• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

माटोका मूर्ति बनाएर लाखौं कमाउँछन स्नातकोत्तर पण्डित

जनकपुरधाम । मूुर्तिकार उत्तिमलाल पण्डितलाई अचेल कामका व्यस्तताले भ्याई न भ्याई छ । माघ ८ गते पर्ने विद्याकी देवी सरस्वती पूजाका लागि विभिन्न कलात्मक मूर्ति बनाउन उनी व्यस्त छन् । पण्डित बाध्यताले यो पेशामा आएका भने होइनन । उच्च शिक्षा हासिल गरेका उनी पुख्र्यौैली संस्कृतिलाई अझ बढी उचाईमा पुर्याउने धोकोका साथ यो पेशामा लागेका हुन । 
 
जनकपुर उपमहानगरपालिका वडा नम्बर २० घर भएका पण्डितले रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् । उनी लघु उद्यम विकास कार्यक्रम नामक प्रोजेक्टमा समेत काम गर्छन् । बिहान ६ बजेदेखि १० बजेसम्म मूर्ति बनाउने र १० बजेदेखि अपरान्ह ४ बजेसम्म अफिसको काम भ्याउने उनी त्यस लगत्तै फेरि मूर्ति बनाउन लागिहाल्छन । 

दिनको लगभग १८/१९ घण्टा काम गर्ने मूर्तिकार पण्डित सरकारी जागिर खानुभन्दा पुख्र्यौली पेशामा रमाएका छन् । उनी भन्छन्, ‘पुर्खाले दिएको सीपलाई हामीले अझ बढी उच्च स्थानमा पुर्याउनुपर्छ नत्र हाम्रो परम्परा नै गुम्ने खतरा हुन्छ भनेर बुवाले पटक पटक सम्झाएकोले मैले यो क्षेत्रमा आउने निधो गरेको हुं ।’ 

उनी अगाडी भन्छन्, ‘पढे लेखेर मलाई हाम्रो परम्परा बचाउन अझ बढी सहज भएको छ । सामान्यतया मूर्ति बनाउनेहरु अनपढ हुन्छन् भन्ने सोंच छ समाजमा । मास्टर्स गरेको सुनेपछि सामान बनाउन अर्डर दिन आउनेले अर्कै नजरले हेर्छन ।’ 

उनले कला सम्बन्धी विभिन्न तालिमसमेत लिएका छन् र त्यसलाई आफ्नो सीपमा उतार्दै आम्दानी दोब्बर पारेका छन । पण्डित (कुम्हाल) जातिको पुख्र्यौली पेशा माटाका विभिन्न कलात्मक वस्तु निर्माण गर्ने हो । 

लगभग १० वर्षदेखि विभिन्न किसिमका कलात्मक मूर्ति निर्माण गर्दै आएका उनलाई यस पेशामा लाग्न बुवाको सहयोगले उत्साहित गरेको हो । केटाकेटी हुँदादेखि नै बुुवाले मूर्ति बनाउन प्रयोग गरेका विभिन्न तौरतरिका नियाल्दै आएका पण्डित अहिले उक्त कलामा निपुण नै भईसकेका छन् । 

उनले ७ जना कामदारसमेत राखेका छन । ७ जनालाई रोजगारीका साथै खाने व्यवस्थासमेत उनले नै गर्छन् । एक जना कामदारलाई खाना खुवाएर दिनको ७ सय रुपैँया दिने गरेको मूर्तिकार पण्डित बताउँछन् । 

यो पेशाबाट उनलाई पनि रामै आम्दानी हुन्छ । पण्डित एक सिजनमा लगभग ३ देखि साढे ३ लाख रुपैयासम्म कमाउने गरेको बताउँछन् । एउटा मूर्तिको बढीमा ३० हजार र कममा ३५ सय रुपैँया पर्छ । 

मिथिलाञ्चलमा मनाईने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ । जसमध्ये विशेष गरी नागपूजा, विश्वकर्मा पूजा, दुर्गा पूजा ( दशैँ ) लगायतका चाडपर्वमा माटोले बनाईएका रंगबिरंगका कलात्मक मूर्ति प्रयोग गरिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर