नार्कले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन सकेनन्

काठमाडाैं । मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । 

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ । नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बीउ उपलब्ध गराए पनि बालीका लागि चाहिने प्रविधि र ज्ञान दिन नसकेको बताए ।

किसानले मल र सिँचाइ समयमै पाए उत्पादन दोब्बर लिन सक्ने उनकाे भनाइ छ । अहिले राष्ट्रिय उत्पादन २.४ मेट्रिक टन भएकामा त्यसलाई दोब्बर गर्न किसानलाई आवश्यक कुरा उपलब्ध गराउनु पर्ने उनकाे भनाइ छ । उनले भने, “सम्बन्धित सबैले किसानका लागि आवश्यक कुरा उपलब्ध गराउन ध्यान दिनुपर्छ । किसानले वर्षेनी मलको समस्या भोग्दै आएका छन् । कतिपय किसानले युरिया मल पाइने आशामा समयमै बाली लगाउँछन् । किसानले मल हाल्न नपाएका धेरै घटना छन् ।” 

नार्कले धान, मकै, गहुँ लगायतका बालीका उन्नत जातको विकास गर्दै आएको छ । कतिपय स्थानीय जातलाई समिश्रण गराएर तथा कतिपय बीउ अन्य मुलुकबाट ल्याएर नार्कमा उत्पादन र रोग प्रतिरोधी क्षमता परीक्षण गरी किसानका लागि सिफारिश गर्ने गरिएको छ । नार्कले पहिले आफ्नो खेतबारीमा बीउ रोपेर परीक्षण गर्छ । त्यसमा राम्रा गुण पाए मात्र सिफारिशको प्रक्रिया अघि बढाउँछ ।

नार्क अन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली यहाँको खेतमा छ टनसम्म फल्ने बीउ किसानका खेतमा पुग्दा तीन टन हाराहारीमा मात्रै उत्पादन दिएको बताउँछन् ।  देशभर ८५ प्रतिशत धान, ९७ प्रतिशत गहुँ र ८५ प्रतिशत मकैको बीउ नार्कले विकास गरेको उन्नत बीउ किसानले प्रयोग गर्दै आएको नार्कको तथ्याङ्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर