• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सुत्केरीको मृत्यु भएको विरोधमा अस्पतालमा तनाव 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसीनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एक जना सुत्केरीको मृत्यु भएको छ । आठ महिनाको गर्भवती २५ वर्षीया सगिरा खातुनको शल्यक्रिया गरेर नवजात शिशुलाई जन्म दिएपछि मृत्यु भएको हो । आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । 

गर्भवती महिलालाई अचानक पेट दुख्न थालेपछि उपचारका लागि साउन १७ गते अस्पताल लगिएको मृतकका काकाससुरा रहमल मियाँले जानकारी दिए । सोही दिन शल्यक्रिया गर्दा सामान्य पेट दुखेको बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले विहिवार अस्पतालको सेवा ठप्प पारेका हुन् । उनीहरुले उपचारमा लापरबाही गर्ने चिकित्सकहरुमाथि कारबाही हुनुपर्ने माग गरिरहेका थिए । अस्पताल परिसरमा ठूलो भिड जम्मा भएपछि सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो ।  

अस्पतालको स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ डा. हनुनी पी पोखरेलको टिमले सगिराको उपचार गरेका थिए । अस्पतालका व्यवस्थापक अरविन्द मण्डलले विरामीलाई इन्फेक्सन भएको र त्यसले बच्चा र आमा दुवैको अवस्था खतरामा गएको दावी गरेका छन् । उनले भने ‘विरामी भएकी खातुनलाई ‘एक्मसिया’ देखिएको र त्यस्तो अवस्थामा शल्यक्रिया गर्नै पर्ने हुन्थ्यो नत्र आमा र बच्चा दुवैको मृत्यु हुने खतरा हुनसक्थ्यो ।’ उनले चिकित्सकहरुको अथक प्रयासबाट पनि आमालाई बचाउन नसकेको दावी गरे ।  

मृतक परिवार र अस्पताल प्रशासनबीच सहमतिका लागि वार्ता भए पनि निष्कर्शमा पुगेको छैन । मृतकका परिवारले छानविन गरेर चिकित्सकलाई कारवाही गर्नु पर्ने शर्त अघि सारेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर