• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सरकार : गाउँमा ‘सिंह’ मात्रै आयो तर ‘दरबार’ आएन

काठमाडौं । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । 

 प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरे । सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

 सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पु¥याएका आयोजना प्रमुखको सरुवा गरिएकामा आपत्ति प्रकट गरे । उनले आगामी १० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको प्रमुख सरुवा गरेर आयोजनालाई पछाडि धकेल्न लागिएको त होइन भन्ने प्रश्न पनि गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिन पहिले गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई निजगढ विमानस्थलमा सरुवा गरेको थियो । सांसद शाहले विमानस्थल निर्माण सकिएपछि आयोजना प्रमुखलाई सरुवा गर्दा हुनेमा अहिले नै गरिनाले आशङ्का जन्माएको उल्लेख गरे । 

सांसद पम्फा भुसाल र दुर्गा पौडेलले देशव्यापी रुपमा अनावश्यक करको बोझ बढेका कारण जनताले दुःख पाएको गुनासो गरिन् ।  सांसद पुष्पा भुसालले पनि स्वेच्छिक रुपमा तिर्नुपर्ने करलाई जबर्जस्ती बढाइएको र साना व्यवसाय गर्नेलाई समेत कर लगाएर पेशाबाट विस्थापित हुने अवस्था आएको भन्दै आपत्ति प्रकट गरिन् ।

सांसद उमाकान्त चौधरीले गाउँगाउँमा सिंहदरबारको नारा लगाएर निर्वाचनमा सफलता हासिल गरिए पनि पछिल्लो समयमा करका कारण गाउँमा ‘सिंह’ मात्रै आएको तर ‘दरबार’ नआएको भन्दै गुनासो बढेको बताए ।  सांसद प्रमोद साहले पेट्रोलियम पदार्थमा पटक पटक मूल्यवृद्धि भएका कारण नागरिकको दैनिक जनजीवन प्रभावित भएकोमा आपत्ति जनाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर