क्यानभासमा चुरे चिन्ता

काठमाडौं । पछिल्लो समय बढ्दै गएको चुरे दोहन र त्यसबाट वातावरणमा परेको प्रभावका बारेमा कलाकारले क्यानभासमा चिन्ता व्यक्त गरेका छन् । चुरे क्षेत्रको प्राकृतिक सम्पदाको दोहनले तराई–मधेसमा परेको वातावरणीय असरलाई सिर्जनात्मक ढंगले सचेत गराउने उद्देश्यका साथ कला प्रदर्शनीको आयोजना गरिएको हो । 

‘सेभ चुरे ट्रेल मधेस’ शीर्षकमा गरिएको प्रदर्शनीमा दुई दर्जन बढी कलाकार सहभागी छन् । प्रदर्शनीमा राखिउका कलाकृति जनकपुर र राजधानीको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा आयोजना गरिएको कला कार्यशालामा बनाइएको हो । सहभागी कलाकारले आफ्ना सिर्जनामा वन विनाशले प्राकृतिक प्रकोप बढ्नेप्रति सचेत गराएका छन् । 

२५ कृतिसहित सुरु भएको प्रदर्शनीको आयोजक संस्था चुरे तराई, मधेस संरक्षण विकास बोर्डका अध्यक्ष वीरेन्द्र यादवले उद्घाटन गर्दै चुरे क्षेत्रमा पर्ने वन र त्यहाँको पानीको स्रोतको  दोहन भइरहेको बताए । उनले भने, ‘चुरे दोहन गर्दा मानिसले प्राकृतिक प्रकोप बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि खण्डवृष्टिलगायतको प्रकोप झेल्नुपर्ने र भोकमरीको समस्या आउनसक्ने भएकोले यसलाई रोक्नुपर्छ भन्ने सन्देश फैलाउन कलाकारिताको सहयोग लिएको हो ।’

कार्यशालामा बनाइएका कलाकृतिलाई बोर्डले आफ्नै संरक्षणमा राख्ने र विभिन्न कार्यक्रममा चुरे क्षेत्रको प्राकृतिक स्रोतको विनाशले तराई मधेसमा पर्नसक्ने समस्याको बारेमा जनचेतना फैलाउने योजना रहेको यादवले सुनाए । 

मिथिला नारी हस्तकला सेन्टर र मिथिला आर्ट यें ग्यालरीको सहकार्यमा आयोजित प्रदर्शनीमा डि.राम पाल्पाली, केशव राज खनाल, अजित शाह, प्राज्ञ  लालकाजी लामा, मिथिलादेवी यादव, श्यामसुन्दर यादव, सरिता मण्डल, ज्योतिप्रकाश विक, पुनमकुमारी दास, नरबहादुर विके, प्रमिला परियार, हरेराम यादव र लक्ष्मण मण्डलका चित्र राखिएको छ । 

त्यसैगरी सुलेखा साह, सुलोचना कर्ण, रेणु कर्ण, श्यामसुन्दर यादव, सुनिता शर्मा, रूचि शाह, सरस्वती साह, मुन्नी खातुन, फुलो शाह, जुली साहलगायतको सहभागिता रहेको छ । 

प्रदर्शनीमा आधुनिक र मिथिला कला माध्यमका चित्रकलाले प्राकृतिक सम्पदाको विनासले वातावरणमा परेको प्रभावले जलचर, मानव, जङ्गली जनावरको जीवन खतरामा परेको पनि औंँल्याइएको छ । प्रदर्शनीमा कलाकार डि.राम पाल्पाली, अजित शाह र सरिता मण्डललाई पुरस्कृत पनि गरियो ।

प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने उद्देश्य रहेको ग्यालरीका सञ्चालक तथा सहभागी कलाकार श्यामसुन्दर यादवले बताए । उनले भने, ‘कलामार्फत जनचेतना फैलाउने र चुरे क्षेत्रको दोहन रोक्ने काममा दबाब दिन कार्यशाला तथा प्रदर्शनी गरिएको हो ।’

प्राकृतिक स्रोतको दोहनले वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले कलाकारको कुचीमार्फत सचेतना ल्याउन कला बनाइएको सहभागी कलाकार अजित साहले बताए । उनले भने, ‘चुरे दोहनले तराई–मधेसमा निकै प्रभाव पारेको छ । यस प्रदर्शनीले भविष्यमा निकै ठूलो प्राकतिक विपत्ति ल्याउन सक्छ भनेरै बेलैमा सचेत हुन आव्हान समेत गरेको छ ।’
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर