• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गरीब तथा विपन्नको निःशुल्क उपचार

बुटवल । बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा एक हजार १ सय ५९ गरीब तथा विपन्न वर्गका बिरामीले निःशुल्क उपचार गराएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा निःशुल्क सेवाका लागि सरकारबाट प्राप्त सहयोग र अस्पताल आफैँले उपलब्ध गराएको निःशुल्क सेवाबाट बिरामीले सो सुविधा प्राप्त गरेका हुन् । 

निःशुल्क उपचारका लागि मुटु र मिर्गौलाको उपचारमा सरकारले उपलब्ध गराउँदै आएको सहयोग र अस्पतालबाट गरी ६ करोड ९९ लाख ८९ हजार ४०६ बराबरको खर्च व्यहोरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अस्पतालले आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीलाई निःशुल्क उपचार गर्दै आएकामा ५ सय १६ जनाले सो सुविधा उपभोग गरेका थिए । 

मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएकामा सबैभन्दा धेरै ३ सय ३१ मिर्गौलाका बिरामीले चार करोड, सात लाख ५२ हजार ५०० बराबरको नियमित डायलाइसिस सेवा लिएको अस्पतालले जनाएको छ । त्यस्तै ३ सय १२ जना मुटुका बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिएका छन् । मुटुका बिरामीका लागि दुई करोड, २४ लाख ९४ हजार २ सय ११ बराबरको निःशुल्क उपचार बापत खर्च गरिएको अस्पतालले जनाएको छ । २०७० सालमा स्थापना भएको उक्त अस्पतालमा मुटुको क्याथल्याब सेवासहित १७ वटा डायलोसिस उपकरण सञ्चालित छन् । 

स्थानीय उद्योगी तथा व्यवसायीको सक्रियतामा गैरनाफामुखीरुपमा सञ्चालनमा आएको सो अस्पतालमा पछिल्लो समय विभिन्न रोटरी क्लबमार्फत रोटरी फाउण्डेसनले सहयोग उपलब्ध गराउँदै आएको छ । बुटवलमा विशेषज्ञ सेवासहितको क्लाथल्याब सञ्चालनमा आएपछि मुटुको एन्जियोग्राम, एन्जियोप्लास्ट र पेशमेकर राख्ने कार्यका लागि थोरै भए पनि बुटवल बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर