चित्रमा देश स्वतन्त्र बनाउने बहादुरका कथा 

युद्धको झल्को दिने कलाकृति  

काठमाडौं । डाँडामाथि अर्ध–बादलिएको आकाश वरिपरी प्रकृतिको सुन्दरता र तल पृष्ठभूमिमा प्राचीनकालको झल्को दिने बस्ती देखिन्छ । डाँडाको एक ढिस्कोमा श्रीपेच लगाएको एक अर्धवैंशे आकृति घुँडामा हात अड्याउँदै एक दार्शनिक चिन्तकको जस्तो पोजमा सोचमग्न छ । वरिपरीको शान्त र सुन्दर परिवेशले उसमा उकुसमुकस उत्पन्न भएको देखिन्छ । 

एकल रङमा देखिएको आकृति घरिघरी अन्य परिवेशको घुरमैलोमा रुमलिन्छ र फेरी केन्द्रमा पर्छ । यो आकृति कुनै कथाको पात्र नभएर नेपाल विस्तारका अभियन्ता पृथ्वीनारायण शाहको हो । उनले काठमाडौं उपत्यकामा आक्रमण गर्नुअघिको एक परिघटनामा केन्द्रित रहेर कलाकार एवं प्राज्ञ ज्योतिप्रकाश बिकेले क्यानभासमा उधिनेको यो कलाकृति यतिबेला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा छ । चित्रमा पृथ्वीनारायण शाह राज्य विस्तारका क्रममा गोर्खा दरबार नुवाकोट हुँदै चन्द्रागिरीसम्म आइपुगेको र त्यहीँबाट कीर्तिपुर हमला गरेको दृश्यलाई क्यानभासको नेपथ्यमा धमिलो पाराले चित्रण गरिएको छ । 

कलाकार ज्योतिप्रकाशले पृष्ठभूमिमा नेपाली शिक्षाको जगको रुपमा उभिएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयलाई समेत देखाएका छन् । काउन्सिलमा यतिवेला नेपालको राज्य विस्तार अभियान र विभिन्न योद्धाका साहसिक मिथ झल्किने चित्र प्रदर्शनीमा राखिएको छ ।

उक्त प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र साहित्यमार्फत इतिहासको स्मृति गर्नु र त्यसलाई सचेत ढंगले समाजमा लैजानु स्रष्टाको काम भएको बताए । नेपाल मण्डल पर्यटन नगरीको आयोजना भएको ‘नेपाल मण्डल पर्यटन महोत्सव–२०७५, टिष्टा–काँगडा नेपाल एकीकरण : वीर योद्धाहरुको सम्झना सम्झना र सम्मान’ कला प्रदर्शनीमा मन्तव्य राख्दै अध्यक्ष ‘प्रचण्ड’ ले कला र संस्कृतिले नेपालीलाई एक आपसमा जोडेको धारणा व्यक्त गरे । 


चित्रकारिताका मार्फत गौरवपूर्ण नेपाली इतिहासका बारेमा गरिने प्रदर्शनीले इतिहासप्रति गौरव र सम्मान गर्ने संस्कृतिको विकास भएको बताउँर्दै उनले भने, ‘नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक, सांस्कृतिक रूपान्तरणसम्मका विशिष्ट पक्षमा योगदान गरेका व्यक्तिमार्फत इतिहासलाई स्मरण गर्ने प्रयास सह्रानीय छ ।’
काठमाडौं उपत्यका प्राकृतिक रूपले मात्र होइन, मानवीय सभ्यता र विज्ञान प्रविधिको प्रयोगको दृष्टिकोणले पनि विश्व मानचित्रमा फरक रहेको बताउँदै उनले भने, ‘उपत्यका वरिपरिको सुन्दर पहाडलाई मानवीय शक्तिले सजाउने काम बाँकी छ ।’ 

प्रदर्शनीका व्यवस्थापन संयोजक बेखाराम बलामी श्रेष्ठले राष्ट्रिय गौरवको विषय बोकेको टिस्टा काँगडा नेपालको एकीकरण ‘वीर योद्धाहरूको सम्झना र सम्मान’ विषयमाथि केन्द्रित रहेर नेपालका नाम चलेका ५० जना कलाकारले कलाकृतिको बनाएका जानकारी दिए । उनले भने, ‘नेपाली इतिहासबारे गरिएको यो कला प्रदर्शनीले नेपाली गौरव हुनुको महत्वलाई झल्काएको छ ।’

वरिष्ठ पत्रकार रिसालले कलाले समाजलाई चिनाउने र सचेत गराउने धारणा राखे । त्यस्तै, संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले जनतामा क्रान्तिकारी भावना सिर्जना गर्न चित्रकारिताले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘जनताको भावना प्रतिनिधित्व गर्ने, राजनीतिक उद्देश्य प्राप्तिका क्रममा जनताले गरेका बलिदानीको भावना झल्कने किसिमका चित्रकलाको प्रदर्शनी गर्न अहिलेको महत्वपूर्ण काम हुन्छ । यसमा वर्तमान राजनीतिक नेतृत्वले ध्यान दिनुपर्दछ ।’ कार्यक्रममा लेखक पदम श्रेष्ठले सभ्यताको जर्गेना गर्न राज्य तथा नागरिक सचेत ढंगले लाग्नुपर्ने बताए । उनले भने, ‘नेपाल मण्डलको सभ्यता र संस्कृतिलाई बचाउन र यसको महत्वलाई उजागर गर्न नेपालीले मिहेनत गर्नुपर्ने अवस्था आएको छ ।’ 

राजनीतिक आन्दोलनले नेपालमा उत्पीडित वर्ग, समुदाय तथा महिलामा निकै जागरण ल्याएको बताइन् । उनले भनिन्, ‘जनयुद्धले ग्रामीण दूरदराजमा बस्ने गरिब, अशिक्षित व्यक्तिले पनि आफ्नो अधिकारका लागि लड्नुपर्छ भन्ने मान्यता स्थापित गर्न सहयोग ग¥यो ।’ 

उक्त कार्यक्रमको सन्दर्भ पारेर वाङ्मय शताब्दी पुरुष जोशीलाई नेपाली इतिहास, कला तथा संस्कृतिका क्षेत्रमा अमूल्य योगदानवापत् अभिनन्दन गरिएको थियो । त्यस्तै, वरिष्ठ पत्रकार भैरव रिसाल, जनगायक जेबी टुहुरे र जीवन शर्मा, संगीतकार बिबि अनुरागी, अग्रज कलाकार शंकरराज सिंह सुवाल, महिला नेत्री शान्ता श्रेष्ठ लगायतका स्रष्टालाई सम्मान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष कृष्ण केसीले नेपालीको वीरतापूर्ण इतिहासलाई पुनः जागृत गर्ने उद्देश्यले राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना गरिएको बताए । उनले गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रको सीमामा नेपालको कला, संस्कृति र इतिहास झल्कने ‘नेपाल मण्डल पर्यटन नगरी’को स्थापना गर्ने तयारी गरिएको जानकारी दिए । 

कलादीर्घाको मध्यभागमा गुरुङ पहिरनमा सजिएका एक योद्धा हातमा खुकुरी लिएर आफ्नो वीर भावलाई देखाएका छन् । अग्रज कलाकार आलोक गुरुङले बनाएको यो चित्रमा सिन्धुलीगढीमा नेपाल–अंग्रेज युद्धको नेपाली सेनाको नेतृत्व सम्हालेका वंशु गुरुङको साहसलाईै देखाइएको छ । खुकुरी नचाउँदै युद्धभूमिमा मातृभूमिको रक्षाका लागि वंशु गुरुङले देखाएको आँट र बहादुरीको बिम्बको रुपमा यो चित्र बनाएको अग्रज कलाकार आलोकले बताए ।

प्रदर्शनीमा नेपाल र अंग्रेजका बीचमा भएका विभिन्न स्थानका लडाईका चित्र राखिएको छ । अप्रदर्शनी अवलोकनका क्रममा भेटिएका कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले वीरताले भरिएको नेपालको ऐतिहासिक विषयमा केन्द्रित यो प्रदर्शनीले नेपालमा निकै महत्व राख्ने बताए । उनले भने, ‘देशको सीमा रक्षार्थ पुर्खाले बगाएको रगतको पसिनाले आज हामी स्वतन्त्र देशका नागरिक हुने अवसर पाएका छौं । यिनै पुर्खाको त्याग र बलिदानको कथा उनिएका कला प्रदर्शनीमा राखिएको छ ।’  

प्रदर्शनीमा नेपालको राज्य विस्तार अभियानमा सहासपूर्वक लडेका वीर योद्धाका विभिन्न भावभंगिमा झल्किने कलाकृति राखिएको छ । कुनै कलाकारले साहसपूर्वक लडिरहेको युद्धलाई देखाइएको छ त कही वीर योद्धाको साहसलाई चित्रण गरिएको छ । 

प्रदर्शनीमा शंकरराज सिंह सुवाल, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, डिराम पाल्पाली, लालकाजी लामा, केशवराज खनाल, ज्योति प्रकाश बिके, सुदर्शन विक्रम राणा, सुनिता राणा, शान्त हिताङ, पकबहादुर थापा, दामोदर बराल, प्रद्युम्न श्रेष्ठ, सुन्दर लामा, नरेन्द्र भट्टराई, रुद्रबहादुर, इशान परियार, सुमन श्रेष्ठ, लिलाधर केसी, सविता डंगोल, नरबहादुर बिके, उद्धवराज रिमाल, चन्द्र ताम्राकार,  सञ्जय वान्तवा, बिआर श्रेष्ठ, केक कर्माचार्य, किरण मानन्धर, गेहेन्द्रमान अमात्य, रमेश खनाल लगायतका कलाकारका कलाकृति राखिएको छ । एक सातासम्म चल्ने प्रदर्शनीमा ३९ कलाकारका ५१ चित्र प्रदर्शनीमा राखिएको व्यवस्थापक संयोजक बेखारामले जानकारी दिए । प्रदर्शनी शुक्रबारसम्म रहने आयोजकले जनाएको छ ।
 

तस्बिर : दिपेन्द्र ढुंगाना

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर