• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेकपाको मजदुर सङ्गठनको एकता लम्बियो

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्ने अन्तिम गृहकार्य गरे पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ । तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) बीच एकता हुन अझै तीन महिना लाग्ने भएको हो । 

नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता भदौ ५ गतेभित्र गरिसक्ने गरी निर्देशन दिएको थियो । जिफन्टका १८ र अन्टुफको २५ साना सङ्गठनबीच एकता गर्नुपर्नेछ । एकता कानूनी प्रक्रियामार्फत गर्नुपर्ने भएकोले लम्बिने भएको जिफन्टका अध्यक्ष तथा मजदूर एकता कार्यदलका सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।

 अन्य भ्रातृसङ्गठनको एकताका लागि नाम, नेतृत्वमा विवाद भइरहेको बेला मजदूर सङ्गठनले भने आफ्ना मातहतका २२ घटक सङ्गठनको एकता गर्न छलफल चलाइरहेको छ । उनले साना सङ्गठन एकता गर्न दर्ता खारेज गर्दै पुनः दर्ता गदै एकता गर्ने बताए । 

सङ्गठन श्रम कार्यालय र श्रम विभागमा दर्ता भएकोले ती सङ्गठनलाई कानूनद्वारा खारेज गर्नुपर्ने र फेरी दर्ता गर्नुपर्ने भएकोले ती दुई मजदूर सङ्गठनको एकता प्रक्रिया लम्बिने देखिएको हो । दुई मजदूर सङ्गठनको एकताका लागि श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ ।

 समितिले साना घटक सङ्गठन एकता गर्दै जिफन्ट र अन्टुफ बीच एकता गर्ने छ । जिफन्टका अध्यक्ष श्रेष्ठले जिफन्ट र अन्टुफकाबीच एकता गर्न साना घटक २२ बनाउने सहमति भएको बताए ।  २२ साना घटक संगठनको पहिले एकता गर्ने कार्यदलको योजना छ । ती घटकको फरक-फरक एकता उपसमिति गठन गरेर एकता गर्ने छन् ।

उपसमितिले दुई महिनाभित्र एकता गर्न प्रतिवेदन बुझाएपछि कार्यदलले ती घटकको एकता गर्ने छ । त्यसपछि मात्र जिफन्ट र अन्टुफबीच एकता हुनेछ । अहिले नेकपाका युवा, विद्यार्थी, महिला, उद्योग, खेलकूद जस्ता सङ्गठन एकताको अन्तिमचरणमा छन् । उनले अबको एकहप्ताभित्र साना सङ्गठन एकता गर्न समिति गठन गरिने जानकारी दिए ।

 मजदूर सङ्गठनको एकताको कार्यदलमा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी रहेका छन् । कार्यदलका अर्का सदस्य रेग्मीले जिफन्ट र अन्टुफबीचको एकता छलफलमा नै प्रवेश नगरेको बताए । ‘‘अहिले हामी साना मजदूर सङ्गठनको एकतामा केन्द्रीत भएका छौं’’ उनले भने, ‘‘ती साना मजदूर सङ्गठनको एकता भएपछि मात्र हामी जिफन्ट र अन्टुफबीच एकता गर्दछौ ।’’

एकताका लागि अझै तीन महिना लाग्ने भएकोले सङ्गठनको नाम के राख्ने र कसको नेतृत्व हुने समेत चर्चा गरिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर