• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ऊर्जामन्त्री पुनको हटलाईन सेवा: जनताका गुनासो तत्काल सम्बोधन गरेकाे छु

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’

काठमाडौं । उर्जा मन्त्रालयले पहिलो पटक सुरु गरेको हटलाइन सेवा प्रभावकारी बन्दै गएको छ । गएको साउन १८ गतेदेखि सुरु गरिएको हटलाइन सेवा अहिले जनताको गुनासो सम्बोधन गर्ने प्रभावकारी माध्यम बनेको छ । 

हरेक हप्ता शुक्रबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले सेवाग्राहीसँग प्रत्यक्ष संवाद सुरु गरेका छन् । संवादका क्रममा देशभित्र मात्र होइन देशबाहिर रहेका नेपालीले पनि मन्त्रीसमक्ष समसामयिक विषयमा गुनासो राख्ने गरेका छन् । मन्त्रालयले २४ घण्टे हटलाइन सेवा चलाइरहे पनि सेवाग्राहीले भने प्रत्यक्ष मन्त्रीसँग शुक्रबार मात्र निशुल्क फोन सम्पर्क गरी आफ्नो गुनासो राख्न सक्नेछन् । हटलाइन सेवा सुरु गरेको पहिलो दिनमै १९ वटा गुनासो मन्त्री पुन समक्ष आएका थिए । 

दोस्रो हप्तामा १७, तेस्रो हप्तामा १४ र चौथो हप्तामा १५ वटा गुनासो आएका थिए । ती गुनासो सुनेपछि मन्त्री पुनले तत्काल गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री पुनको सामाजिक सञ्जाल फेसबुक पेजबाट हटलाइनको प्रत्यक्ष लाइभ पनि गर्ने गरिएको छ । लाइभ १ लाखभन्दा बढीले हेर्ने गरेका छन् भने त्यसमा २ हजार ५ सय जनाभन्दा बढीले गुनासो पनि राख्ने गरेका छन् । 

मन्त्रालयले निशुल्क फोनबाट सेवाग्राहीको गुनासो हरेक दिन लिने गरेको छ । मन्त्रालयमा हरेक दिन २५ जनाभन्दा बढीले आफ्नो गुनासो टिपाउने गरेका छन् । गुनासो केही व्यक्तिको बाहेक अधिकांशको सम्बोधन भैसकेको मन्त्रालयले जनाएको छ । सेवाग्राही पनि मन्त्रीसँगको कुराकानीपछि तत्काल गुनासो सम्बोधन भएकोमा निक्कै खुसी छन् । ऊर्जामन्त्री पुनले जनताको गुनासो सम्बोधन गर्नका लागि पहिलो पटक सुरु गरेको हटलाइन सेवाको अहिले सबैतिर प्रशंसा भैरहेको छ । 

सेवाग्राही पनि मन्त्रीसँग आफ्नो गुनासो राख्नका लागि आजभोली शुक्रबारको पर्खाइमा बस्ने गरेका छन् । घरमा मिटर जोड्नका लागि पनि पटक–पटक कार्यालय धाउँदा पनि नपाएपछि अहिले मन्त्रीलाई गुनासो सुनाएपछि मात्र बल्ल काम सम्बोधन भएको भन्दै सेवाग्राही सानो कामका लागि पनि मन्त्रीलाई भन्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कर्मचारी जवाफदेही बन्नुपर्ने बताएका छन् । 

मन्त्रालयमा बिजुलीको पोल नगाडेको, भोल्टेज समस्या, काठको पोल मुक्त बनाउनुपर्ने, संविधानसभाको निर्वाचनमा बिजुलीको पोल गाडे पनि अहिलेसम्म बिजुली नबलेको, वैदेशिक रोजगारमा गएका युवाको लागि जलविद्युतमा लगानी गर्ने अवसर दिनुपर्ने लगायतका गुनासो आउने गरेका छन् । यी गुनासोलाई सम्बोधन गर्नका लागि तत्कालै मन्त्री पुनले निर्देशन दिदैँ बजेट अभाव भएको ठाउँमा बजेटको व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । हटलाइन सेवाका बारेमा समाचार दैनिक डटकमले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गरेको कुराकानीः  

हटलाइन सेवा सुरु गरेको ४ हप्ता भैसकेको छ । कस्तो प्रतिक्रिया आइरहेको छ ?

मन्त्रीले नीतिगत निर्देशन र नेतृत्व गर्ने हो ।  व्यवहारिक रुपले सेवाग्राहीमा केही भैरहेको छ रिपोटिङ हुँदैन । तर देशका विभिन्न कुनाकाप्चा, सिँचाइको क्षेत्र, विद्युत वितरण प्रणालीको क्षेत्रमा सेवाग्राहीको के गुनासो छ भन्ने थाहा पाउने एउटा अवसर हो । अर्कोतिर चाहिँ कुनै न कुनै रुपले मन्त्रीसँगै गुनासो आएपछि मातहतका कार्यालयले ढिला गर्ने प्रवृत्ति घटेर जान्छ । कुनै पनि बेला यो मन्त्रीसमक्ष पुग्न सक्छ भन्ने एक खालको भय उत्पन्न भएको छ । सेवाग्राहीले हटलाइन सेवामा गरेको गुनासो सम्बोधन गर्न निर्देशन दिएलगत्तै धेरैको समस्या समाधान भएको फोनमार्फत जानकारी आएको छ । 

कतिपय सेवाग्राहीको समस्या समाधान गर्न कार्यालयको ध्यान नगएको अवस्थामा यसले सहयोग पुगेको छ । हटलाइन सेवा सुरु गरेपछि कामको शिलशिलामा सम्बन्धित कार्यालयमा पुगेपछि काममा ढिलाइ भएको अवस्थामा सेवाग्राहीले काम नभएको खण्डमा मन्त्रीसमक्ष कुरा गर्छु भन्नेबित्तिकै काम भएको पाइएको छ । यसले गर्दा पनि कर्मचारीलाई जवाफदेही बनाएको छ । 

हटलाइन सेवाले जवाफदेहिता बढाएको छ तर यहीबाट सबै कुरा हुने होइन । योबाट मन्त्रीलाई पनि घटनाक्रम थाहा हुन्छ । त्यसैगरी मातहत कार्यालयले समयमै सेवासुविधा दिन नसकेको  ढिलासुस्ती गरेको खण्डमा समयमै पारदर्शी बनाउन र जवाफदेही ढंगले काम गर्ने वातावरण बनेको छ । 

हटलाइन सेवा सुुरु गर्न ढिलाई गरेको जस्तो लाग्दैन ?

यो एउटा माध्यम हो । जल तथा मौसम विभागले पनि हटलाइन सञ्चालन गरिरहेको छ । खासगरी वर्षा समयमा मौसमको पूर्वअनुमान जानकारी दिनका लागि, बाढी आउने संकेत दिनका लागि काम गरिरहेको र विद्युत प्राधिकरणले पनि टोल फ्रि सञ्चालन गरेको छ । मन्त्रालयले पनि यस अगाडि नै ११५१ को टोल फ्रि सञ्चालन गरिरहेको छ । मन्त्रीले नै जवाफ दिने र प्रश्न सोध्ने पहिलो पटक सुरु गरिएको छ । यो ढिलोभन्दा पनि सिक्ने कुरा हो । 

२४ घण्टा हटलाइन सेवा गरे पनि मन्त्रीले सुन्न चाहिँ एक दिन गरिएको हो । अहिलेसम्म आएका गुनासो सम्बोधन गर्नका लागि सबैको तथ्याङ्क राखेर कुन–कुन कार्यालयसँग सम्बन्धित छ, त्यहाँ पठाएर कामलाई तदारुकताका साथ सम्बोधन गर्ने काम मन्त्रालयले गरिरहेको छ । छिटोछरितो काम गर्नका लागि जवाफदेही ढंगले काम गर्नका लागि वा सबै काम हटलाइनमा गर्न पनि सक्दैनौ, सबै गुनासो सम्बोधन गर्न नसेक पनि लोकतन्त्र भनेको जवाफदेहिता पनि हो । 

फेसबुक सञ्जालदेखि हटलाइन सेवामा बढी कस्तो गुनासो आउने गरेको छ ?

सामान्यतया लोडसेडिङ मुक्त गरेका छौँ । गुणस्तरमा सुधार गर्न सकेका छैनौँ यो स्वभाविक पनि हो । हामीसँग पूर्वाधार पर्याप्त छैन । पूर्वाधारमा क्रमशः सुधार हुँदै जान्छ । अर्को सिँचाइ, बाली, तटबन्ध, कटान गरेको गुनासो बढी आउने गरेको छ भने कतिपय शासकीय सुधारको कुरा आउने गरेको छ । मन्त्रालयले जनताको जलविद्युत सुरु गर्न लागेकाले यसको अवधारणा के हो ? कतिपय ठाउँमा ठूला जलविद्युत आयोजना सुरु गरेकाले पनि त्यहाँको काम पारदर्शी नभएको गुनासो आउने गरेका छन् । 

देशबाहिर र देशभित्र आएका गुनासो सम्बोधन गर्न मन्त्रालय कतिको प्रतिबद्ध छ ?

हामी जनताको गुनासो तत्काल सम्बोधन गर्न प्रतिबद्ध छौँ । जति सेवाग्राहीसँग फोनमा कुरा गरेका छौँ । उहाँहरुको फोन नम्बरमा पनि राखेका छौँ । सम्बन्धित कार्यालयलाई फोनमा पनि कुरा गर्न लगाउँछौँ । हाम्रो तर्फबाट हुने कामलाई पारदर्शी र सेवाग्राहीलाई दिने सेवासुविधामा कुनै कन्जुस्याइ हुन्न । हामी जनताको सेवा गर्न आएका हौँ । यसमा ढुक्क भए हुन्छ जनताको काममा कुनै ढिलासुस्ती हुन दिदैँनौ । 

हटलाइन सेवाबाट मन्त्रालय मातहतबाट हुने काममा सुधार हुनेमा कतिको अपेक्षा गर्नुभएको छ ?

धेरै अपेक्षा गरेको छु । पहिलो कुरा त म आफैमै सुधार हुनुपर्यो । केही गल्ती गरे भने हरेक हप्ता जवाफ दिनुपर्छ । कुनै निर्णय गर्नुअघि कुनै घटना भएमा त्यसमा जवाफ दिनुपर्ने कुनै आयोजना समयमा सम्पन्न नभएमा त्यसको जवाफ दिनुपर्ने भएकाले पनि यसमा आफु जिम्मेवार भएर काम गरिरहेको छु । सबै कुरा समयमा नहुने परिपाटी चलिरहेकाले पनि सेवाग्राहीसँग जवाफदेही बन्नका लागि हटलाइन सेवा सुरु गरिएको हो । जनता, सेवाग्राहीसँग जवाफदेही बन्नका लागि आफ्ना पनि कमिकमजोरी हुन्छ, अहिले विस्तारै गरुँ भन्नका लागि नभइ कानुन, विधि, जनताको अपेक्षालाई पूरा गर्नका लागि पनि जिम्मेवार बन्नका लागि हटलाइन सेवा हो । 

देखाउनका लागि गरिएको होइन, सुधारका लागि हो । शासकीय सुधार, सुशासन, जवाफदेही शासन व्यवस्था, पारदर्शिताका लागि कहिँ न कहिँ यसले सुधार ल्याइरहेको छ । यसबाट शिक्षा लिँदै यसभन्दा उपयुक्त ढंगले कसरी सुधार गर्न सकिन्छ, शासकीय सुधारमा परिणाम पनि आउनुपर्ने भएकाले विकासमा के भइरहेको छ, समृद्धिमा के योगदान भैरहेको छ, सरकारको कार्ययोजना, पार्टीले निर्वाचनको समयमा अघि सारेका कार्ययोजना, घोषणापत्र कार्यान्वयन भएका छन् छैन भन्ने यो एउटा मापक बन्ने छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर