• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विद्यालय छोड्नेमा आश्रित विद्यार्थी बढी

हिमाल जोशी/धनगढी । विद्यालय भर्ना अभियानको दोश्रो चरण सुरु भइरहेका बेला कैलालीका कतिपय सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थी भने स्कुल छोडन थालेका छन् । यसरी विद्यालय छाड्नेमध्ये अधिकांश अर्काको घरमा आश्रित (घरायसी कामदार) रहेर पठनपाठन गर्ने विद्यार्थी रहेको पाइएको छ ।
 
सामुदायिक विद्यालय श्रोतका अनुसार विद्यालय छोड्ने विभिन्न कारणमध्ये अर्काको घरमा आश्रित (घरायसी कामदार) रहेर पठनपाठन गर्ने विद्यार्थी बढी रहेका छन् । कामदार बालबालिका नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना हुने र विभिन्न कारणले घरबाट विस्थापित हुँदा  विद्यार्थीले बिचैमा पढाइ छोड्न बाध्य हुन्छन् । 

नेपालको संविधानले बालबालिकालाई घरायसी कामदारको रुपमा प्रयोग नगर्न भनि व्यवस्था गरेको छ । बालअधिकारले पनि घरायसी काममा बालबालिकाको प्रयोग दण्डनीय अपराध हुने उल्लेख गरेको छ । त्यसका वाबजुद पनि घरायसी कामदारका रुपमा रही कठोर शारीरिक परिश्रम गर्दै स्कुल पढ्ने विद्यार्थीको संख्या धनगढी उप–महानगरपालिका लगायत कैलालीका विभिन्न सामुदायिक विद्यालयमा उच्च रहेको विद्यालयका शिक्षक तथा कर्मचारीले बताएका छन् । अर्काको घरमा आश्रित रही अध्ययन गर्ने विद्यार्थीले नै बिचैमा स्कुल छोड्ने गरेको सामुदायिक विद्यालयका शिक्षक बताउँछन् । 

धनगढीस्थित शारदा मावि वैयावेहडीमा गत शैक्षिक सत्रमा मात्रै एक सय जनाभन्दा बढी विद्यार्थीले बिचैमा विद्यालय छोड्दा ९० प्रतिशत विद्यार्थी अर्काको घरमा आश्रित रहेका प्रधानाध्यापक तेजबहादुर सिंहले बताए । उनका अनुसार यस वर्ष पनि ६० जनाभन्दा बढी विद्यार्थी अर्काको घरमा आश्रित रहेर विद्यालयमा पठनपाठन गरिरहेका छन् । 

यसैगरी राष्ट्रिय मावि उत्तरवेहडीमा पनि बिचैमा पढाइ छोड्नेमध्ये अघिकांश विद्यार्थी अर्काको घरमा आश्रित रहेको जनाइएको छ । विद्यालयका शिक्षक खेमराज भट्टका अनुसार राष्ट्रिय माविमा मात्रै यस्ता विद्यार्थीको संख्या १० प्रतिशतसम्म रहेको अनुमान गरेका छन् । गत वर्ष बिचैमा कक्षा छोडेका १ सय १० जना विद्यार्थीमध्ये पनि अधिकांश आश्रित विद्यार्थी भएको अनुमान विद्यालयले गरेको छ । शिक्षक भट्टका अनुसरा बिचैमा विद्यालय छोड्ने विद्यार्थीमध्ये पनि ९० प्रतिशत घरेलु कामदारका रुपमा कार्यरत् विद्यार्थी हुने गरेका छन् । अर्काको घरमा आश्रित रहेर अध्ययन गर्ने विद्यार्थीलाई घर धनीले कामबाट निकाल्दाको अवस्था होस् वा विद्यार्थी आफै काम छोडेर हिड्दा उसले स्कुल छोड्नुपर्ने बाध्यता हुने गरेको भट्टले बताए ।
 
कामदारका रुपमा विद्यार्थीलाई नराखभन्दा अभिभावकबाट नै धम्की आउने गरेको त्रिभुवन उच्च मावि बोराडाँडीका प्रधानाध्यापक सिताराम अवस्थीले बताए । विद्यालयमा अझै पनि ५ देखि १० प्रतिशत विद्यार्थी अर्काको घरमा आश्रित रहेर पठनपाठन गरिरहेका हुनसक्ने अनुमान प्रधानाध्यापक अवस्थीको छ । उनका अनुसार घरायसी कामदारका रुपमा अध्ययनरत् विद्यार्थीमध्ये केहीले भने साउनमै विद्यालय छोडिसकेका  छन् । गतवर्ष पनि विद्यालयबाट १ सयभन्दा बढी विद्यार्थीले बिचैमा कक्षा छाडेका थिए । ‘विद्यालय छोड्नेमा अधिकांश अर्काको घरमा आश्रित घरेलु कामदार विद्यार्थी परेका छन्,’ प्रधानाध्यापक अवस्थीले भने– ‘शैक्षिक सत्रको अन्त्यसम्म पुग्दा यस्ता बालबालिकामध्ये ९० प्रतिशत विद्यार्थीले विद्यालय छोडिसकेका हुन्छन् ।’
  
यसबाहेक सडकमा ठेला व्यवसाय गरेर गुजारा गर्ने अभिभावक एक ठाउँबाट अर्को ठाँउमा सर्दा पनि बालबालिका बिचैमा विद्यालय छोडेर जान बाध्य हुने गर्दछन् । ‘अभिभावकले एक ठाउँबाट अर्को ठाउँमा ठेला व्यवसाय गर्दा विद्यार्थीले पनि आमाबुबासँगै जानुपर्ने हुन्छ,’ त्रिनगर उमाविका प्रधानाध्यापक भुपाल खड्काले भने– ‘जसका कारण विद्यार्थी बिचैमा विद्यालय छोड्न वा लामो समय अनियमित हुने गर्दछन् ।’ 

आर्थिक अवस्था न्यून भएका परिवारिक वातावरणमा घरायसी काममा सघाउनुपर्ने बाध्यताका कारण विद्यार्थी कक्षामा नियमित हाजिर हुन नसक्ने समस्या पनि देखिएको धनगढी नमुना माविका प्रधानाध्यापन लक्ष्मणदत्त भट्टले जानकारी दिए । कतिपय अवस्थामा विद्यार्थी विद्यालय नै छोडेर पनि अभिभावकसँगै ज्याला मजदुरीमा जाने गरेका प्रधानाध्यापक भट्टले बताए । आर्थिक अवस्था न्यून हुँदा यस्तो समस्या देखापर्ने गरेको उनको भनाई छ ।

जिल्ला शिक्षा कार्यालय कैलालीले गतवर्ष गरेको शिक्षा अध्ययनलाई आधार मान्दा सरकारी विद्यालयमा अध्ययनरत् ७० दशमलव ५२ प्रतिशत विद्यार्थीका अभिभावक ज्याला मजदुरी गर्ने गर्दछन् । केही समयअघि कैलालीका विभिन्न सामुदायिक विद्यालयमा गरिएको अध्ययन अनुसार ७० दशमलव ५२ प्रतिशत अभिभावक मजदुरी गरेर बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने गर्दछन ।

सो क्रममा ३२ हजार ६ सय २९ विद्यार्थीका अभिभावकमाथि अध्ययन गरिएको थियो । जसमा २० हजार ७ सय ९८ परिवार मजदुरी गर्ने गरेको पाइएको थियो । यस्तै ५ हजार ६ सय ७७ विद्यार्थी घरेलु कामदारका रुपमा काम गरेर पठनपाठन गर्ने गरेको सो अध्ययनले देखाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने सम्बन्धित निकायसँग बुझेर घरायसी कामदारका रुपमा प्रयोग गरिएका बालबालिकाको पक्षमा निर्णय गरिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने– ‘घरायसी कामदारका रुपमा अझै पनि बालबालिकाको प्रयोग हुँदा रहेछन्, त्यस विषयमा पनि सम्बन्धित निकायसँग छलफल गरी उचित निर्णय गर्ने छौ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर