• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बाबा–२

बाबा !
हजुरका सम्झनाहरू
हजुरले नै लगाएका
सालका चौकोसभन्दा बढी
अग्राख छन् यो मस्तिष्कमा

हजुर खसेदेखि
कहिल्यै पाइन् मैले
खुइय बिसाउने बिसौनी
सुइय सुस्ताउने चौतारी
हजुर खसेदेखि
सबै खजमजिए
मोनालिसाको जस्तो मुस्कान
कर्णको जस्तो साहस
कमलको फूल जस्तो हाँसो
स्केलको जस्तो धर्सो
खाँदा लाउने फूर्ती
लाउँदा आउने खुसी
उत्साह–उत्प्रेरणा जम्मै–जम्मै 
छायाँजस्तै भए यो मस्तिष्कमा
जत्ति बल गरे पनि
आकृति नै आउँदैन 
बिलाउँदै–बिलाउँदै जाने
बाङ्गाटिङ्गा आकृतिहरू
कहिल्यै हुन सकेनन्
स्केलजस्तै सिधा

बाबा ! हजुर भन्नुहुन्थ्यो
बाबु ! छोरा !
ठूलो ओतको छहारी लिनु 
ठूलो मान्छेको आश्रय लिनु 
यत्र–तत्र सडकमा चट्पटिदै
मान्छेले–मान्छेलाई नै जाल थापेको
मान्छेहरूको छट्पटिलाई
गौर गरी चिन्तन गरी रहें
र मान्छेहरूको, आचार, विचार र स्वभावलाई 
गुन्दै–गुन्दै
ठूलै रुखको छहारी लिएँ
र छायाँलाई गौर गरी हेरिरहें
त छायाँभरी
मौलाउन नसकी
हेप्पिएका, चेप्पिएका
पोथ्रै–पोथ्रामात्र देखेँ
र निश्कर्ष निकालें
गल्ति हजुरको होइन
गलत त समय हो
र त समयानुकूल हिँड्न जानेको छ
समयानुकूल बुझ्न जानेको छु
र त बाँचेको छु
हाँसेको छु 


घर पनि राजमार्गमै टाँसिदिने हजुर
सोही राजमार्गभन्दा
लामा हजुरका सम्झनाहरू 
मेरा आँखामा
जूनजस्तै टल्कने हजुर
घामजस्तै झल्कने हजुर 
पाहुनाजस्तै झुलुक्क–झुलुक्क
झुल्कने हजुर
आदि हजुर 
अन्त्य हजुर
सबै सबै हजुर 
अनि कसरी मेटाउन सक्छु
ती सबै सम्झनाहरू ?


बाबा भन्नुहुन्थ्यो
बाबु ! छोरा !
तँ साह्रै अवोध छस्
मैले केही सम्झाउँदिन
मैले केही सिकाउँदिन
तैंले आफै सिक्नु पर्छ
तर बाबु यत्ति सम्झाउँछु
प्रकृतिसँग सँधै नजिक रहनु 
प्रकृतिसँग विविधता छन्
दिन हुन्छ, रात हुन्छन्
घाम लाग्छ, ताराहरू उदाउँछन्
चराचुरुङ्गीहरू चिर्बिर गर्छन्
प्रकृति कटु सत्य हो 
मान्छेहरूदेखि होसियार रहनु
मान्छेहरूमा पनि विविधता छन्
पाइला पाइलामा पासोहरू छन्
ती पासोहरूदेखि उम्किन जान्नु पर्छ
छली जत्थाहरू
कपटी, विशाल योजना र परियोजनाहरूलाई
आफ्नो पोल्टामा पार्ने प्रयास कहिल्यै नगर्नु
तिनीहरूको मोहमा कहिल्यै नपर्नु
उनीहरूको भारी कहिल्यै नबोक्नु
इमान्दारी अल्पहोस्
निष्ठा न्यूनहोस्
उनीहरूलाई काँधमा बोक्ने हिम्मत गर्नु
इमान्दारी र निष्ठाको अगाडि
कहिल्यै कायर नबन्नु
सत्यताकोे आँखा बन्नु
झुटको पाखा लाग्नु


कत्ति गाली गर्नुहुन्थ्यो 
गल्ति नगर
गरेपछि पुरस्कार दिनु हुन्थ्यो 
र गद्गदाउनु हुन्थ्यो 
परेर त सिकिन्छ 
सिकेर त जानिन्छ 
मेरो गल्तीमा पनि पुरस्कृत गर्न सक्ने
यति ठूलो संपरीक्षक
अब कहाँ खोजूँ बाबा ?

(युवाकवि शम्भु अर्यालद्वारा लिखित कविता संग्रह ‘सेतो सुनखानी’ बाट लिएको हो । यो संग्रह आज विमोचन हुँदैछ ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर