• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नातिले ल्याए ‘देश बिर्सेर’ 

काठमाडौं । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । पुस्तकको एक कार्यक्रमकाबीच विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले कथाकार नरेश नाति बहुमुखी प्रतिभाको धनी भएको बताए। 

नाति गीतकार, मुक्तककार, सङ्गीत मर्मज्ञका साथै राम्रो वाद्यवादक पनि भएको उल्लेख गर्दै उनले नातिका कथाहरू सरल र सम्प्रेषणीय भएको उल्लेख गरे । कवि, कथाकार तथा नाटककार गोपाल पराजुलीले सैनिकको जीवनमा सधैँ परीक्षा आइरहने उल्लेख गर्दै सैन्य सेवामा सेवारत लेखक नातिको कृति नेपाली साहित्यमा सफल हुने विश्वास व्यक्त गरे। 

कवि तथा कथाकार समेत रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मात्रिका पोखरेलले नेपाली साहित्यमा लाहुरे समुदाय र वैदेशिक रोजगारीमा गएका श्रमिक वर्गका विषयमा धेरै कुरा लेखिन बाँकी रहेको बताए । प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ र समालोचक महेश पौड्यालले नातिका कथाहरू सत्यको नजिक कृतिकारका जीवनका अनुभव, अनुभूति र भोगाइकै जगमा कथाहरू लेखिएको उल्लेख गरे । 

ब्रिटिस सैन्य सेवामा कार्यरत नातिले कथा लेखनको पृष्ठभूमि सुनाउँदै भावुकताका साथ भने, ‘म कर्तव्यपालनको सिलसिलामा अफगानिस्तानमा खटिएको थिएँ । एक दिन मैले त्यहाँका पाखाभरि चिहानैचिहान देखेँ । पछि थाहा पाएँ ती चिहानहरू त दोस्रो विश्वयुद्धमा मारिएका गोर्खालीहरूका रहेछन् । मनमा नरमाइलो भयो ।’ 

वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बेलायत डायास्पोरा नेपाली साहित्यकोे मलिलो भूमि भएको कुरा नातिको कथा सङ्ग्रहले सावित गरेको दाबी गरे । यसअघि ‘बाटो खोज्दाखोज्दै’ गीत र ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह प्रकाशित गरिसकेका नातिको तेस्रो कृतिको रुपमा प्रकाशित ‘देश बिर्सेर’ भित्र ‘युद्ध’, ‘माङपाहाङ जेठा’, ‘नरम चना भुत्ले साग’, ‘बाँसको भ¥याङ’, ‘स्मृति’, ‘देश बिर्सेर’, ‘अफगानिस्तान’, ‘रामलेपा’, ‘इकमान’, ‘इन्टरनेट’, ‘निस्सासिएको एक पल’ र ‘त्यो प्रेम’ गरी १२ कथा समाविष्ट छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर