• सोमबार ५-४-२०७५/Monday 08-20-2018/ 09:04 pm

सलाम ! नेपाली स्पार्टाकस–भीमदत्त पन्त 

‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया... ठालुको काल आयो ।’ ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ ) 
-भीमदत्त पन्त
                         

नेपाली स्पार्टाकस–भीमदत्तलाई राजनीतिक व्यवसाय नबनाउ ! आफ्नाहित अनुसार व्यक्तित्वको प्रयोग गर्नु अपराध हो भने हितअनुकूल इतिहास व्यवस्थापन महाअपराध । व्यक्तिको व्यक्तित्व विकाससँगै भीमदत्त ३ भूमिकामा देखिए । कुनै नायक वा सहिदलाई सम्मानमा स्यालुट मार्नु भनेको उनको आर्दशलाई मन, वचन र कर्मले नै पछ्याउनु र जीवन व्यवहारमा उर्तानु हो । जव पोस्टरलाई स्यालुट गरिन्छ र आर्दशलाई धोती लगाइन्छ तव त्यहाँ ऐतिहासिक अपराध भइरहेको हुन्छ । त्यस्तै आफ्ना हितअनुसार पन्तलाई पनि बिर्सने, बहसबाट खारेज गरिदिने, सम्झे पनि आदर्शको खिल्ली उडाउने, अंश लगाउनेले एकपक्षलाई सम्पति बनाउँछन् भने अर्को पक्षलाई खारेज गरिदिन्छन्...यही हो नेपाली स्पार्टाकसमाथि भइरहेको अपराध । सशस्त्र किसान विद्रोहका पन्तलाई एउटा चश्माबाट नियाल्न या त अध्येताको आग्रह या उनको सीमा समस्या भनेर बुझ्नपर्ने हुन्छ । आज उनको सहादत दिवस । नेपाल सरकारले पन्तलाई २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरेको हो ।

साउनको १७ गते बिहान, आजको ६५ वर्ष पहिला । वर्षेझरीले झाडी बनेको बुडर नजिकैको गैलेकको जङ्गल । जङ्गलभित्रको कटेरो । भारत–नेपालका दुई, दुई देशका सेनाले संयुक्त अपरेसन गरेर खोजिरहेको विद्रोही व्यक्ति भीमदत्त पन्त, हमजाली मगरको त्यही कटेरोमा खाना खाँदै छ । झरीले भिजेको कार्तुसहरू छेवैमा सुकाउँदै पनि छ । स¥याङसुरङको अवाजले ऊ झस्किन्छ । सचेत हुन नपाउँदै घेरामा परिसकेको र उम्कन नसक्ने अवस्थामा पुगेको बुझिसक्छ । आएका मान्छेहरू ऊ राम्रैसँग चिन्छ । कुराकानीमा अल्मल्याउने र उम्कने दाउ पनि खोज्छ । 

लेखक

आफ्नै मीत भनिने लालबहादुर थापा र भम्वा दियालले मारी त के हाल्लान्न् भन्ने पनि उसको सोच हुन्छ । किसानहरू, हेपिएका र दबिएकाहरू नै त किसान सेनाका लडाकु थिए भने अझ लालबहादुर र भिम्वा त उसका आफ्नै मीत थिए । घरकै छेद नै विभीषण भए पन्तको खोजी गर्न र ठेगान लगाउन सक्छन् भन्ने वैरीले सोचेर उनीहरूलाई प्रयोग गरेका हुन्छन् । ठालुका नुन खाएका र सरकारी सिन्दुर पहिरिएका भए पनि मारी त हाल्दैनन् भन्ने सोच लम्पट भइसकेकाहरूमा लागू हुँदैनथ्यो । पन्तले आफना केही कुरै राख्न नपाई, सचेतसमेत हुन नपाई लालबहादुरको बन्दुकले एक्कासि गोली ओकल्छ र रगतको फोहोरा हमजाली मगरको घरमा छुट्छ । एकछिन पहिला शान्त रहेको घर एकाएक आतंक, चिच्याहट र रक्तकुण्डमा फेरिन्छ । भीमदत्त ढल्छन् । 

५ हजार कम्पनी रुपैयाँको लोभमा फसेर एउटा लम्पटले तीन तीनवटा आन्दोलनका पश्चिमेली नेता, कमाण्डर र २००७ सालको मुक्तिसङ्घर्ष पछाडिका पहिलो गभर्नर अर्थात् आफ्नै मीत भीमदत्त पन्तको २०१० साल साउनको १७ गते बिहान इहलिला समाप्त गरिदिन्छ । हत्या गरेरमात्र उनीहरू शान्त हुँदैनन्, भिम्वा दयालले कम्मरमा भिरेको खुकुरी फुत्त निकालेर लास बनेर ढलेका भीमदत्तको गर्दन्मा छप्काउँछ । शरीरबाट छुट्टिएको पन्तको टाउको किसान ऐरलाई बोकाएर हत्यारा जत्था डडेल्धुरा खलङ्गातिर लाग्छन् । भीमदत्तको टाउको लिएर गएको जत्था १८ गते दिउँसो खलङ्गा पुग्छ । त्यहाँका ठालुहरू विष्ट, कठायत र थापाहरूले भोजभतेर सुरु गर्छन् भने आमकिसान, दलित र गरिबहरूमा भने शोकको लहर छाउँछ । 

डडेल्धुरा गौँडा गोश्वरा अगाडि एउटा बाँसको लिङ्गो गाडिन्छ । आँखा बन्द भएको टाउको उनीहरूलाई आतंक बन्छ र कप्टेराले आँखा खोलेर उनको टाउको लिङ्गोमा सिउरेर ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै सजाय हुन्छ’ भन्ने कुरा लेखी सोही लिङ्गोमा झुण्ड्याइन्छ । सार्वजनिक प्रदर्शनमा टाउको झुण्डायाइसकेपछि बडाहाकिम मोहनबहादुर सिंहले लालबहादुर थापालाई आफनै मीतको हत्या गरेर टाउको बुझाएकोमा ५ हजार रुपैयाँ बक्सिस दिन्छ । 

तीन दिनसम्म लासको रमिता देखाएर प्रशासन र ठालुहरूले उनकी श्रीमती पार्वतीदेवीलाई ३१ वटा सर्तमा औँठाछाप लगाई सदगद् गर्न टाउको दिन्छन् । धर्मदेव पन्तले टाउको बोक्छ । आतंकको बीचमा पनि सिद्धराज पन्त, शिवराज उप्रेती, सोबे सार्की भूल र झकिरे दमाई मलामी जान्छन् । हजारौं किसान सेनाको कमाण्डरको अन्त्येष्टिमा सहभागी हुनबाट सबैलाई आतंकले रोकिदिन्छ । डोटी घटाल बाबा मन्दिर छेउमा उनको अन्तिम संस्कार हुन्छ । 

यसरी मारिएका पन्तको हत्यालाई सरकारले साउन २० गते जङ्गलमा सेना र प्रहरीको भिडन्तमा पन्त मारिए भने पनि २४ गतेको नेपाल पुकारमा भने भीमदत्त देशद्रोही नभएको र राष्ट्रवादी भएको खबर प्रकाशित भयो । सो कारबाहीका लागि भारतबाट आएका सेना साउनको २७ गते फिर्ता भए । 

को हुन, भीमदत्त पन्त ? 

डडेल्धुरा जिल्ला सदरमुकाम खलङ्गाको दक्षिण मोहडामा डोटी घटाल भन्ने गाउँ पर्छ । त्यसैकौ एउटा टोलको नाम हो–कारी गाउँ । त्यहीँ तारानाथ पन्त र सरस्वतीका एक्लो छोराको रूपमा उनको जन्म १९८३ साल मंसिर १० गते भएको हो । कुनैबेला राणकालीन कर्मचारी तारानाथको सरकार र ठालुहरूमा राम्रै पहुँच थियो । हुनेखाने मै उनी गनिन्थे । ५ वर्षमै मातृविहीन बनेका पन्तलाई सीमावर्ती भारतीय भूमि सिगाइँमा आफन्तको संरक्षणमा पढाइका लागि पठाइयो । सिगाइँमा रानी सुरत कुमारीका पुरोहित जेठाबाबाको रेखदेख र सुरत कुमारीको सहयोगबाट उनको प्रारम्भिक पढाइ लेखाई भयो । 

त्यसैबेला भारतमा स्वतन्त्रता संग्रामको राँको दन्किरहेको थियो । किशोर र युवाहरूका नायकमा भगत सिंह फेरिइसकेका थिए भने अर्कातर्फ दशरथ चन्दको फाँसीले पश्चिममै हलचल ल्याएको थियो । त्यसको असर विद्रोही स्वभावका भीमदत्तलाई नपर्ने कुरै भएन । उनको विद्रोहको थालनी सिगाइँबाटै सुरु भयो । रानीलाई खुसामत र आश्रतिलाई दमन गर्ने जेठाबाबुको आचार, विचार र व्यवहार उनलाई पटक्कै मन परेको थिएन । उनको सञ्चित रकम सामान्य गरिबगुरुवालाई बाँडी दिएर भीमदत्तले विद्रोही स्वभावको सुरुवात सिगाइँबाटै गरे । १५ वर्षको उमेरमा १९९८ सालमा उनले म्याट्रिक पास गरेका थिए । बाबु तारानाथ बितेपछि मात्र उनलाई आफ्नो खेत बन्दकी रहेको कुरा थाहा भयो । 
ठालु विष्टहरू उनको एकातर्फ विद्रोही स्वभावबाट झस्केका मात्र थिएनन् उनको सामाजिक हैसियत समाप्त पार्न पनि चाहन्थे, अर्कोतर्फ खेत हत्याउन । उनले अपमान सहनुभन्दा खेत बेचेर रकम बुझाउलान् भन्ने विष्टहरूले पत्याएकै थिएनन् । राणाका चौधरी बनेका बाउको ऋण ६ सय तिर्दाप नि अझ बाँकी रहेको भनेपछि विद्रोही पन्तलाई सहिनसक्नु हुने नै भयो । त्यसबेलासम्म उनी गाउँमा समाज सुधारक, शिक्षाप्रतिको जागरुक र अन्यायविरोधी हक्की युवाका रूपमा चर्चित भइसकेका थिए । 

गरिब, दलितले उनलाई आशाका नजरले हेर्न थाल्दा विष्ट, कठायत र थापाको आँखाका कसिङ्गर बनेका थिए । बाउ बित्नु, ऋण तिर्नु तर ऋण नसकिनु पन्तलाई सहृय भएन । अगाडि अध्ययन बढाउन २००१ सालमा फेरि उनी भारततिर लाग्छन् १२ वर्षमै बिहे गरेकी श्रीमती पार्वतीदेवीलाई सौतेनी आमासँगै छोडेर । भारतमा आन्दोलनको राप र ताप त्यसबेला अझ बढेको हुन्छ र उनी अध्ययन छाडेर भारतीय स्वतन्त्र सङ्ग्राममा हाम फाल्छन् र गिरफ्तार परी १८ महिना इलाहावाद जेल पर्छन् । 

भारतीय जेलबाट रिहाइ भएपछि राजनीतिक चेतनाले भरिएका पन्त सिधै नेपाल फर्किन्छन् । त्यसेबेला राणाविरोधी पश्चिममा सशस्त्र आन्दोलन चर्किएको थियो । कमाण्डर रूपसिंह सिजापति, शेखर शर्मा र गौरीलालको समूहमा उनी पनि सहभागी हुन्छन् । विद्रोही स्वभाव, तर्कशीलता र जनशैलीले छिटै क्रान्तिकारीको हृदय जित्न उनी सफल भएपछि अझ पहिलेकै लोकप्रियताले पनि काम गरेको थियो । 

ठालुहरू पैसा बुझाउँदा पनि तमसुक नच्यातेको र विद्रोही पन्त अलप भएको देखेर पहिलादेखि नै आतंकित थिए नै । २००७ साल पुस २६ गते डडेल्धुरालाई मुक्ति सेनाले कब्जामा लिएपछि भीमदत्त गभर्नर र टीकादत्त भट्, कीर्तिबहादुर विष्ट, पहलमान कटुवाल, जयराज जोशी, गुणकर पन्त, डम्बरबहादुर बोगटी, भक्तबहादुर मल्ल सामेल भएको अन्तरिम व्यवस्था सञ्चालन गर्ने अस्थायी सरकार बन्यो । 

ब्रहमदेव मण्डीको अचाक्लीको नियन्त्रण, अर्कोतर्फ लोकप्रताप विष्टको दमिनीसँगको लसपसमा सामाजिक न्याय दिलाउनुले ठालुहरू चिढिएका थिए नै । जातपात, छुवाछूतको हस्तक्षेपले धर्मभिरु र ठालुहरू रिसाउने र आतंकित भएका थिए । परिवर्तन पछाडि पनि सरकारले परिवर्तनको आभास दिन सकेको थिएन । 

जब उनले जनताको पक्षमा काम गर्न थाले नेपाली कांग्रेसको सरकारले रक्षा दल, सिद्धि गणेशको फौजले २००८ भदौमा आफ्नै गर्भनरलाई ठालुको उक्साहटमा गिरफ्तार गरी अड्डासार गर्दै काठमाडौं चलान गर्दछ । केही समय हनुमान ढोकाको जेलजीवनपछि उनको कम्युनिस्ट नेताहरूसँग छलफल भएर उनी पुनः आफ्नै कर्मथलो सुदूरपश्चिम फर्किन्छन् । जब उसले जनताको पक्षमा काम थालनी गर्छ, ठालुहरूको उक्साहटमा आफ्नै सहयोद्धाबाट गिरफतार भएर आफ्नै सरकारको बन्दी बन्दछ । त्यसपछि ऊ कांग्रेस त्याग गर्दै नयाँ विद्रोहको सपना देख्दै नयाँ बाटोमा लम्कन्छ ।

उनको ब्रहमदेव मण्डीमा तेलङ्गना किसान विद्रोहका कृष्णस्वामी अयङ्गरसँग भेट हुन्छ । पछिल्लो विद्रोहको सैद्धान्तिक आधार र प्रेरणा भीमदत्तले अयङ्गरबाट पाउँछन् । यसरी एउटा विद्रोही युवा मुक्तिसेनाको योद्धादेखि डडेल्धुराको गभर्नरसम्म बन्दै फेरी अर्को किसान आन्दोलनमा होमिन्छ  । 

अन्तिम विद्रोह
‘किसान राज, जिन्दावाद’ भन्दै जय जनता भनेर अभिवादनको चलन चलाएका भीमदत्तले २००८ को अन्तिमतिर कैलाली, कञ्चनपुर र डडेल्धुरालाई केन्द्र बनाएर थालेको सशस्त्र किसान विद्रोहले थोरै समयमा सामन्त, जिम्दार, पटवारी र सरकारलाई आच्छुआच्छु बनायो । 

सो क्षेत्र किसानहरूको नियन्त्रणमा आयो । तमसुक च्यात्ने आन्दोलन चल्यो भने तमसुक नच्यातेर जनतालाई दुःख दिनेहरू आन्दोलनको निसानामा परे । बहृमदेव मण्डीको कोटाको व्यवस्था, भन्सार ठेकदारको अचाक्ली, ठेकदार र कर्मचारीको मिलेमतोको विरुद्ध उनको अभियानले जनताको मनोभावलाई छोयो भने सुब्बा जयदेव भद्धु, डिठ्ठा धर्मसिंह रावल, सुवेदार जोगराज ऐरविरुद्धको सशक्त कारवाहीले आन्दोलन हलक्क बढ्यो । 

‘रोजीरोटी कपडा दे, नत्र गद्दी छोडी दे’ ‘गरिब किसान राज, शोषक सामन्ती मुर्दावाद’ जस्ता नारा चौतर्फी लाग्न थाले । आन्दोलन चर्किदै जाँदा उनलाई २००९ साल चैत २७ गते झुक्याएर गिरफ्तार गरियो तर धर्य शमशेरलाई छक्याउँदै बिलौरी जेल तोडेर २०१० साल असार तेस्रो हप्ता पन्त भाग्न सफल भए । जब उनी डडेल्धुरा पुगे पुनः त्यहाँ सामन्त र बडाहाकिम मोहनबहादुर सिंहको गठजोडमा गिरफतार परी बिलौरी जेल चलान गरियो । जोगबुढा पुग्दानपुग्दै सिपाहीलाई प्रभाव पारेर उनीलगायत सहयोद्धा मुल्ली प्रधान र गर्भु राना उम्कन सफल भए । 

तब किसान विद्रोह अझ सशक्त भयो । किसान सेनामा सबै जातजातिका उत्पीडित साथै थारु, मगर र दलितको उल्लेखनीय सहभागिता रहृयो । कम्युनिस्टले कब्जा गर्न थाले भनेर मात्रिका कोइरालाको कांग्रेस सरकारले भारतसँग सैनिक गुहार माग्यो । नेपाली सेनाका सेनापति किरण शमशेरले बरेलीमा बसेर संयुक्त कमान गरे । जब दक्षिणबाट भारतीय सेना र उत्तरबाट नेपाली सेनाले दबाब बढायो तब छापामार आन्दोलनको रूपमा किसान आन्दोलन फेरियो । सयौंको गिरफ्तारी भयो । आन्दोलनको कमाण्डर र नेता भीमदत्त पन्त आफना सहयोगी बहादुरे खत्री र मोहनसिंह सेठीसँग उत्तर गैलेकको जङ्गलमा आश्रय लिन पुगे । बाहिरको खबर बुझ्न डडेलधुरा गएका सेठी गिरफ्तार परे भने बहादुरे पनि अन्तिम समय अन्यत्र काममा खटाइएका थिए, पन्तसँग थिएनन् । 

आन्दोलनकै क्रममा उनका दुई छोरा प्रेमराज र लीलाराजको मात्रै हैन् छोरी रेवाको समेत मृत्यु भयो । रोमका स्पार्टाकसले झैँ नेपाली धरतीमा किसानराजको लागि जमेर पन्तले लडे । सामन्तरक्षामा उत्रेको नयाँ सरकार र उसलाई रक्षा गर्ने विदेशीले संयुक्त आक्रमण गरे । किसान आन्दोलनमाथि धावा बोले । स्पार्टाकसलाई झैं भीमदत्तलाई पनि प्रदर्शनको विषय बनाउन दुष्टहरूले कायरझैँ हत्या मात्र गरेनन्, उनको शिर बाँसमा उधिनेर ३ दिनसम्म प्रदर्शन समेत गरे । 

आखिर स्पार्टाकसले वारिनियालाई आफनो सन्तान जोगाएर भविष्यलाई सन्देश दिन भने तर भीमदत्तले भने आफ्ना सन्तानको अनुहार हेर्नसमेत जान भ्याएनन् । सहयोद्धा र हरेक स्वप्नद्रष्टा नै आफ्ना आन्दोलनको मर्म आन्दोलनकै उत्तराधिकारी र हकवाला बनाएर उनी सहिद भए । क्रान्तिलाई नै जब एउटा क्रान्तिकारीले परिवार सोच्दछ तब अनुयायीहरूमा नेतृत्वप्रति चरम आस्था बढ्दछ र कस्तै त्याग गर्न पनि अनुयायीहरू पछाडि पर्दैनन् । त्यस्ता थिए– भीमदत्त पन्त । जहाँ अन्यायको विरोधमा स्वाभिमानको जाग्दछ त्यहाँ भीमदत्त स्पार्टाकसझैँ रक्तबीज भएर देखिने गरेका छन्, देखिने छन्  ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

घरसकारको लिखत सम्बन्धी नयाँ कानुनी व्यवस्था : एक समिक्षा

  • १ भदौ, २०७५

राजा सुरेन्द्र विरविक्रम शाहको पालामा वि.स.१९१० मा जारी भएको मुलुकी ऐनले आफ्नो १६५ वर्ष लामो अवधी पार गर्दै नेपालको देवानी र फौजदारी न्यायप्रणालीको

वाजपेयीः जसले सार्क सम्बन्धलाई पहिलो प्राथमिकतामा राखे 

  • १ भदौ, २०७५

समाचार दैनिक /काठमाडौं । सन् २००२ मा नेपालमा भएको एघारौ सार्क सम्मेलन ताका भारत र पाकिस्तानको सम्वन्ध त्यति राम्रो थिएन् । सम्वन्ध लगभग अहिलेकै

ज्ञानदिल दासको जेलजीवन र विद्रोह              

  • २८ श्रावण, २०७५

संक्षिप्त परिचयः ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक