• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रचण्ड किन जाने लागे भारत ?

भारतबाट फर्किएपछि चीन जाने

काठमाडौं । सरकारबाट बाहिरिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक छिमेकी भारत भ्रमणमा निस्कन लागेका छन् । भारतीय दुतावासको लामो प्रयासपछि प्रचण्डको भारत भ्रमण तय भएको हो । नयाँ राजनीतिक समिकरण तयार भएपछि श्रीमती सीता दाहालको उपचारमा सिंगापुर गएयता प्रचण्ड विदेश गएका छैनन् । 

अध्यक्ष प्रचण्ड सेप्टेम्बर ७ तारिख (भदौ २२) गते भारत गएर २७ तारिखमा नेपाल फर्कने कार्यक्रम तय भएको प्रचण्डको नीजि सचिवालयले समाचार दैनिक डटकमलाई जानकारी दिएको छ । भारत म्रमणका क्रममा अध्यक्ष प्रचण्डले नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाउने छन् । भारतबाट नेपाल फर्किएकाे एक साता नवित्दै सेप्टेम्बर १७ तारिख (असोज १)मा उनि उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कन लागेका हुन् ।

यसअघि भारत र चीन दुवैतर्फबाट प्रचण्डलाई भ्रमणको निम्तो आएको थियो । चीन भ्रमणको मिति समेत तय भएपनि पहिला भारत जाने तयारीका कारण चीन भ्रमणको मिति पछि सारिएको श्रोतको दावी छ । एक साता अघि भारत भ्रमणको मिति तय भपछि चीन भ्रमणको पनि तालिका सार्वजनिक भएको हो ।

भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग भेटवार्ता गर्ने तय भएको छ । मोदीको नेपाल भ्रमणकै क्रममा प्रचण्डलाई मोदीले भारत भ्रमणको मौखिक निम्तो दिएका थिए । नेपालले लामो राजनीतिक कोर्ष पुरा गरेकाले अब विकासको बहस गर्न प्रचण्डलाई मोदीले बोलाएको र सोही अनुसार भ्रमण तालिका तय गरेर प्रचण्ड भारत जान जागेका हुन् ।

चीनले पनि प्रचण्डलाई भ्रमणको औपचारिक निम्तो केही समय अघिनै पठाएको थियो । चीन भ्रमणका क्रममा एक साता त्यहाँ बस्ने तयारी गरेका प्रचण्डले प्रधानमन्त्री लि खछ्याङ लागयतसँग भेटवार्ता गर्नेछन् । यसअघि प्रधानमन्त्री खछ्याङसँग भेटगर्ने समय तालिका नमिलेका कारण प्रचण्डको चीन भ्रमण पछि सरेको थियो ।

भारत र चीनको भ्रमणपछि प्रचण्ड उत्तर कोरिया समेत जान सक्ने संभावना रहेको छ । नेपालस्थित उत्तर कोरियाका राजदुतले केही समय अघि अध्यक्ष प्रचण्डलाई भेटेर उत्तर कोरियाको स्थापना दिवस सेप्टेम्बर ९ मा भ्रमणको औपचारिक निम्तो दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर