• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

एसियाली खेलकुदः तेक्वान्दोको पुम्सेका सबै स्पर्धामा नेपाल पराजित 

काठमाडौं । इण्डोनेसियामा शनिबार उद्घाटन भएको १८औं संस्करणको एशियाली खेलकुद अन्तर्गत आइतबार तेक्वान्दोको पुम्से विधामा नेपाली खेलाडीहरु पराजित भएका छन् ।

महिला पुम्से तर्फ नेपालकी पार्वती गुरुङ चाइनिज ताइपेइकी लियाओ बेनसुआनसँग पराजित भइन् ।  पुरुष पुम्सेका कमल श्रेष्ठ चाइनिज ताइपेइकै चेङ चिङसँग पराजित भए ।

त्यस्तै महिला टिम पुम्सेमा पनि नेपाली टोली चाइजिन ताइपेइसँग क्वार्टरफाइनलमा पराजित भयोे । यो विधामा अन्तिम १६ मा उज्वेकिस्तानले वाकओभर दिएपछि नेपाल क्वार्टरफाइनलमा पुगेको थियो ।
एसियाली खेलकुद अन्तर्गत नेपालले आइतबारनै फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ । 

उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार पाकिस्तानको सामना गर्नेछ । अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । नेपाल जस्तै अघिल्ला दुई खेलमा पाकिस्तान पनि पराजित भएकाले आज उसका लागि पनि नेपाललाई हराउँदै प्रिक्वाटरफाइनलको बाटो तय गर्ने ध्यान हुनेछ । 

आइतबारनै नेपालले ब्याडमिन्टन तर्फ पुरुषको टिम इभेन्टसमा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् । यस्तै महिला टिम इभेन्टसमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन् ।

फेन्सिङ तर्फ महिलाको साब्रे ब्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिष्पर्धा गर्नेछिन् । 
यस्तै पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिष्पर्धा गर्नेछिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर