नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन सुरु

काठमाडौं । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदान–प्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया सुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्रयाउने लक्ष्यकासाथ सरकारले चीन, भारत र पछिल्लो  पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु गरेको हो । प्रधानमन्त्री ओलीले गत असार ५ गतेदेखि १० गतेसम्म चीनको भ्रमण गर्नुभएको थियो । सोही क्रममा चीनसँग ऊर्जा आदानप्रदान तथा सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

गत असार ७ गते भएको हस्ताक्षर अनुसार नेपाल र चीनबीच द्विपक्षीय समिति गठन गर्ने सहमति भएको थियो । सोही सहमतिका आधारमा ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी नेपालको तर्फबाट समितिमा रहने सहअध्यक्ष एवं सदस्यको टुङ्गो लगाएका हुन् । 

समितिमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई सहअध्यक्षको रुपमा मन्त्री पुनले मनोनयन गरेका छन् । आइतबार मन्त्री पुनले मन्त्रिस्तरीय निर्णय गरे । समितिमा सात सदस्य रहने व्यवस्था छ । त्यसमा नेपाल र चीनका तर्फबाट समान हैसियतामा सहअध्यक्ष रहने व्यवस्था गरिएको छ ।

सो समितिमा विद्युत विकास विभाग, नेपाल विद्युत् प्राधिकरणका प्रमुख, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिवलगायत सदस्य रहने व्यवस्था गरिएको छ । समितिको बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा बस्नेछ । नेपाल र चीनबीच ऊर्जा सहकार्य, सहयोग आदानप्रदान तथा लगानी सम्बन्धी विषयमा भएका प्रगति र भावी कार्यदिशा समेत तय गर्न समितिले आवश्यक परामर्श गर्नेछ । 

लगानीका अवसर तथा आवश्यकताका आधारमा सरकारी तथा निजी क्षेत्रसँग मिलेर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानीको वातावरण तयार पार्नेछ । नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरको खोजी गर्ने र सरकारले अगाडि सारेको आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गराउन सबै खालका उपायको खोजी गर्ने मन्त्री पुनको भनाइ छ । 

नेपाल र भारतका ऊर्जा सचिव तथा सहसचिवस्तरीय समितिले धेरै विषयमा सहमति जुटाएको सन्दर्भमा चीनतर्फ स्थापना भएको त्यस्तै संयन्त्रले प्रभावकारी काम गर्ने विश्वास लिइएको छ । 
बङ्गलादेशसँगको सहमति पनि कार्यान्वयन तर्फ 

नेपाल र बङ्गलादेशबीच पछिल्लो पटक भएको सहमतिका आधारमा दुई समिति गठनको प्रक्रिया अगाडि बढेको छ । ऊर्जा मन्त्री पुनले आइतबार नै मन्त्रिस्तरीय निर्णय गरी सचिवको नेत्वमा संयुक्त कार्यकारीणी समिति र सहसचिवको नेतृत्वमा संयुक्त प्राविधिक समितिमा रहने प्रतिनिधिको चयन गरेका हुन् । 

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्र अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र सोही मन्त्रालयका सहसचिवको नेतृत्वमा दुई समिति गठन हुने व्यवस्था छ । गत साउन २५ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्य एवं आदानप्रदान सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र बङ्गलादेशका ऊर्जा, विद्युत् तथा खनिज राज्यमन्त्री नसरुल हमिदबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 
प्रसारणसम्बन्धी समझदारी हुँदै 
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक)को ग्रीड इन्टरकनेक्सन सम्बन्धी समझदारी समेत हुने भएको छ । सरकारले आइतबार मात्रै सो समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो । 
सो समझदारीपत्रमा हस्ताक्षर भएपछि नेपालको विद्युत भारत, बङ्गलादेश, म्यानमासम्म पु¥याउनसमेत सहज हुने छ । 

प्रसारणलाइन निर्माण गर्ने र सञ्चालन गर्ने विषय नै सो समझदारीपत्रमा समावेश छ । नेपालको तर्फबाट सो समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अख्तियारी दिइएको छ । यही भदौ १४ र १५ गते बिम्स्टेकको चांैथो शिखर सम्मेलन काठमाडौंमा हुँदैछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर