गाउँको नाम ‘कुलमान घिसिङ चोक’

झापा । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । 

मुलुकबाटै विद्युतभार कटौती गर्ने महाअभियानमा लागेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई ४ र शिवसताक्षी १० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । 

उक्त गाउँमा दुई सय घरधुरी रहेका छन । तीमध्ये एक सय घरमा विद्युत सेवा नहुँदा टुकी बाल्दै आएका थिए । “बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए”, चोक नामाकरण समितिका अध्यक्ष श्याम ओली भन्छन्, “कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युतको समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ ।” 

विद्युत समस्याका विषयमा स्थानीयले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत  २२ लाखको लागतमा एक सय केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए । 

अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट छ किलोमिटर दक्षिण रहेको यो गाउँमा कुलमान घिसिङकै फोटो अंकित बोर्डसमेत राखिएको छ । 

पर्याप्त भोल्टेज भएको विद्युत आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत राख्न थालेको साँवाले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर