• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आशा जगाउन कहाँ चुक्यो सरकार ?

सन् २०१८ को विश्वकपमा क्रोएसिया कि राष्ट्रपति कोलिण्डा ग्राबर कित्रभिचले धेरै मानिसको मन जितिन् । संसारका प्रायः सबै मिडियाले उनको बारेमा सकारात्मक समाचार संप्रेषण गरे ।  उनले गरेको काम सामान्य नै थियो । तर, उनी खेल हेर्न आउँदा आफ्नै पैसामा  हवाइजाहजको इकोनोमी क्लासको टिकट कटेर आइन् । देशका खेलाडीले लगाउने जर्सी पहिरिएर दर्शकदीर्घामा समर्थकसँगै बसेर खेल हेरिन् । 

यही व्यवहारका कारण उनी संसारभर चिनिइन् । सकारात्मक उत्पे्ररणाका लागि धेरै ठूलो काम नै गर्न जरुरी हुन्छ भन्ने रहेनछ । उनले यही कुरो प्रमाणित गरिन् । 

अहिले नेपालमा दुईतिहाई बहुमतको बलियो सरकार छ । स्वप्नद्रस्टा र राष्ट्रवादी प्रधानमन्त्रीको छवि बनाएका नेताले सरकारको नेतृत्व गरेको अवस्था छ । तैपनि नेपाली समाजले अनुभूति गर्ने तहमा उत्पे्ररणा प्राप्त गरेको देखिदैंन किन भन्ने जिज्ञासा उठिरहेको छ । 

अहिले सरकारले कर बृद्धिको आलोचनाको मार खेपिरहेको छ । आफूले बढाएको कर कति हो ? बढेको भनि हल्ला गरिएको कति हो ? कर राजश्व र गैरकर राजश्वमा भएको फेरबदल कति हो ? भन्ने बारेमा र स्थानीय सरकारले लगाएको करका बारेमा सरकारको ठोस धारणा आएको छैन । यसले आम जनतामा संशय उत्पन् गराएको छ ।

यो आर्थिक वर्षमा संघीय सरकारले ९ खर्ब ४५ अर्ब ५५ करोड राजश्व उठाउने लक्ष्य राखेको छ ।  गत वर्षको तुलनामा २ खर्ब १५ अर्ब अर्थात् ३४ प्रतिशत बढी राजश्व र कुल ग्राहस्थ उत्पादनको ३१.४४ प्रतिशतको महत्वकांक्षी राजश्व लक्ष्य लिएको छ । 

लेखक

स्थानीय सरकारले कुखुराको अण्डादेखि गोलभेडासम्म, जन्मदेखि मृत्युसम्मका विविध सामाजिक, सांस्कृतिक लगायतका विषयमा कर लगाएका वा बढाएका छन् । यसरी बढाएको कर जायज हो भन्ने आधार स्वयं कर लगाउने स्थानीय तहले दिन सकेका छैनन । 

हिजोसँगै सडकमा गोली थाप्न हिडेका सहयोद्दा आज सरकारमा पुग्नेबित्तिकै पूरै बदलिएका छन् । तिनीहरु जनताको सेवक नभइ मालिक रुपमा बदलिएको अनुभूति जनतालाई भइरहेको छ । जनताले तिरेको करबाट संकलन भएको राजश्वको सही ढंगले परिचालनभन्दा पनि दुरुपयोग नै बढी भएको जनगुनासो छ । यो बुझाइ धेरै हदसम्म सत्यको नजिक पनि छ । आज करको विषयमा सरकार र जनताबीचको दुरी बढनुमा यही बुझाइले काम गरेको छ । 

राज्य सञ्चालनका निम्ति कर संकलन नागरिकको दायित्वको अनिवार्य विषय हो । तर, यसलाई उत्पे्ररणाविनाको करकापको विषय बनाइयो भने यो प्रतिउत्पादक हुनेछ । सन् १९९७÷९८ मा दक्षिण कोरियाको अर्थतन्त्र संकटमा पर्यो । सरकारले जनतालाई अपिल गर्यो कि हामीसँग सुनको मौज्जाद सकियो । जनताले देशको संकट टार्न ९८ टन सुन सरकालाई दान दिए । आज कोरियाली बुद्दिजीवि गर्वका साथ भन्छन्– ‘देश र जनताप्रति प्रतिबद्ध नेता र नेता र देशप्रति प्रतिबद्ध जनता नै कोरियाको प्रगतिको आधार हो ।’ 

सन् १९९९ देखि २०१३ सम्म भेनेजुएलाका राष्ट्रपति बनेका ह्युगो चाभेजको कार्यकाल भरि आर्थिक बृद्धिदर औसत ४ प्रतिशतभन्दा बढी थिएन । तर, भेनेजुयाली जनता खुसी थिए किनकी उनले सत्तामा रहँदा पनि जनतालाई साम्राज्यवाद विरोधी मोर्चा र देश निर्माणमा निरन्तर परिचालन गरिरहे ।

अहिले नेपालमा दुईतिहाइ मत प्राप्त गरेका बलियो र स्थायी सरकार छ । सरकार बलियो छ, तर सरकार स–साना कुरामा अल्झिएको छ । पाँच महिनाको छोटो अवधिमा धेरै गर्न संभव हुँदैन थियो नै तर केही हुँदैछ भन्ने सकारात्मक आभास जनतामा जगाउन सक्नुपथ्र्यो । 

हाम्रो जस्तो देशमा उत्प्रेरणा जगाउन धेरै गर्नु पनि पर्दैन । आजदेखि म स्वदेशी वस्तु पाएसम्म विदेशी वस्तुको प्रयोग गर्दिन भनेर नेता र प्रशासकले अभियान चलाउने हो भने यसले आयात प्रतिस्थापनमा ठूलै मद्दत पुग्छ । यसले स्वदेशी उत्पादकको मनोबल कति बढ्छ होला ! शिरदेखि पाउँसम्म विदेशी सामान पहिरिएर आयात प्रतिस्थापन गर्छु भनेर भाषण ठोकेर मात्र आयात घट्ला र ? 

सन् १९९१ देखि १९९८ सम्म क्युवामा ठूलो आथिक संकट आयो । खाद्यन्न संकट चर्को थियो । त्यो टार्न फिडेल क्यास्त्रोले एक घर एक करेसाबारीको अपिल गरे । त्यसले गर्दा आज पनि क्युवाको राजधानी हवानामा प्रत्येक घरमा एउटा करेसाबारी छ । नेतादेखि जनतासम्मले करेसाबारी वा कौसीमा धेरथोर तरकारी लगाउँदा मात्रै पनि अर्बौ रुपैयाँ जोगिने अवस्था छ । 

सदाचार र सुशासनको हालत झनै खराब छ । औपचारिक तथा विधि र प्रक्रियामा गर्नुपर्ने काम सकभर नहुने र भएमा पनि ढिलासुस्ती हुने प्रचलन नेपालमा छ । यस्ता काम गर्नुपर्ने अवस्थामा व्यक्तिगत सम्बन्धले मात्रै काम हुने संस्कार संस्कृतिको रुपमा विकास भएको छ । यो प्रवृत्ति सामान्य उपचारले निको नहुने चरणमा पुगिसकेको छ । 

समग्रमा सरकारको ५ महिना लामो अवधि हैन । यो छोटो अवधिमा पनि सरकारले जनतामा केही हुँदैछ भन्ने आशा र उत्प्रेरणा जगाउन सक्नु पर्दथ्यो । यसमा भने सरकार चुकेको देखिन्छ । 
  
   
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर