• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पुरस्कारको राजनीतिमाथि बहस

मदन पुरस्कारमा राजनीतिक गन्ध छ

काठमाडौं । पुरस्कारले स्रष्टालाई सिर्जनामा उत्प्रेरणा भर्ने काम गर्दछ । तर, यसको उल्टो पुरस्कारलाई आत्मगौरवको मानक बनाएर झारझुरे कृतिका स्रष्टालाई पुरस्कार दिँदा यसको गरिमा घट्दै गइरहेको छ । अझ यसका लागि हुने राजनीति र भित्री चलखेलले पुरस्कारलाई कमजोर र चाकडीको चंगुलमा फसाइरहेको छ । 
यसै विषयमा अखिल नेपाल लेखकको संघको आयोजनामा प्रत्येक महिनाको अन्तिम शुक्रबार हुने ‘बातलावा’ मा बहस छेडिएको छ । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा भएको कार्यक्रममा वक्ताले पछिल्लो समय पुरस्कारको गरिमा र ओज घट्दै गएको र राजनीतिक रङ हावी हुँदै गएको बताएका छन् । के कुनै संस्थाले तपाईँलाई पुरस्कार दिने घोषणा ग¥यो भने मुस्कुराउँदै हात थाप्नुहुन्छ ? समीक्षकहरु कुनै संस्थाले पुरस्कार घोषणा गर्नेबित्तिकै हात थाप्न नहुने सल्लाह दिँदै त्यसले एउटा राम्रो साहित्यकारको साहित्यिक क्षमतामा ह्रास ल्याउने बताउँछन् । 

कार्यक्रममा ‘पुरस्कारमा राजनीति’ विषयक बहसमा साहित्यकार श्यामलले पुरस्कार लिनुअघि पुरस्कार दिने संस्थाबारे ध्यान दिनुपर्नेमा जोड दिए । ‘स्वदेश तथा विदेशमा दिइने पुरस्कारमा राजनीति प्रवेश भइरहेका हुन्छन् । त्यस कारण पुरस्कार पाएको पुस्तक वा साहित्यकार मात्र उत्कृष्ट हुन् भन्ने धारणा गलत हो । पुरस्कृत नभएका साहित्यकार पनि विश्वचर्चित भएका थुप्रै उदाहरण छन्,’ कवि तथा निबन्धकार श्यामलले भने । 

पुरस्कार नपाउनेमा रुसका लियो टोस्ल्टय, अर्जे्न्टिनाका चे ग्वेभारा, जर्मनीका ब्रतोल्ट ब्रेख्त तथा फ्रान्सका जाँ पल सात्र विश्वप्रसिद्ध साहित्यकार यसका उदाहरण हुन् । सन् १९०१ मा स्थापित नोबेल पुरस्कार विश्वप्रसिद्ध पुरस्कारमा गनिन्छ । केही पुरस्कार साहित्यकार श्यामलले साहित्यका माध्यमबाट समाजलाई विशिष्ट योगदान दिने साहित्य वा कलाको मान्यता नै पुरस्कार भएको बताए । उनले भने, ‘पुरस्कार नपाउनु अस्वीकृत हुनु होइन । त्यो पुरस्कारका नियन्ताहरुको दृष्टिको कुरा हो । त्यसले कृति वा कृतिको गुणवत्तामा तात्विक अन्तर ल्याउँदैन तर पनि योग्यतम रचनाकारको खोज पुरस्कारको अभीष्ट हुनुपर्छ ।’ 

स्वदेश तथा विदेशी पुरस्कारमा राजनीतिक प्रभाव रहेको तर्क गर्दै उनले नोबेल पुरस्कार पनि राजनीतिबाट प्रभावित भएको र लामो समयसम्म माओत्से तुङको मुलुक चीनलाई पुरस्कार नदिने गरिएको स्मरण गराए । मदन पुरस्कार नेपालको नोबेल पुरस्कार भनिए पनि त्यसमा राजनीतिक गन्ध रहेको उनको भनाइ थियो । 
नेपालमा पुरस्कारको स्थापना बाबुआमाको स्मृति र दुर्घटनामा परेका छोराछोरीको नाममा पुरस्कार स्थापना गर्ने गरिएको बताउँदै उनले साहित्यिक पुरस्कार दातासँग साहित्यसम्बन्धी आधारभूत ज्ञान नहुने गरिएको भनाइ पनि राख्नुभयो । पुरस्कार दिने संस्थालाई कर नलाग्ने तर पुरस्कार लिने व्यक्तिसँग भने कर लिइने गरेकामा पनि उनले आपत्ति जनाए । श्यामलले पुरस्कारले असल स्रष्टाको मानमर्दन हुने भएकाले राम्रो साहित्यकारलाई प्रतियोगिता बाहिर बसेर लेखनकलालाई बलियो बनाउन सुझाव दिए । 

कार्यक्रममा साहित्यकार विभूति भट्टराईले नेपालमा पुरस्कारमा निकै राजनीतिका गन्ध आउने भएकाले यसबारे बहस चलाइएको बताइन् । पुरस्कारले स्रष्टालाई अगाडि बढ्न अभिप्रेरित गर्नुपर्नेमा त्यसको उल्टो भइरहेको बातलावाका अभियन्ता एवं कवि केशव सिलवालले बताए । कार्यक्रममा देवकी तिमिल्सिना, रिमा केसी, प्रेमिला राई, मदन प्रभात र बम बानियाँले कविता वाचन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर