• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नीति बनाउने थलोमै बेथिति: कोठा सार्न ठाडो आदेशमा २ करोड खर्च

अर्थको स्विकृति नलिइ, उधारोमा ‘होम डेकोर’ बाट अध्यक्षलाई लाखका टेबल  

काठमाडौं । ‘काँही नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै भएको छ संघीय संसद सचिवालयमा । सचिवालयको भवन नम्बर २ को तेश्रोे तल्लामा रहेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,उपाध्यक्ष शशीकला दाहाल, सचिव राजेन्द्र फुयालसहितको कार्यकक्ष पहिलो तलामा सार्दा झण्डै २ करोड खर्च हुने भएको छ भने झण्डै १ करोड खर्च भइसकेको छ ।

त्यस्तो खर्च पनि विधिपूर्वक, आवश्यकता देखिएको क्षेत्रमा, सचिवालयको खातामा पैसा भएर नभई, विना टेण्डर, उधारोमा भएको छ । संसद सचिवालय लेखा शाखा श्रोतका अनुसार ‘अहिले सचिवालयसँग अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष भब्य बनाउने शीर्षकको कुनै बजेट नै छैन । अध्यक्षले ताकेता गरेपछि महासचिव स्तरमा निर्णय गरी बजेट माग गर्दै अर्थ मन्त्रालयमा उपसचिव हरिहर पोखरेलले पत्र पठाए पनि मन्त्रालयले स्वीकृत दिएको छैन ।’

तर अध्यक्ष तिमिल्सिनाको भव्य कार्यकक्ष भने तयार भइसकेको छ । विना टेण्डर, उधारोमा कुनै व्यापारीलाई काम लगाएर सामान खरिदको काम भएको सचिवालय उच्च श्रोतले बतायो । २ नम्बर भवनको पहिलो तल्लामा रहेको तिमिल्सिना र सचिव फुयाल लगायत उनको सचिवालय बस्ने हरेक कोठामा एयर कन्डिसन जडान गरिएको छ । 

आधुनिक सोफा, पर्दा, कार्पेट, टेबल तथा दराज सजाइएको सचिवालय श्रोतले समाचार दैनिक डटकमलाई जानकारी दियो । अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल र सचिव फुयालले प्रयोग गर्ने झण्डै एक लाखका टेबल चर्चित ब्रान्ड होम डेकोरबाट किनिएका हुन् ।

विना टेण्डर, बजेट विनियोजन नै नभइकन, अर्थमन्त्रालयले स्वीकृति समेत नदिएको अवस्थामा सामान खरिद कसले गरेको हो भन्ने विषय सचिवालय श्रोतले खुलाउन चाहेन । अहिले खरिद गरे पनि पछि अर्थ मन्त्रालयले स्वीकृत गरिदिएमा सोही बजेटले अहिले भएको उधारो कारोबार भुक्तानी गर्ने संसद सचिवालयको तयारी छ ।

अनुमानित लागत र शीर्षक
अध्यक्ष तिमिल्सिना बस्ने कार्यकक्षसहितको पहिलो तल्ला पुनर्निमार्णका लागि १ करोड ८५ लाख ४२ हजार ९ सय ९४ रुपैयाँ लाग्ने अनुमान संसद सचिवालयका सहसचिव कृष्णहरि खड्का नेतृत्वको कार्यदलले गरेको थियो । सो कार्यदलले अर्का सहसचिव वंशिराज पौडेल नेतृत्वको लेआउट समितिले दिएको मापदण्ड अनुसार अनुमानित रकम निकालेको हो । यसमा सिंहदरबार पुननिर्माण प्राधिकरणले  पनि लागत अनुमान गर्ने लगायतका पूर्वधार निर्माणमा सहभागिता जनाएको छ ।

अध्यक्षसहितको ७ ओटा कोठाका लागि १० लाख बराबरको फल्स सिलिङ, ५ लाखको शौचालय निर्माण, वाइरिङका लागि १३ लाख, स्तरीय पर्दा कार्पेटका लागि १० लाख, स्तरीय फर्निचरका लागि साढे १४ लाख, एयर कन्डिसन लगायतका काम गर्न साढे २४ लाख लगायतका शीर्षक छुट्टाएर सो रकमको खर्च गरिएको छ । लिफ्टसमेत राख्नका लागि ५० लाख छुट्टाइएको भए पनि सोसम्बन्धी काम भने अहिले भएको छैन ।

उपरोक्त सामान खरिदको बिल भुक्तानी सचिवालयसँग छैन । बजेट नै नभएकाले अहिले बिल बिजक आफुहरुसँग नभएको, अध्यक्ष तिमिल्सिनाको आदेशमा सवै काम भएकोले यससँग जोडिएका कतिपय विषयहरु आफूहरुलाई थाहै नभएको सचिवालयका कर्मचारी बताउछन् ।

सचिवालय श्रोत भन्छ
‘अध्यक्ष तिमिल्सिनाका लागि उनी निर्वाचित हुनुपूर्व नै संसद सचिवालयले उहाँको हैसियत अनुसार सोही भवनको चौथो तलामा आवश्यक व्यवस्था गरिदिएको थियो । सचिवालय उच्च श्रोतले भन्यो, ‘तर उहाँले त्यसमा चित्त बुझाउनु भएन । 

आफूलाई सभामुख कृष्णबहादुर महराको सरह सुविधा चाहिने भन्दै बसिरहेको कोठा छोडेर नयाँ व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँ कर्मचारीलाई सुविधा दिनेबेलामा मितव्ययिताको कुरा गर्नुहुन्छ, तर आफूलाई सुविधा माग्नेबेला महँगा सामान किन्न लगाउनु हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाको सचिवालयका लागि संसद सचिवालयले यसअघि नै २७ लाख खर्च गरेर कार्यकक्ष बनाइदिएको थियो । सो कार्यकक्षमा अध्यक्ष, सचिवसहितको सचिवालय नबस्ने भएपछि छोडिएको कार्यकक्ष र फर्निचरहरु राष्ट्रियसभाका सभापतिले प्रयोग गर्ने सचिवालयले जानकारी दियो ।

बजेट स्वीकृत भएको छैन–अर्थ मन्त्रालय
संघीय संसद सचिवालयमा हुने बजेटको बिनियोजन र निकाशा हेर्ने अर्थमन्त्रालयमा छुट्टै संरचना छ । संसद, लगायतका संवैधानिक निकायको बजेट हेर्ने शाखाका शाखा अधिकृत केदार श्रेष्ठले संघीय संसद सचिवालयबाट विभिन्न शीर्षकमा बजेट माग भई आएको तर स्वीकृत भइनसकेको बताए । समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘कसले कति, कसरी बेजेट कहाँ खर्च ग¥यो, भनेर हेर्ने संरचना त हामीसँग छैन । तर बजे स्वीकृत नै नभईकन काम कसरी हुन्छ र ? ’

खरिद प्रक्रिया उल्लंघन
सरकारका हरेक निकायले सामाज खरिद गर्दा सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्दछ । सार्वजनिक खरिद ऐन अनुसार ५ लाखभन्दा माथि खरिद गर्नुपर्दा सार्वजनिक बोलपत्र आव्हान गरेर कम मुल्यमा काम गर्न चाहनेलाई प्रक्रिया पूरा गरेर मात्रै खरिद गर्नुपर्दछ । 

तर सचिवालयले झण्डै २ करोडको कारोबार गर्दा सार्वजनिक खरिद ऐन अनुसारको विधि अवलम्वन गरेको छैन । सामान खरिद गर्दा टुक्रा–टुक्रा पारेर फर्मलाई ३ ओटा कोटेसन माग गरेर एउटालाई छनोट गरी खरिद गरिएको संसद सचिवालय श्रोतले समाचार दैनिक डटकमलाई जानकारी दियो । 

सचिवालयमा सो शीर्षकमा खर्च गर्न पैसा पनि नभएको, अर्थमन्त्रालयले स्वीकृति पनि नदिएको अवस्थामा समेत सचिवालयमा भने सामान खरिद प्रक्रिया सम्पन्न भएर अध्यक्ष तिमिल्सिना सचिव फुयाल लगायत उनको सचिवालयको कार्यकक्ष सरिसकेको छ ।

सभामुख महराको मौनता
दुवै पद सम्माननीय भएपछि संघीय संसदको मुल नेतृत्व प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा हुन् । सचिवालयभित्र आर्थिक अनुशासन उल्लंघन गर्दै भएको यो खरिद प्रक्रियाको सभामुख महराले समेत देखेको नदेखै गरेका छन् । 

महराकै अध्यक्षतामा बस्ने संसदकै शक्तिशाली निकाय व्यवस्थापन समितिले समेत यस विषयमा कुनै निर्णय गरेको छैन । केही समयअघि यस विषयमा सामान्य चर्चा भए पनि कुनै निर्णय नभएको व्यवस्थापन समितिका एक सदस्यले समाचार दैनिकलाई बताए ।

अध्यक्ष तिमिल्सिनाका मितव्ययी कुरा खर्चालु काम
अध्यक्ष तिमिल्सिना संसद सचिवायको नेतृत्वमा आएपछि हरेक कुरा छिटोछरितो र मितव्ययी हुनुपर्छ भनेर सार्वजनिक रुपमा भन्दै आएका छन् । बिहान १० बजेदेखि बेलुका ५ बजेभन्दा अतिरिक्त काम गरेको भत्ता कर्मचारीले माग गर्दासमेत उनले दिन नसकिने अडान लिएको एक कर्मचारीले बताए । तर आफ्ना लागि भने उनले संसदले दिएको गाडी नचढेर गृह मन्त्रालयबाट सुविधा सम्पन्न गाडी मगाउनेदेखि सचिवालयले दिएको कार्यकक्ष नै छोडेर नयाँ कार्यकक्ष बनाउने, महँगा सामानहरु माग गर्ने गरेको सचिवालयका कर्मचारीले आक्रोश पोखे । 

उनी भन्छन् अध्यक्षले ठाडो आदेश दिएर आफुलाई मन लागेको काम गराउने गरेका छन् । कोठा सार्ने काममै खटिएका संसदका विभिन्न समिति र विभागहरु बाध्य भएर अध्यक्षको आदेश पालना गरेका मात्रै हुन् । उनीहरुलाई धेरै विषय थाहै छैन ।

संसद सचिवालयका सहप्रवक्ता केशव अर्याल
संसदमा हाल प्रवक्ता पद खाली छ । सहप्रवक्ता अर्याललाई यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘राष्ट्रिय सभाका अध्यक्षज्यूको व्यवस्थीत कार्यकक्ष बनाउनुपर्ने भएकाले बनाईएको हो । खरिद प्रकृया लगायतको हिसाव कितावको जानकारी मैले अहिले पाईसकेको छैन । पाएपछि जानकारी गराउँछु ।
  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर