महानगरमा बेथिती मौलायो : योजना टुक्य्राउँदै काम गराउँदै विराटनगर 

एउटा सभाहल बनाउँदा ८ टुक्रा 

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक खरिद ऐन र आर्थिक कार्यविधि ऐन २०६४ विपरीत महानगरको सभाहल र वीरेन्द्र सभागृह मर्मतमा ठूलो रकम खर्च गरेको पाइएको छ । सभाहल र सभागृह मर्मतमा करिव ६० लाख खर्च गर्ने महानगरको तयारी अनुसार ४० लाख रुपैयाँ खर्च गरिसकेको छ ।

पाँच लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने काम अमानत वा कोटेसनमार्फत गर्न नहुने भए पनि महानगरपालिकाले ३७ लाख रुपैयाँ लागतपर्ने सभाहल कोटेसनमार्फत निर्माण गरेको छ । बोलपत्र आव्हनमार्फत घटी रकम कबोल गर्ने कम्पनीमार्फत निर्माण गराउनुपर्नेमा महानगरले आफ्ना नजिकका व्यक्तिसँग कोटेसन माग गरी सिधै महानगर प्रमुखको तोक आदेशबाट निर्माण गर्ने अनुमति दिइएको छ । 

महानगरपालिकाको तेस्रो तल्लामा रहेको सभाहल मर्मत गर्न विभिन्न ६ ओटा कोटेसनमार्फत एउटै व्यक्तिलाई काम दिइएको थियो । सभाहल मर्मतका क्रममा अहिलेसम्म २४ लाख १३ हजार ३ सय ३२ रुपैयाँ खर्च भइसकेको छ । 

महानगरपालिकाको नेतृत्व गर्ने जनप्रतिनिधिसँग ५ वर्ष काम गर्ने प्रयाप्त समय हुँदाहुँदै सभाहल र वीरेन्द्र सभागृहको मर्मत तत्काल गर्न जरुरी रहेको भन्दै कोटेसनबाट काम गराएको हो । 

महानगरको सभाहल मर्मत तथा पुनर्निर्माणका क्रममा फल्स सिलिङको काम नेपाल कन्ट्रक्सनलाई ४ लाख ४९ हजार ५ सय २ रुपैयाँ खर्च गरेको छ भने सोही सभाहल निर्माणमा आल्मुनियमको काम आयुष टे«डर्स एण्ड सप्लायर्सले ३ लाख ४० हजार ६ सय ३८ रुपैयाँमा गरेको छ । यस्तै इलेक्ट्रिक वाइरिङको काम धर्मदेवी सप्लायर्सले ३ लाख ३७ हजार ८ सय ५१ रुपैयाँमा गरेको छ भने छ ओटो एयर कन्डिसन नानोटेक आइटी सोलुसनको नाममा ४ लाख ९५ हजार ६ सय १८ रुपैयाँ खर्च गरिएको छ । सभाहलमा रंग लगाउने जिम्मा चेम्जोङ्ग कन्मडकरण र बेञ्च फर्निसिङको काम समिर कन्मडकरणमार्फत क्रमश ४ लाख ४६ हजार ७ सय ९१ र ३ लाख ४२ हजार ९ सय ३२ रुपैयाँ खर्च गरिएको छ । 

एउटै योजनालाई यसरी टुक्राटुक्रा बनाएर कोटेसनमार्फत काम गर्नुको एउटै उद्देश्य योजनामा भ्रष्टाचार गर्नु नै हो । यसरी कोटेसनमार्फत काम गर्दा न्युनतम २० देखि २५ प्रतिशतसम्म रकम आम्दानी गर्न सकिने भएका कारण कर्मचारीहरु कोटेसनमा काम गर्न रुचाउने गरेको जानकारहरु बताउँछन् । 

बोलपत्र आव्हानमार्फत काम गर्दा पनि महानगरले चुस्त अनुगमनमार्फत समयमा काम गराउन सक्ने अवस्था विद्यमान थियो । त्यसलाई वेवास्ता गरेर महानगरप्रमुख भीम पराजुली लगायतका सबैको मिलेमतोमा अमानतमा निर्माण अघि बढाइएको हो । 

सभाहल निर्माणको जिम्मा महानगरपालिकाकै इन्जिनियर अनिल सिंहलाई दिइएको थियो । उनले कोटेसनबाट काम गराएको बताए । उनले भने, ‘३७ लाखको इस्टिमेट छ अहिलेसम्म २४ लाख मूल्य बराबरको काम सम्पन्न भएको छ र बाँकी काम पनि अघि बढाउने तयारी छ ।’ उनले कोटेसन माग गर्दा सार्वजनिक रुपमा सूचना प्रकाशन गर्ने वा कार्यालयको भित्तामा सूचना टाँस गर्ने बाध्यता नरहेकोले सूचना ननिकालेको स्पष्ट पारे । उनले मर्मतको विषयमा भने, ‘कोटेसन माग गर्दा सूचना निकाल्नु नपर्ने व्यवस्था छ त्यसैले हामीले सूचना निकालेनौं र त्यसको बदलामा चिनजान भएका र सम्पर्कमा रहेका सप्लायर्सहरुलाई मैले नै बोलाएर कोटेसन हाल्न लगाएँ तीमध्ये सस्तोमा काम गर्ने प्रस्तावकको प्रस्ताव स्वीकार गरेर काम लगाएँ ।’ सभाहलमा सोफासेट, कार्पेट तथा अन्य फिनिसिङ्गको काम अझै बाँकी छ । 

यसैगरी वीरेन्द्र सभागृहको मर्मतसम्भार गर्दा पनि चारओटा कोटेसनबाट काम गराइएको छ । कुर्सी मर्मतको लागि विवेक ग्रिल उद्योगलाई ४ लाख ९४ हजार ९ सय २३ रुपैयाँ, वाइरिङका लागि २ लाख २२ हजार ६ सय ९५ रुपैयाँ खर्च गरेको छ । रंगरोगनका लागि लागि मात्र दुई ओटा कोटेसनबाट काम गराएको देखिएको छ । दाताराम पौडेलको शुभलक्ष्मी निर्माण सेवा र यमुनादत्त दाहालको डिएस निर्माण सेवालाई रंग लगाउने छुट्टाछुट्टै रंग लगाउन कागजी प्रकृया मिलाइएको छ तर काम भने एकै जनाले मात्र गरेका हुन् । पौडेलले ४ लाख ९९ हजार ३ सय ९६ र दाहालले ४ लाख ९९ हजार ८ सय ४ मा निर्माणको सम्झौता गरेका छन् । जबकी रंग लगाउने काम मात्र  १० लाखको थियो र त्यसका लागि ठेक्का लगाउन आवश्यक थियो । 

महानगरपालिकाले यी दुई काम मात्र होइन करोडौं मूल्यका अरु थुप्रै योजनालाई स–साना टुक्रामा विभाजन गरेर अमानत र कोटेसनमा काम गराएको छ । तत्काल सम्भव नभएकोले सात दिनभित्र त्यसको सबै विवरण उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालले बताए । 

महानगरपालिकाका प्रमुख भीम पराजुलीले असार मसान्तभित्र बजेट खर्च गरिसक्नुपर्ने भएको र समय कम भएका कारण ठेक्का प्रकृयामा लैजान सम्भव नभएकोले कोटेसनमा काम गराउनुपरेको प्रतिकृया दिए । उनले भ्रष्टाचारको नियतले नभई समय कम भएको बाध्यताले कोटेसनमा जानुपरेको पनि दाबी गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर