• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेपालीको लगानीमा जापानमा स्कुल (फोटोफिचर)

संगिता कुँवर / टोकियो । जापानमा नेपालीहरुको सामुहिक लगानीमा एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालन गरिएको छ । बिशेष गरी जापानमा विधार्थी, व्यवसायी, कामदारका रुपमा रहेका नेपालीका छोराछोरीलाई पनि नेपाली र अग्रेंजी भाषामा अध्ययन गर्न सकुन भनेर नेपालीहरुको सामुहिक लगानीमा एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालन गरिएको हो । 

गत नोभेम्बरमा करिब ३५ करोडको लगानीमा एभरेष्ट स्कुलले खरिद गरेको स्कुलको आफ्नै  भवन रहेको छ । भवनको एक समारोहका बिच औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले छोटो समयमै स्कुलले गरेको प्रगति र आफ्नै भवनमा सर्न सफल भएकोमा खुशी ब्यक्त गरिन् । नेपाली पाठ्यक्रम अनुसार खोलिएको बिदेश स्थित एक मात्र यस स्कुलले नमुना स्कुलको रुपमा आफुलाई बिकास गर्नुपर्नेमा जोड दिंदै राजदूतावासको तर्फबाट निरन्तर सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता ब्यक्त गरिन् ।

बिशेष अतिथिको सुगिनामी सिटीका मेयर ¥यो तानाकाले सुगिनामी सिटीमा बसोबास गर्ने नेपालीहरुको संख्या गत ५ बर्षमा ५ गुणा बृद्धि भई हाल करिब २ हजार ८ सय जना पुगेको उल्लेख गर्दै यसमा एभरेष्ट स्कुलको प्रमुख भूमिका रहेको बताए । साथै आगामी दिनमा पनि स्थानियसंगको सम्बन्ध प्रगाढ बनाउंदै स्कुल अघि बढ्नेमा आफु बिश्वस्त रहेको बताए ।

सुगिनामी सिटि काउन्सिलर फूजिओ वातानाबे, डिकेसी बैंकका उपाध्यक्ष माकिओ आकाहिरा, विथ कम्पनी लिमिटेडका प्रमुख मासुमी फुकुची, सेइवा कम्पनी लिमिटेडका प्रमुख यासुताका इइदा, ओगिकुबो चेम्बर आफ कमर्सका सेइइची जिचुकाता, एन आर एन एशिया प्यशिफिक क्षेत्रिय संयोजक किरणबिक्रम थापा लगायतले नयाँ स्कुल भवन उद्घाटनको शुभेच्छा सहित शुभकामना व्यक्त गरे । एनआरएन आइसिसी अध्यक्ष भवन भट्टले लिखित शुभकामना सन्देश पठाएका थिए ।

कार्यक्रमका सभापति स्कुलका अध्यक्ष डा. श्रेष्ठले स्कुल बिदेशमै एकमात्र नेपाली पाठ्यक्रम अनुसार पढाई हुने स्कुल भएकोले यसलाई नमुना स्कुलको रुपमा बिकास गर्ने दृढता ब्यक्त गरे । साथै जापानमा नेपाली भाषा संस्कृति प्रवर्धनमा पनि यो स्कुलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरिय शिक्षामा पनि ध्यान दिने बताए  । स्कुलमा हाल नर्सरीदेखि कक्षा ८ सम्मका २ सय ५ जना बिद्यार्थीहरु अध्ययनरत छन् । स्कूलको नयाँ भवन टोकियोको ओगिकुबो रेल स्टेशन नजिकै पर्दछ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर