काउन्सिलमा चन्द्रश्यामका प्रस्तरमूर्ति 

काठमाडौं । ग्यालरीको ढोका छिर्नेबित्तिकै सिंहको ढुंगेमूर्तिले आगन्तुकलाई स्वागत गरिरहेको छ । नेपाली कला इतिहासमा निकै महत्व राख्ने लिच्छवीकालीन शैलीमा युवा मूर्तिकार चन्द्रश्याम डंगोल–४०, ले तयार पारेका मूर्तिको मंगलबारबाट १० दिने प्रदर्शनी सुरु भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनीले लिच्छवीकालमा बनेका विभिन्न देवदेवीका मूर्तिको झल्को दिने गरी चन्द्रश्यामले बनाएका प्रस्तरमूर्तिले दर्शकलाई प्राचीन कालतिर डोर्याउँछ । ‘इनहेरिटेन्सः दी ट्रेडिसनल स्टोन स्कल्पचर’ शीर्षकको उनको एकल प्रदर्शनीमा १९ मूर्ति राखिएका छन् ।

नेपाली परम्परागत तथा समसामयिक मूर्तिकलामा अब्बल कलाकारको रुपमा चिनिएका चन्द्रश्यामले साढे दुई दशकको कला यात्रामा निकै काम गरिसकेका छन् । परम्परागत मूर्तिकलामा भने उनले औपचारिक शिक्षा लिएका छैनन् । आफ्नै मिहिनेत र लगनले उनले यस क्षेत्रमा आफुलाई अब्बल कलाकारको रुपमा स्थापित गर्न सफल भएका हुन् ।

ललितपुरको खोकनाका चन्द्रश्यामले सानै उमेरदेखि मूर्तिकलाप्रति लागे । आफ्नो कलायात्राका क्रममा झन्डै हजारभन्दा बढी प्रस्तर मूर्ति बनाइसकेको उनले बताए । नेपालमा लिच्छवीकाललाई कलाका दृष्टिले स्वर्ण युग मानिन्छ । यही बेला बनाउने मूर्तिकला शैलीप्रति झुकाव भएका चन्द्रश्यामले भने, ‘मलाई सानैदेखि लिच्छवीकालीन मूर्ति बनाउने सोख हो । मैले मेरो सोखलाई झन्डै आधा दशकभन्दा बढी समयमा साथीको सहयोगमार्फत प्रदर्शनीका लागि मूर्ति बनाएको हुँ ।’ 

लिच्छवीकालमा बनेका मूर्तिमा राम्रो शिल्पी र राम्रो सोच रहेको उनले जनाए । उनले भने, ‘मैले पनि सकारात्मक सोच राखेरै लामो मिहिनेतका साथ मूर्ति तयार पारेको हुँ । मैले बनाएको मूर्ति हेरेर अहिलेको पुस्ताले पनि हौसला पाओस् भन्ने आशा पनि राखेको छु ।’ प्राचीनकालीन झल्को दिने प्रदर्शनीमा गणेश, सिंह, मञ्जुश्री, सुकुण्डा, छोर्तेन, लक्ष्मी, स्तुपा, गरुडदर्शन विष्णु, कुवेर, लोकेश्वर, बुद्ध जीवनी, पानस, बौद्ध स्तुपा लगायतका मूर्ति राखिएको छ । 

चन्द्रश्यामले बनाएको १८ फिट लामोा मैत्रेय बुद्धको मूर्ति बारामा प्रतिस्थापन गरिएको छ । त्यस्तै उनले चोभारमा ३५ फुटको मञ्जुश्रीको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदर्शनी असार १४ गतेसम्म चल्नेछ । चन्द्रश्याम परम्परागत मूर्तिकलालाई शैक्षिक रुपमा समेत विकास गरिनुपर्दछ भन्ने मान्यता राखेर सिर्जना कलेज अफ फाइन आर्टस्मा अध्यापन कार्यमा संलग्न छन् । त्यस्तै उनले परम्परागत मूर्तिकलाका माध्यमले नेपाललाई चीनसँग जोड्नका लागिपरेका छन् । 

उनले चार वर्षभन्दा बढी समय चीनका कलाप्रेमीलाई नेपाली मूर्तिकलाका बारे विभिन्न कार्यक्रममार्फत जानकारी दिन भ्याएका छन् । यसअघि उनले चीनको सुजउ आर्ट एन्ड डिजाइन टेक्नोलोजी इन्स्टिच्युटमा एकल प्रदर्शनीसमेत गरिसकेका छन् । 

हाल चन्द्रश्यामले खोकना स्टोन कार्भिङमार्फत आफ्नो कलाकर्मलाई अगाडि बढाइरहेका छन् । मूर्तिकला विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनले काठमाडौंको चोभारमा ढुंगामा बनाउन लागेको मञ्जुश्रीको मूर्तिको काम अन्तिम चरणमा पुगेको छ । कीर्तिपुरको जलविनायक सामुदायिक वन परिसरमा बनाउन लागिएको उक्त मूर्ति २०६६ सालमा निर्माणका लागि पहिला नमुनाका रुपमा मैन, माटो, काठ तथा ढलौटको बनाइएको थियो । नमुना परीक्षणपछि मात्र प्रस्तरमा बनाइएको हो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर