दूर्गन्धित बन्दै फेवा ताल

कसले कसले रोक्छ तालमा मिसिने ढल ? 

उमा आलेमगर/कास्की । पोखरा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यहाँ पर्यटकलाई लोभ्याउने धेरै प्राकृतिक सम्पदाहरु छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ, पोखरा । त्यसमध्येको एक हो, फेवा ताल । पोखराको जननीको रुपमा समेत फेवा ताललाई चिनिन्छ । यवितेला फेवा जलकुम्भी र प्रदूषणको मारमा परेको छ । 

बढ्दो जनघनत्व र बसाइसराईले कुरुप बन्दै छ, फेवा । अव्यवस्थित सहरीकरणसँगै सेफ्टीट्याङकी तथा ढल निकासीको ट्रान्जिट बनेको छ फेवा । संरक्षणसम्बन्धी दुई दर्जनभन्दा बढी संघ संस्था भए पनि यसको प्रभावकारिता देखिएको छैन । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक फेवा तालमा देख्दै घिनलाग्दो फोहोरपानी मिसिने क्रम रोकिएको छैन ।

निजी स्तरबाट फेवातालको नाम बेचेर खाने  दर्जनभन्दा बढी सस्था र सरकारी निकायबाट फेवा तालको संरक्षणको मुद्धा बोकेर हिड्ने संघ सस्था कहाँ लुकेर बसेका छन्, पत्तो छैन । फेवाको प्राकृतिक तथा जैविकतामाथि भइरहेको दोहनप्रति स्थानीय तह मौन छ । फेवा ताल पुरिंदै र दुर्गन्धित हुँदै जानुको अर्को कारण हो, ढल निकासीको व्यवस्था नहुनु । महानगरमा ढल निकासीको राम्रो व्यवस्था नभएकोले महानगरमा उत्सर्जन हुने अधिकांश फोहोर फेवा तालमै मिसिन्छ । जसले फेवा ताल डम्पिङ साइटजस्तै बन्दै गइरहेको छ । 

फेवा तालको पानी हातमा लिन घिनलाग्दो भइसकेको छ । तालमै ढल मिसिएकाले पानी फोहोर हुने क्रम दिन प्रतिदिन बढ्दो छ । गुणस्तरका दृष्टिले तालको पानी बाह्य आँखाले हेरेभन्दा धेरै प्रदूषित छ । परीक्षणसहित गरिएका विभिन्न अध्ययनले फेवाको पानी प्रशोधन नगरी भाँडा माझ्ने, पौडिनेलगायत घरायसी प्रयोजनमा अनुपयुक्त भएको देखाएका छन् । विभिन्न अध्ययन र परीक्षणमा फेवाको पानीमा क्लोरोफिल, कोलिर्फम, मर्करीजस्ता हानिकारक तत्व भेटिएको छ । वातावरण तथा जनस्वास्थ्य संगठन (इन्फो) ले जाइकाको सहयोगमा गरेको सन् २००७ मा गरेको अध्ययनअनुसार फेवातालको पानी घरायसी प्रयोगका लागि स्वास्थ्यमा उच्च जोखिमयुक्त छ ।

पोखरालाई चिरेर बग्ने फिर्केखोला फेवातालमा मिसिएको छ । खोलामा ढल र फोहोर फाल्दा ताल दुर्गन्धित भइरहेको छ भने अर्कोतर्फ पुरिंदैछ । तर पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीसँग यो समस्या समाधान गर्ने स्पष्ट योजना छैन । मेयर जिसी ‘गुरुयोजना बनाएर व्यवस्थित सहरी विकासका कार्य अघि बढाउने’ भनेर उम्किए । उनले ढल व्यवस्थापन कसरी गर्ने र फेवाताललाई पुरिनबाट कसरी जोगाउने भन्नेबारे ठोस जवाफ दिएनन् । 

महानगरकै निमन्त्रणामा डेनमार्कबाट ७ अप्रिलमा आएको दुई सदस्यीय विज्ञ टोलीले पोखरालाई व्यवस्थित सहर बनाउनको लागि उत्पादन हुने फोहोर पुनः प्रयोग गर्नुपर्ने, ढलको पानी तालमा मिसिन दिन नहुने र ढलको पानी तालमा पठाउनै पर्ने अवस्था आएमा प्रशोधन गरेर मात्र पठाउन सुझाव दिएको थियो । डेनमार्कको कोगे नगरपालिकाका योजनाकार, प्राविधिक तथा वातावरण निर्देशक क्रिस्चियन क्रुजको नेतृत्वमा आएको टोलीले वातावरणीय पक्षलाई ध्यान दिएर मात्र विकासका योजना अघि सार्न आग्रह गरेको थियो ।

फेवाताल संरक्षणको नाममा गठित दर्जनौ संस्थामध्ये कुनै एक संस्था पनि तालको अवस्थाप्रति चिन्तित नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । पोखराको मुख्य पर्यटकीय स्थल फेवा तालमा दिनदहाडै ढलको दुषित फोहोर पानी मिसिदाँ पनि हालसम्म प्रभावकारी ढंगले कसैको ध्यान जान नसकेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष भीम पराजुलीले बताए । 

पोखराका करिब ८÷१० वटा विभिन्न स्थानबाट दुर्गन्धित ढलको पानी सिधै फेवातालमा हिजोआज मिसिदाँ पनि सरोकारवाला  निकाय मौन रहेको अध्यक्ष पराजुलीले बताए । उनले भने ‘अहिले बर्खाको समयमा त दिनदहाडै ढलको पानी सिधै फेवातालमा मिसिएको छ भने पानी पर्दा अर्थात बर्षायाममा ताल छेउछाउमै दुगन्र्धले बसिसक्नु हुदैन, यसलाई समयमै नियन्त्रण गर्न नसके अब फेवा तालको अस्तित्व नै संकटमा पर्न सक्छ ।’

अनुगमन भए पनि कारबाही भएन
केन्द्रको अगुवाईमा केही समयअघि महानगरपालिका, स्थानीय, केन्द्रसहितको एक टोलीले अनुगमन गर्दा करिब २५ जना विभिन्न होटल तथा रेष्टुरेन्ट र स्थानीयले आफ्नो घरको ढल तथा केहीले सेफ्टी ट्यांकीको फोहोर सिधै फेवाताल जाने नालामा मिसाएको भेटिएको भए पनि उनीहरुलाई प्रभावकारी ढंगले कारवाही नहुने पुनः फोहोर मिसाउने काम भएको उनले दाबी गरे । फेवातालमा दुषित पानीको मात्र हैन  फेवातालमा हरेक वर्ष खहरेखोलाले ढुंगामाटो बालुवाले पुर्दै जाने अर्कोतर्फ फेवा ताल अतिक्रमणले पनि फेवा तालको भविष्य संकटमा पर्दै गएको पराजुलीले बताए । पुनः अनुगमन गरी फोहोर पानी तालमा  जाने नालामा फाल्ने उपर कडा कारवाही हुनुपर्ने उनले माग गरेका छन् ।

पोखराको क्याम्पिङचोक, खहरे, बाराहीघाट, गौरीघाट, वडा प्रहरी कार्यालय बैदामको नजिक लगायतको क्षेत्रबाट देख्दै घिनलाग्दो ढल तथा दुषित पानी सिधै फेवा तालमा मिसिएको स्थानीयले बताए । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएर आएपछि पोखराको मुख्य पर्यटकीय गन्तव्य संरक्षण हुने आशामा रहेका पोखरेलीमा ८ महिनाभन्दा बढी समय बित्दा पनि ताल सफाई र संरक्षणमा खासै ध्यान नदिएपछि हाल निराशा छाएको नागरिक समाज पोखराका निवर्तमान संयोजक रामबहादुर पौडेलले  गुनासो गरे । पोखरा सफाई अभियानका अभियान्ता समेत रहेका पौडेलले फेवा ताल संरक्षण गर्ने जिम्मा पाएको महानगरपालिकाका जिम्मेवार पदाधिकारीलाई यस विषयमा कुनै चासो नभएको टिप्पणी गरे । उनले भने, ‘महानरपालिकालाई फेवा ताल संरक्षण गर्न हामीले पटक पटक आव्हान गर्दा पनि कुनै सुनुवाई भएको छैन । महानगरपालिकालाई कसैको होटल तथा रेष्टुरेन्टको उद्घाटन गर्न भ्याइनभ्याई भएको छ ।’ पौडेलले यसलाई नियन्त्रण गर्न जनप्रतिनिधिसमेत निरीह बनेको दाबी गरे ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारीले स्थानीयले फेवा तालमाथि लापरवाही गरी आफूहरुलाई नटेरेको गुनासो गरे । फेवा तालमा दिनदहाडै स्थानीयले फोहोर दुषित पानी मिसाएको भए पनि हाल आफूहरुले केही गर्न नसकेको उनले प्रतिकृया दिए । उनले भने, ‘फेवामा दुषित पानी मिसिने क्रम रोकिएको छैन । हामीले धेरैपटक यसरी तालमा दुषित पानी नमिसाउनु भनेर स्थानीय तथा पर्यटन व्यवसायीलाई भन्दा हामीलाई स्थानीयले टेर्न छाडे, अब कारवाही नै गर्नुपर्छ की जस्तो छ ।’ बाहिरी सतहमा देखिने नालामा उतिकै फोहोर पानी रहेको उल्लेख गर्दै उनले जमिनभित्र रहेको ड्रेन भित्रसमेत उतिकै दुषित फोहोर पानी रहेको जनाए । 

३ वर्षअघि फेवासहित कास्कीका ९ ताललाई रामसार सूचीमा सूचीकृत पनि गरिएको छ । हरियो वन कार्यक्रम अन्तर्गत संरक्षण विकास फाउण्डेसनले यहाँका तालहरुको संरक्षणसहित प्रयोगका लागि गुरुयोजना तयार गरिसकेको छ । धेरै योजना यसअघि नै बनिसके पनि मन खोलेर कार्यान्वयन हुन सकेको छैन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर