• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

होम डेकोरेसनप्रति क्रेज बढ्दै छ : खाँण

पछिल्लो समय मानिसहरु आफ्नो घरको सुरक्षाको लागि निकै सचेत हुन थालेका छन् । भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट घरलाई जोगाउन पनि मानिसहरुले सुरक्षित तबरबाट घर निर्माण गर्न थालेका छन् । साथै घरलाई सिंगार्ने, आकर्षक र सुरक्षित बनाउनेतर्फ मानिसको ध्यान जान थालेको छ ।

होम डिजाइनिङमा मात्र हैन डेकोरेसनमा समेत मानिस आकर्षित हुन थालेको देखिन्छ । होम डेकोरेसन गर्ने क्रम बढेसँगै यसमै भविष्य खोज्नेको संख्या पनि बढ्न थालेको छ । यसै सन्दर्भमा होम डेकोरेटर तथा आँटी घर इन्टेरियर पोखराकी डिजाइन हेड सम्झना खाँणसँग गरेको कुराकानीः 

होम डेकोरेसन भनेको के हो ?
-हरेक मान्छेले होम डेकोरेसन भनेर घरलाई नै बुझ्छन् । घरलाई सजाउने भनेर बुझिन्छ । घरमा एकदमै प्रयोग हुने भनेको फर्निचर नै हो, फर्निचर नयाँ राखेर होम डेकोरेसन हुन्छ भन्ने होइन । हामीले पुरानो फर्निचरलाई पनि आफ्नो दिमाग लगाएर नयाँ तरिकाले घरमा प्रयोग गर्न सक्छौं । घरको खाली ठाउँलाई प्रयोग गरेर होम डेकोरेसन गर्न सकिन्छ । घरमा कुन सामान कुन ठाउँमा राख्दा उपयुक्त हुन्छ र त्यो ठाउँमा राम्रो देखिने मात्र होइन त्यसले पार्ने प्रभावलाई पनि होम डेकोरेसनमा लिइन्छ । घरको पुरानो सामानलाई नयाँ रुप दिएर पनि घरमा डिजाइन गर्न सकिन्छ ।

होम डेकोरेसन अन्तर्गत के के कुराहरु पर्छन् ?
होम डेकोरेसनभन्दा सिंगो घरको मात्र भन्ने भयो । अब घरको इन्टेरियर डिजानिङ्गको कन्सेप्टमा चाँहि योभित्र घर प¥यो, रेस्टुरेन्ट, होटेल, हस्पिटल, स्कुल, लाइब्रेरी आदि पर्छ । इन्टेरियर डिजाइनमा घरमात्र पर्छ भन्ने छैन ।

होम डेकोरेसन गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
होम डेकोरेसनमा जहाँ हामीले घर बनाउँदै छौँ, त्यो ठाउँ कस्तो छ, त्यो स्पेस प्लानिङ्ग गर्नुप¥यो । स्पेस प्लानिङ्गपछि क्लाइन्ट, उनीहरुको इच्छा कस्तो छ, उनीहरुले चाहेको के हो ? उनीहरुले एउटा डिजाइनरलाई जिम्मा दिइसकेपछि, डिजाइनरले राम्रो गर्छ भनेर नै काम दिने हो । फस्र्टमा त क्लाइन्टले के सोचिरा’छ ? उसको बुझाइ के छ ? उसले खास खोजेको के हो ? पहिला सुरु त त्यसलाई बुझ्नु पर्छ  । त्यो बुझिसकेपछि हामीले सुरक्षामा पनि ध्यान दिनुपर्छ । जस्तो फर्निचर एकदमै गह्रौं छ तर फर्निचर राख्ने तलको भाग नै बलियो छैन भने जति नै राम्रो डिजाइनको घर बनाउन पनि त्यो गलत हुन्छ । त्यसपछि इन्टेरियर डिजाइनभित्र अर्थशास्त्रको हिसाबले पनि हेर्नुपर्छ । उसले एकदमै राम्रो डिजाइन गरेर मात्र हँुदैन । त्यसमा पछि हामी कलरमा खेल्छौँ, टेक्सरमा खेल्छौ, फर्निचर डिजानिङ्गमै हुन्छ । हामीले वास्तुशास्त्रलाई पनि ध्यानमा राखेर घर डेकोरेट गर्छौँ ।

कस्तो कोठामा कस्तो डेकोरेसन गर्दा राम्रो हुन्छ ?
कोठाको कुरा गर्नुपर्दा लिभिङ रुमलाई डिजाइन गर्नुपर्दा अहिलेको समयमा वास्तुशास्त्रमा आधारित रहेर गर्नुपर्छ । लिभिङ रुमको आवश्यकता के हो त ? नर्मल्ली सोफा, टिभी, साउन्ड सिस्टम, पोट्रेटहरु पनि परिहाल्छ । फ्लोेरिङ कस्तो छ ? फ्लोरिङ पनि अब तपाईको टायल्स राख्ने हो, पार्केटिङ्ग अथवा कार्पेट मात्र राख्ने हो कि ? त्यो पनि हेर्नुप¥यो । त्यसपछि माथि सिलिङ्ग, सिलिङ्गमा अब तपाई फल सिलिङ्ग पनि राख्न सक्नु हुन्छ सस्पेन सिलिङ्ग पनि भनिन्छ त्यसलाई, त्यसपछि लाइट्स्हरु पनि प¥यो । एउटा साइड पनि प¥यो टेबल टाइपको, लिभिङ रुममा त्यसलाई नै म्यानेजमेन्ट गरेर, त्यो अनुसारका हरेक, सोफाको कलरदेखि लिएर अनि फर्निसिङ्ग, कार्पेट कर्टेन्सहरु पनि प¥यो । त्यति सामानलाई चाँहि मिलाएर सुरक्षाको हिसाबमा, म्याचिङ्गको हिसाबमा गर्न सकिन्छ । सुत्ने कोठाको कुरा गर्नुपर्दा टाउको कहिले पनि उत्तरतिर फर्काएर सुत्नु हँुदैन । उत्तरतिर हिमाल पर्ने भएकोले हिमालबाट चिसो हावा आउँछ त्यसले टाउकोलाई असर गर्ने, टाउको दुख्ने हुन्छ ।

होला हामीमा धार्मिक विश्वास छ । हाम्रो पुर्खाले त्यो भन्दै आएकोले हामीले पनि वास्तुशास्त्र भनेर त्यही गर्दै आएको तर यो विज्ञानले पनि प्रमाणित गरेको कुरा हो । वास्तुशास्त्र अनुसार झ्याल भनेको कित पूर्वमा हुनुप¥यो, कित उत्तरमा हुनुप¥यो । किनभने पूर्वमा हुनुको कारण पूर्वबाट बिहान सूर्य उदाउँदाखेरी सूर्यको किरण झ्यालबाट छिर्दा त्यसले सकारात्मक प्रभाव पर्छ । उत्तरतिर पर्दा उत्तरमा हिमाल छ । हिमालबाट आएको चिसो हावाले कोठामा रहेको नकारात्मक हावालाई पठाइदिन्छ । कोठा गुम्सिएर रहेको छ भने पनि त्यो हावा र किरणले कोठाको वातावरण राम्रो बनाइदिन्छ र सकारात्मक प्रभाव पर्छ । वास्तुले दिए अनुसार भान्साकोठा पनि पूर्वपश्चिमतिर फर्केको हुनुपर्छ । भान्साकोठाको पनि हरेक कुरा वास्तुअनुसार मिलाएर राख्नुपर्ने हुन्छ । पूर्व फर्काएर भान्सा राख्दा, जो गृहिणी हुन्छ । उसले पूर्वपट्टि फर्किएर खाना पकाउनुपर्छ भनिन्छ । त्यसैगरी जुन भाँडा माझ्ने ठाउँ हुन्छ त्यो पनि उत्तरतिर फर्केको हुनुपर्ने भनिन्छ, किनभने उत्तरतिर हिमाल हुने भएकोले हिमालबाट पानी आउने स्रोत भएकोले उत्तरतिर हुनुपर्ने भनिन्छ । त्यो भाँडा माझ्ने ठाउँमा चाँहि झ्याल पनि हुनुपर्छ । किनभने हामीले त्यही भाँडाहरु सुकाइ राखेको हुन्छौँ । झ्याल भयो भने दुर्गन्धहरु आउँदैन । उत्तरबाट आउने हावाले त्यहाँ जमेको पानीलाई सुकाइदिएर सुख्खा बनाइदिन्छ । अनि फ्रिजहरु पश्चिमतिर राख्नुपर्छ ।

पोखरामा होम डेकोरेसन गर्ने चलन कत्तिको छ ?
पोखरामा विगतको तुलनामा अहिले घर श्रृंगार्न होम डेकोरेटरलाई जिम्मा दिने प्रचलन बढिरहेको छ । पछिल्लो क्रममा घरलाई कसरी राम्रो बनाउने भन्ने होड नै चलेको छ । जसरी कपडाले व्यक्तिको व्यक्तित्व झल्कन्छ त्यसरी नै घरको आकृतिले व्यक्तिको चरित्र निर्धारण गर्छ भन्ने भावना छ त्यसैले पनि घरलाई राम्रो आकर्षक बनाउनको लागि फेसन नै चलेकोले होम डेकोरेटरलाई बढी प्रयोग गर्ने गरिन्छ । अहिले चाँहि होम डेकोरेटर प्रयोग गरेर घर सजाउने क्रम बढिरहेको छ । किनभने घरलाई कसरी राम्रो बनाउने भनेर होम डेकोरेटरको विचारहरु पनि समेट्नुपर्छ भनेर मानिसहरुले सोच्न थालेका छन् । जसरी घर बनाउनको लागि इञ्जिनियर अहिले कम्पल्सरी भएको छ त्यसरी नै भविष्यमा राम्रो घरको लागि होम डेकोरेटरहरु पनि कम्पल्सरी हुने छ भन्ने लाग्छ मलाई ।

होम डेकोरेसनप्रति आम बुझाई कस्तो छ ?
अहिले बुझ्नेहरुले घर बनाउँदा होम डेकोरेटरलाई कम्पल्सरी जस्तो प्रयोग गर्नुहुन्छ । होटेल व्यवसायी, उच्च तहका कर्मचारी र विदेश गएर आएकाले पनि घर बनाउँदा होम डेकोरेटरलाई प्रयोग गरेको पाइन्छ । नबुझ्नेहरुको लागि भने हामीले घरघरमा गएर बुझाउने पनि गरेका छौँ । अहिले चाँहि होम डेकोरेसन फेसन मात्र नभएर आवश्यकता पनि हो ।

व्यवसायिक रुपमै होम डेकोरेसन गरेर जिविकोपार्जन हुने अवस्था छ ? नयाँ पुस्ताको आगमन कस्तो छ ?
यो व्यवसायिक हिसाबले पनि राम्रो छ । आम्दानी राम्रो हुन्छ । यो पेशा अंगालेर पैसा हुने भन्ने हँुदैन । जिविकोपार्जन गर्न सकिन्छ । नयाँ पुस्ताको आकर्षण बढ्दो छ । करियर नै सोचेर आउनेको लागि पनि यो क्षेत्र राम्रो छ ।

होम डेकोरेसन गर्दा कत्तिको महङ्गो पर्छ ? कसरी बन्ने होम डेकोरेटर ?
यो क्षेत्रमा लाग्नको लागि अध्ययन गर्नैपर्ने हुन्छ । पोखरामा चाँहि त्यसको व्यवस्था छैन । त्यसको लागि काठमाडौं जानुपर्छ । काठमाडौंमा दुईवटा कलेज छन्, कान्तिपुर इन्टरनेसनल कलेज र आइइसी छ । इच्छुक व्यक्तिले अध्ययन गर्न चाहेमा गर्न सक्नुहुन्छ । यो महङ्गो छैन । जोकसैले पढ्न सक्नुहुन्छ । यो क्षेत्रमा भविष्य छ ।

अन्त्यमा 
मानिसले होम डिजाइन गर्न महङ्गो हुन्छ, यो सामान मिलाउने त हो नि, हामी आफैले पनि गर्न सकिहाल्छौँ नी भन्ने सोंचाइ छ । त्यसो होइन्, यो महङ्गो छैन, सामान्य परिवारको मानिसले पनि यसलाई अपनाउन सक्नुहुन्छ । यो अहिले फेसन मात्र होइन आवश्यकता भइसकेको छ । त्यसैगरी घर सौन्दर्य लागि मात्र होइन, घर सुरक्षाको लागि पनि होम डेकोरेटरलाई घर डिजाइन गर्न दिनुपर्छ । हामीले फेरि वास्तुशास्त्रलाई ध्यानमा राखेर घर डिजाइन गर्ने हुनाले त्यसले घरको माहोल पनि राम्रो हुन्छ भने घरमा राखिएको सामानले परिवारका सदस्यलाई सकारात्मक प्रभाव पनि पार्छ । त्यसकारणले घर बनाइसक्नु भएको छ, त्यसमा डिजाइन भर्न चाहनुहुन्छ भने होम डेकोरेटरलाई जिम्मा दिनुहोला ।

प्रस्तुति : उमा आलेमगर


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर