• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रवास नीतिबाट किन पछि हटे ट्रम्प ? 

एजेन्सी । आप्रवासीसम्बन्धी आफ्नो एक नीतिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् । ट्रम्पले अवैध आप्रवासीलाई उनीहरुका बच्चाबाट अलग नगर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । अब प्रवासी परिवार एकसाथ बच्चाहरुसँगै बस्न पाउने भएका छन् ।

ट्रम्प प्रशासनको निर्णय अनुसार अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा राखिने छ । यो निर्णय कहिलेदेखि लागू हुन्छ त्यसबारेमा भने केही खुलाइएको छैन । यदि आमा–बुवा हिरासतमा हुँदा बच्चालाई गलत प्रभाव पर्ने आशंका भएमा मात्रै उनीहरुलाई अलग्गै राख्न सकिने छ । उक्त निणर्यमा बच्चाहरुलाई उनीहरुका आमाबुवाबाट कति समयसम्म अलग राख्ने भन्ने कुरा उल्लेख गरिएको छैन । ट्रम्पको आप्रासी नीतिका विषयमा मेलानिया (ट्रम्प पत्नी) र इवान्का (छोरी) ले नरम हुन दबाव दिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले आमाबुवाबाट छुट्टाइएका बच्चाहरुको तस्बिर हेरेर आफ्नो मन पग्लिएको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘म आफै परिवारबाट अलग भएको देख्न चाहँदैन । मेरी पत्नी मेलानिया र छोरी इवान्का पनि परिवारसँगै रहनुपर्छ भन्ने कुरामा समर्थन गर्दछन् ।’ यो निर्णयलाई पूर्वराष्ट्रपति बराक ओबामाले स्वागत गरेका छन् ।

प्रवासीप्रति यसअघि ट्रम्प निकै कडा र रुखो देखिन्थे । उनले युरोपेली देशले लाखौं प्रवासीलाई शरण दिएर गलत गरेको जिकिर गर्दै आएका थिए । प्रवासीलाई फर्काउने आफ्नो अभियानमा विपक्षी डेमोक्रेटिक पार्टीका सदस्यले अवरोध गरेको आरोप ट्रम्पले लगाउँदै आएका थिए । अमेरिकी सरकारको तथ्यांकअनुसार ५ मेदेखि ९ जुनको बीचमा २ हजार ३४२ प्रवासी बच्चा आमा–बुवाबाट अलग हुन बाध्य भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अवैधरुपमा अमेरिका प्रवेश गर्नेलाई आपराधिक मुद्दा लगाएर जेलमा हाल्ने कानुन ल्याएका थिए । कानुन अनुसार यस्ता प्रवासीलाई उनीहरुका बच्चालाई अलग राख्ने व्यवस्था थियो । पक्राउ परेका प्रवासीका बालबालिकालाई फलामे जन्जिरभित्र राखिएको तस्वीर सार्वजनिक भएपछि उक्त कानुनको कडा आलोचना भएको थियो । नाजी यातना शिविरसँग तुलना गर्दै आलोचकले त्यसलाई अमानवीय र क्रुर भनेका थिए । मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारा कासोले त बच्चालाई उनीहरुको परिवारबाट अलग राख्नु क्रुर र अमानवीय भनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर