• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

यसरी हुँदैछ, नेकपा अन्तर्राष्ट्रिय विभागको एकता 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  विदेश विभागको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएसँगै विदेश विभागको एकता प्रक्रिया पनि लगभग अन्तिम चरणमा पुगेको हो । 

पार्टीका अन्य जनवर्गिय संगठन तथा तल्ला कमिटिहरुको एकता भन्दा विदेश विभागको जिम्मेवारी फरक हुने भएकाले विदेश विभागको एकताको अन्तिम टुङ्गो केन्द्रिय समितिले लगाउने नेताहरुले बताएका छन् ।

सम्बन्धित दल तथा राष्ट्रकै कूटनीतिक सम्बन्धको आधारशिला मानिने विदेश विभागको एकताको संवेदनशिलता बुझेर केन्द्रबाट टुंगो लगाउन खोजिएको नेकपाले बताएको छ । पार्टी एकता हुनु भन्दा अगाडी तत्कालीन नेकपा एमालेको विदेश विभाग प्रमुख वरिष्ठ नेता माधव कुमार नेपालसहित २३ सदस्यीय र तत्कालीन नेकपा माओवादी केन्द्रको अन्तराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठसहित १९ सदस्यीय रहेको थियो ।

पार्टी एकतापछि विदेश विभागलाई ३५ सदस्यीय बनाउने तयारी भैरहेको नेकपाका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय विभागका सचिव युवराज चौलागाईले जानकारी दिए । दुवै पार्टीका गरी हाल  ४२ जना विदेश विभागका सदस्य छन् ।

जसमध्यबाट अन्य जिम्मेवारीमा रहेका ७ जनालाई हटाएर ३५ सदस्यीय कायम गर्न लागिएको सचिव चौलागाईले समाचार दैनिक डटकमलाई जानकारी दिए । पार्टीको विदेश विभागमा रहेकाले सरकारलाई विदेश मामिलामा सुझाउने, विदेश सम्बन्ध व्यवस्थित गर्ने, मुखपत्र निकाल्ने, भ्रातृत्व मैत्रीपूर्ण र राजनीतिक सम्बन्धलाई एकसाथ अघि बढाउने काम विदेश विभागले गर्ने छ ।  

राष्ट्रको प्रतिनिधित्व गर्दै विदेशीसँग हुने कतिपय अन्तरक्रियामा विदेश विभाग नै सचेत नहुंदा समस्या आउने भएकाले विभागको नेतृत्व यसअघि नै जिम्मेवारी लिइसकेकाले पाउने संभावना बलियो देखिएको छ ।


यसअघि तत्कालिन माओवादी केन्द्रमा रहँदा विदेश विभाग सचिवको समेत जिम्मेवारी सम्हालेका चौलागाई भन्छन, ‘पार्र्टीलाई मात्र होइन, विदेश मामिलामा मुलुकलाई केन्द्रमा राखेर काम गर्नुपर्ने भएकाले विभागमा को–को रहने भन्ने अन्तिम नामावलीको अनुमोदन केन्द्रिय समितिले गर्नेछ ।

विदेश विभागको संरचना भने पुरानै विदेश विभाग प्रमुख, सचिव र अन्य सदस्य रहने प्रकृतिको बनाउने तयारी छ । यसअघि तत्कालिन नेकपा एमालेबाट विदेश विभाग प्रमुखमा केपी शर्मा ओली, झलनाथ खनाल, माधव कुमार नेपाल, राजेन्द्र श्रेष्ठ लगायत र माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ,  कृष्ण बहादुर महरा, दिनानाथ शर्मा, राम कार्की लगायतले जिम्मेवारी लिइसकेका छन् ।

यीनै मध्येबाट एक जना विदेश विभाग प्रमुख हुने सम्भावना रहेको छ । सचिवमा अहिले कसैले पनि दाबी नगरेपनि पार्टीले जिम्मेवारी दिएमा लिन तयार रहेको चौलागाइले बताए ।  यस्तै यसअघि तत्कालिन नेकपा एमाले विदेश विभागको सचिवको जिम्मेवारी सम्हालिसकेका यादवचन्द्र शर्माले पनि यो जिम्मेवारी विदेश विभागलाई राम्रो सँग बुझेको युवा नेतृत्वको हातमा हस्तान्तरण गर्नुपर्ने बताए । 

उनले भने, ‘दलको विदेश विभागमा रहने व्यक्तीले व्यक्त गर्ने धारणाले मुलुकको विदेश नीतिमा समेत प्रभाव पार्नेे हुनाले यसमा चुस्तता र स्पष्टता आवश्यक पर्छ त्यसैले क्षमता भएकालाई यो जिम्मेवारी दिनुपर्छ ।’ कुनै पनि मुलुकको कूटनीति बलियो हुने या नहुने भन्ने विषय त्यहाँका राजनीतिक दलले अवलम्बन गर्ने कूटनीतिको समान धारणामा निर्भर हुने गर्दछ । 

नेकपा पनि सबै पृष्टभुमिलाई बुझेको र जिम्मेवारी बहन गर्न सक्ने व्यक्तित्वलाई जिम्मेवारी दिने गृहकार्य भईरहेको छ । सम्भवतः छिट्टै केन्द्रिय सचिवालयले यसको टुङ्गो लगाउने छ । अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु प्रसाद पौडेलको सचिवालयले यसको टुङ्गो लगाउने छ । 

प्रवासको एकीकरण प्रक्रिया पनि अन्तिम चरणमा

विदेश विभागसँगै प्रवासको एकीकरण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । नारायणकाजी श्रेष्ठ संयोजक रहेको कार्यदलले यसको काम गरिरहेको छ । कार्यदलमा विन्दा पाण्डे, युवराज कार्की र टेक बहादुर पाठक रहेका छन् । 

भारतसहित अन्य मुलुकमा रहेका करिब ४० लाख भन्दा बढी नेपालीलाई जोड्न संगठनात्मक गर्ने काम भैरहेको छ । एमालेको प्रवासि नेपाली मञ्च र माओवादीको नेपाली जनप्रगतिशिल मञ्चलाई एकीकरण गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । 

प्रवासमा एमालेको ३८ र माओवादी केन्द्रको ४२ वटा मञ्च छन् । यसको नाम, संरचना, प्रवासीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा अहिले छलफल चलिरहेको र सम्भवत ः यसको पनि छिट्टै टुङ्गो  लाग्ने कार्यदलमा रहेका नेताहरुले बताए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर