• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान 

काठमाडौं । साहित्य सन्ध्याले प्रदान गर्दै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रगतिशील लेखक तथा सामाजिक अभियान्ता आनन्दराम पौडेललाई प्रदान गरिएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा आनन्ददेव भट्टले ‘साहित्य सन्ध्या–कृवा’ सम्मान आयुर्वेद चिकित्सामा उच्च शिक्षा हासिल गरी लामो समयदेखि प्राध्यापन गर्दै आएका प्राडा देवबहादुर रोकालाई पहिलोपटक प्रदान गरे । 

त्यस्तै डा मदनप्रसाद एवं नर्मदेश्वरी सत्यालद्वारा स्थापित ‘साहित्य सन्ध्या–मन’ पुरस्कार तथा सम्मान विपन्न परिवारमा जन्मेकी काभ्रेकी ११ वर्षीया नेहा तामाङलाई प्रदान गरियो । ‘साहित्य सन्ध्या–मन’ पुरस्कारबाट यसअघि डा लक्ष्मीकान्त मिश्र, सुश्री सुमिना राना मगर, प्रा आनन्ददेव भट्ट, डा काशीराज सुवेदी र सुश्री सविता रानाले पाइसकेका छन् ।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ बाट जनगायक जेवी टुहुेर र रायन, राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपाल, साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुक र श्यामल तथा लेखक हरिगोविन्द लुईंटेललगायत ३५ स्रष्टा सम्मानित तथा पुरस्कृत गरिसकिएको सन्ध्याले जानकारी दियो ।

कार्यक्रममा प्रा डा रोकाले यस सम्मानले आयुर्वेद चिकित्सालाई आधुनिक चिकित्साको भरपर्दो विकल्पका रुपमा स्थापित गराउन थप हौसला मिलेको बताए । प्रा भट्टले मुलुकको राजनीतिक, सामाजिक अवस्थामा परिवर्तन भए पनि सांस्कृतिक परिवर्तन नहुँदा मुलुक समृद्ध हुन नसकेको बताउँदै भने, ‘सांस्कृतिक रुपान्तरणविना समाज परिवर्तन हुन सक्दैन ।’ 
पुरस्कारले आफूलाई समाज र जनताका पक्षमा अझ उत्प्रेरित भएर लाग्ने प्रेरणा मिलेको प्रगतिशील स्रष्टा आनन्दराम पौडेलले बताए ।

नेपाली समाजका विभिन्न खाले विभेदका विरुद्ध साहित्य सन्ध्याले सिर्जनात्मक ढंगले हस्तक्षेप गर्दै आएको अध्यक्ष राम विनयले बताए । उनले भने, ‘नेपाली समाजको रुपान्तरणकारी आन्दोलनमा जनतामा जागरुक ल्याउन र सबै खालका उत्पीडनको अन्त्यका लागि साहित्य सन्ध्याले काम गर्दै आएको छ ।’
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर