• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अब नेपाल फेस्टिवलमा भेटौँला !

टोकियो । पढाइको सिलसिलामा जापान आएका पर्वतका रविन शर्मा यसपाली ४ जनाभन्दा बढी साथी लिएर फेस्टिवलमा आउनुहोला भन्दै निम्तो बाँडिरहेका छन् । उनका अनुसार काम गर्ने ठाउँका जापानी र पढ्ने ठाउँका शिक्षकलाई निम्ता दिइसके । उनका शिक्षक र काम गर्ने ठाउँका जापानी मात्र होइन सँगै पढ्ने म्यानमारका र भियतनामका साथीलाई समेत उनले फेस्टिवलमा बोलाएका छन् । उनीहरु नेपाली खाना चाख्न र नेपालको संस्कृति हेर्न आउने शर्माले बताए । प्रायः टोकियोमा नेपाल फेस्टिवल अगष्ट महिनामै हुने गर्दछ । जापानमा प्रत्येक वर्ष जस्तै जापानी नागरिकलाई नेपालमा स्वागतको निम्तो दिँदै नेपालको पर्यटन विकासमा सहयोग गर्न आयोजना हुने नेपाल फेस्टिवल यो वर्ष अगष्ट २५ र २६ मा हुँदैछ । 

टोकियोको कोमाजावा ओलम्पिक पार्कमा हुने फेस्टिवलको तयारीमा आयोजक व्यस्त छन् । निमन्त्रणा, स्वागत, स्टल वितरण, व्यवस्थापन, सरसफाइ, स्वयंसेवक छनोट, प्रचार प्रसारमा आदिमा उनीहरु निकै खटेका छन् । प्रायः रेलका डिब्बामा भेटिने नेपालीका फोन वार्तामा पनि ‘अब फेस्टिवलमा भेटौला’ फेस्टिवलको दिन बिदा राख है ‘ यस्तै कुराकानी सुनिन्छन् । साथै फेसबुकका भित्ता पनि फेस्टिवलको मेला लागेजस्तै निम्तो र भेटघाटका पोस्टले रंगिएका छन् । रेस्टुरेन्टमा पोस्टर टाँसिएको भेटिन्छ भने रेल स्टेसनमा पम्पेलट र पर्चा बोकेर निम्तो बाँड्न प्रायः नेपाली जुटिरहेका छन् । 

विगतका वर्षमा नेपाली राजदूतावास सहयोगी हुने गरे पनि यो वर्ष एनआरएनए जापान र राजदूतावास टोकियो आयोजकका रुपमा छन् । जापानमा पछिल्लो समय नेपालीहरु बढे सँगैँ नेपालबारेमा चासो र चिन्तन गर्ने जापानीहरु पनि बाक्लिँदै छन् । जापानमा बसोबास गर्ने नेपालीका लागि फेस्टिवल एउटा चाड जस्तै हुने गर्दछ । प्रायः व्यस्त रहने कामदार विद्यार्थी, व्यवसायीहरु, फेस्टिवलकै दिन साथीभाइ भेट्ने रमाउने खानपान गर्ने दिन कुरिरहेका हुन्छन् । नेपाली मात्र होइन जापानीहरु पनि विभिन्न थरिका नेपाली खाना एकै ठाउँ पाइने र कला संस्कृति हेर्न पाउने भएर फेस्टिवलकै दिन कुरिरहेका देखिन्छन् । फेस्टिवलमा नेपाली खानाका स्टल मात्र होइन नेपाली नाँच, बाजा, संस्कृति आदिले नेपाली झल्को दिन्छ । नेपाली पोशाकमा सजिएका नेपालीको भिडले नेपालमै पुगेजस्तै अनुभूति दिलाउँछ ।

यसपालीको नेपाल फेस्टिवलमा नेपाल आइडलका तीन उत्कृष्ट बुद्द लामा, निशान भट्टाराई र प्रताप दासको प्रस्तुति रहेकाले नेपालीको भिड बाक्लो देखिने फेस्टिवल मुल आयोजक समितिका संयोजक देविलाल भण्डारीले बताउँछन् । साथै जापानी कलाकारको पनि प्रस्तुति रहने जनाइएको छ । जापानमा हुने फेस्टिवलले नेपालीको पहिचान मात्र होइन जापानीले नेपाल र नेपालीका बारेमा बुझ्न र नजिकबाट जान्ने अवसर पाउँछन् । 

फेस्टिवलमा हुने जमघट परदेशीमा बस्नेका लागि भेटघाट गर्ने सुनौलो अवसर पनि हो । यसको उद्देश्य भनेकै नेपालीमार्फत धेरै जापानीलाई नेपालको बारेमा सुनाउन र बुझाउनु रहेको बताउँछन् एनआरएनए जापानका अध्यक्ष टासी लामा । जापानमा काम गर्ने विद्यार्थी कामदार व्यवसायी प्रत्यक्षरुपमा धेरै जापानीसँग बोलचाल र हिड्डुल हुने भएकाले सहभागिता र निम्तोको लागि राम्रो अवसर पनि हो ।

त्यसैले नजिकका चिनजानेका जापानीलाई पनि फेस्टिवलसम्म ल्याउन सक्ने माध्यम जापानका नेपालीबाहेक अरु हुन सक्दैनन् । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरेको छ । पर्यटकलाई नजिकबाट निम्ता दिन सकिने यस्तै अभियानहरु चलाउन जरुरी देखिन्छ । 

प्रत्येक वर्ष हुने यो फेस्टिवलमा जापानमा रहेका सबै नेपालीलाई सहभागिता गराउन सक्नु पनि एकताको सन्देश हुन सक्नेछ । तर पछिल्लो समय नेपाल घुम्न चाहना गर्ने जापानी पनि थुप्रै भेटिन्छन् । उनीहरुसम्म पनि सूचना र जानकारी  दिन सकियो भने नेपालको पर्यटन क्षेत्रमामहत्वपूर्ण योगदान हुन सक्छ । जापानमा हुने नेपाल फेस्टिवल नेपालको पर्यटन प्रबर्धन र  विकासको एउटा माध्यम बन्न सक्ने विश्वास लिन सकिन्छ । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर