेको छ । सडकमा कांग्रेसका भातृ संगठन, नयाँ शक्ति पार्टी तथा विवेकशील साझा पार्टीहरुले विरोध प्रर्दशन गरिरहेका छन् ।

पार्टी एकीकरणपछि जनवर्गीय संगठन तथा पार्टीका तल्ला कमिटीहरु अझै एक हुन नसक्दा नेकपाका नेता कार्यकर्ता समेत अलमलमा परेका छन् । सरकारले गर्ने ठूला तथा नीतिगत निर्णयहरु समेत शीर्ष नेताहरुको समन्वयमा हुन नसक्दा समेत सरकारको गतिमा तिब्रता आउन नसकेको नेकपाका नेताहरुले गुनासो गर्न थालेका छन् ।

पार्टी एकीकरण लगायतका कतिपय विषयमा नेकपाका शीर्ष नेताहरुबीच बैठक र छलफल भए पनि सरकारका कामको समीक्षा तथा सरकारलाई गतिशील बनाउनका लागि अत्यावश्यक पर्ने नीतिगत विषयमा छलफल गर्ने परिपाटी नभएको एक नेताले बताए ।

नेकपाका अध्यक्षद्धय तथा अन्य नेताहरुसँग आपसी छलफल र समन्वय कम नहुंदा सरकारमा रहेका मन्त्रीहरु व्यस्त हुने तर बाहिर रहेका तथा तल्लो कमिटीका नेताहरु बेरोजगार जस्तै देखिएका छन् । सरकारले माइतीघर मण्डलामा बिरोध प्रदर्शनमा रोक लगाउन गरेको निर्णय, राजदूत नियुक्तीका लागि भएको सिफारिस लगायतका विषयमा नेकपाको केन्द्रीय तहमा समेत छलफल नभएको श्रोतले बतायो ।

आगामी दिनमा आपसी समन्वय गरेर अघि बढ्ने विषयमा नेकपाको हाई कमाण्ड (सचिवालय) बैठकमा समेत छलफल भएको थियो । नेकपाका अध्यक्ष प्रचण्डले आपसी समन्वय र छलफलबाट निकालिएको निश्कर्ष अनुसार सरकारले काम गर्दा प्रभावकारी हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानआकर्षण गराएका थिए । जसलाई बैठकमा उपस्थित प्राय सबैले समर्थन गरेको सचिवालय श्रोतले बतायो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर