• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:59 pm

तिज:चार पुस्ता, चार भिन्नता 

श्रीमानलाई केही नहुने भए दशथरी रोग किन लाग्थ्यो ?

९० वर्षीया पद्मा कुमारी गौतमले तिज मनाउन थालेको झण्डै ८ दशक भयो । वि.स. १९९६ सालमा विवाह हुँदा गौतम १२ वर्षकी थिइन् । भोजपुरको दिङ्लामा उनको विवाह भयो । विवाहपछि पहिलो पटक तिजको व्रत बसिन् । त्यही सालमात्र उनी माइत गइन् तिज मनाउन । 

विवाहित महिलाले श्रीमानको आयु लामो होस् र अविवाहितले राम्रो श्रीमान पाउँ भन्दै व्रत बस्ने प्रचलन छ । पद्मा कुमारीलाई पनि त्यस्तै सिकाइयो । त्यस यता उनले कुनै पनि तिजका व्रत छुटाएकी छैनन् । तिजको व्रत चाहिँ किन बस्छन् ? प्रश्न भुइँमा नखस्दै उनले जवाफ दिइन्, ‘धर्म गर्न ।’ तिजको व्रत बस्दा पतिको आयु लामो हुन्छ भन्छन् नि हो त भनेर सोध्दा उनले हाँस्दै भनिन्, ‘आफ्नो चाहिँ लामो भयो, उनले त छाडि गइगए नी ।’ विवाहको केही वर्षमै उनका पतिको देहावसान भयो । तर, पनि तिजको व्रत भने बस्न छाडेकी छैनन् । अचम्मको कुरा त उनी पानी पनि पिउँदिनन् व्रत बस्दा ।

हिजोआज भने छोराबुहारी नातीनातिनीले कराउँछन् रे ! ‘फलफूल पानी खान हुन्छ खानु भन्छन्, खै के गर्ने ।’ असामञ्जसमा छिन् उनी । सकभर पानी पनि खान नपरोस् भन्ने दाउमा छिन् । उनको पालामा पानी पनि खाँदैनथे, पानी त के थुक पनि निल्न हुँदैन थियो रे । ‘गाउँभरीका महिला भेला भएर तिजको दिन दिनभरी पुराण सुनेर बिताइन्थ्यो ऊ बेला’ उनी सम्झिन्छिन् । दिनभरी पुराण सुनेर बस्दा भोक लाग्दैन थियो । उनलाई ती दिनमा मनाइने तिज नै मनपर्छ । 

पहिले र अहिलेको तिजमा उनी निक्कै अन्तर पाउँछिन् । अहिलेजस्तो एक महिना अघिदेखि दर खाने चलन थिएन । भएका गहनाहरु तिजको दिन लगाउने चलन ऊबेला पनि थियो । तर सँधै नयाँ लुगा लगाउन कहाँ पाउनु । उनी विवाहको धोती लगाउँथिन् । ‘आजकलकाले धेरै ढाँचा पार्छन्,’ उनको बुझाइ । नखाइ बस्न सकिन्न भनेर अहिलेको पुस्ताले भनेको पनि उनलाई त पटक्कै चित्त बुझ्दैन । ‘नखाँदा नि कोही मर्छन् नचाहिने कुरा’ । यसपाली चैँ तिजको ब्रत बस्ने कि नबस्ने त ? ‘बस्ने नि किन नबस्नु, आफ्नो धर्म नि छोड्न हुन्छ ?’ मुहारभरीका मुजा अझ मुजा पार्दै उनी हाँसिन् । 

उनै पद्मा कुमारी गौतमकी बुहारी हुन् चन्द्रकला गौतम । गौतम परिवारकी दोस्रो पुस्ता । उमेर ६९ । विवाह हुँदाको उमेर १४ वर्ष । पहिलो पटक तिजको व्रत बस्दा त्यस्तै ८ वर्षकी थिइन् । बुवाले बस्नुपर्छ भन्नुहुन्थ्यो । शुद्ध चोखो भएर बसिन्थ्यो । साँझमा पूजा सक्किएपछि फुलफूल खान पाइन्थ्यो विवाह अघिसम्म । अहिलेसम्म उनले पनि तिजका कुनै व्रत छुटाएकी छैनन् । उही राम्रो वर पाउन अनि श्रीमान्को आयु लामो हुन्छ रे भन्ने नै उनले सुनिन् बुझिन् । सासुले जस्तै पानी पनि नपिइ कठोर व्रत बसिन् । 

‘पानी पिउँदा श्रीमानको रगत पिएजस्तो हुन्छ भन्थे अनि त थुक पनि निलिएन, दिनभरी कति थुकियो थुकियो । मैले व्रत बसेर श्रीमानलाई राम्रो हुन्छ भन्ने त केही होइन रहेछ, यत्ति कुरा बुझ्न ६९ वर्ष लाग्यो’ चन्द्रकला भन्छिन्, ‘मैले व्रत बसेर श्रीमानलाई केही नहुने भए दशथरी रोग किन लाग्थ्यो ।’ तिजको दिन व्रत बस्ने, पुराण सुन्न जाने, राती पूजा लगाउने, राती जाग्राम बस्ने । भोलिपल्ट गणेशचौथीको पूजा । पर्सिपल्ट पञ्चमीको पूजा ।

पञ्चमीको दिन बिहान दतिवन चपाउने नुहाउने, पूजा लगाउने । तीन दिन तिजको व्रत र पूजा । यी तीनै दिन घरधन्दाबाट पनि फुर्सद मिल्दैन्थ्यो । घाँसदाउरा, वस्तुभाउ सबै गर्नैपथ्र्यो । उहिले डर थियो, कसैलाई केही बोल्न सकिन्नथ्यो । भगवानको डर देखाइयो व्रत कठोर बसियो । आजकल भने अलि फेरिएको छ । सासुको तिज र बुहारीको तिजमा धेरै अन्तर त छैन । तर आजकल चन्द्रकलाले पानी पिउन थालेकी छिन् ।

केही वर्षमात्र भयो पानी पिउन थालेको । आफूले मान्दै आएको रित चटक्कै छोड्न सकिन्न तर परिमार्जन भने गर्दै लैजानुपर्छ भन्छिन् उनी । कुराकानीको अन्त्यमा उनले फेरि जोड दिइन् ‘तिजको व्रत बसेर श्रीमानलाई फलिफाप हुने, श्रीमान निरोगी हुने श्रीमानको आयु लामो हुने चैँ होइन रहेछ, हामीले गलत बुझेका रहेछौँ’ । 

रुची शर्मा । गौतम परिवारको तेस्रो पुस्ता । पदमा कुमारी गौतमकी नातिनी बुहारी । चन्द्रकला गौतमकी बुहारी । उनलाई परिवारमा कुनै करकाप थिएन व्रत बस्न सानैदेखि । त्यसैले अहिलेसम्म व्रत बसेको याद छैन । विवाहको चार वर्षपछि भने उनी यसपाली व्रत बस्दैछिन् । पानी पनि नखाने त ? ‘हैन चोखो खान्छु, भात खान्न’ ।

सँगैकी सासु चन्द्रकलाले थपिन्, ‘पूजा गरेपछि फलफूल खाने अन्न त नखाने’ । माइती जाने, परिवार भेटघाट गर्ने, राम्रो लुगा गहना लगाउने । उनको लागि तिज यति नै हो । ३० को दशकमा हिँड्दै गरेकी रुचीका लागि तिजको धार्मिक र परम्परागत महत्वबारे पनि त्यति जानकारी छैन । तर व्रत बस्नु र श्रीमानको आयु वा राम्रो श्रीमान पाइन्छ भन्नेमा कुनै ‘कनेक्सन’ भेट्दिनन् । 

गौतम परिवारको चौथो पुस्तामा पर्छिन् ऋतुश्री पोखरेल । उनी पद्मा कुमारी गौतमकी नातिनीतर्फकी पनातिनी । उनी ११ कक्षा पढ्दैछिन् । तिजको व्रत पहिलोपटक बस्दा ७ कक्षा पढ्थिन् । तिजको व्रत बस्दा आमाले राम्रो सारी, चुरापोते लगाएको देख्दा विवाहितले मनाउने चाड रै’छ भनेर उनलाई पनि विवाह गर्ने रहर जागेको थियो । 
पहिलो पटक तिजको व्रत बस्दा उनलाई न तिजको व्रत किन बसेँ थाहा थियो न त किन बस भनियो नै थाहा थियो । उनका लागि राम्रो लुगा लगाएर राम्री हुनु नै महत्वपूर्ण थियो । अहिले पनि उनको विचार खासै परिवर्तन चाहिँ भएको छैन । त्यतिबेला आफूलाई राम्री हुन पर्थ्यो अहिले भने सोसियल मिडिया । 

यसपाली पनि तिजको व्रत बस्दैछिन् । किन ? ‘राम्रो लुगा लगाउँछु, अनि फोटो खिचेर फेसबुकमा हाल्छु ।’ उनको बुझाइमा हजुरआमा र आमाहरुले तिजको धार्मिक र परम्परागत महत्व बुझेका थिए तर, अहिलेको जेनेरेसनले त्यो बुझेका छैनन् । अहिलेको पुस्ता लहड र रहरमा चल्छन् ।

भएभरको गहना प्रदर्शन गर्ने, फेसन देखाउने, फेसबुकमा फोटो पोस्ट गर्ने ट्रेन्डमा मात्र सीमित हुन्छ जस्तो लाग्छ उनलाई । तिजको व्रत बस्दा धर्म कमाइन्छ जस्तो उनलाई पनि लाग्दैन । राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन् निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिएपछि शिव–पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले । यो तिजको रूपमा मनाउने प्रचलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । 

हरितालिका तिज पारिवारिक जीवनका लागि महत्वपूर्ण अवसर भएकाले श्रीमतीले मात्र व्रत लिनुपर्छ भन्ने शास्त्रमा कही पनि उल्लेख नभएको प्राध्यापक चेतोनाथ गौतम बताउँछन् । हरितालिका तिज शिव र पार्वतीको आराधना गर्ने पर्व भएकाले महिलाले मात्र व्रत बस्नुपर्छ भन्ने छैन । पारिवारिक सुख समृद्धिका लागि महिला पुरुष दुवैले व्रत बस्दा फरक नपर्ने गौतमले बताए । तिजको धार्मिक पक्ष, मुल्य मान्यताबारे बुझाउन अहिलेसम्म बुझाउन नसकिएको प्राध्यापक गौतम बताउँछन् । आफ्नो परिवारको सुखका लागि आफ्नो क्षमता र स्वास्थ्यले भ्याएसम्म महिला पुरुष दुवैले व्रत बस्नु उपयुक्त हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खाए मकै नखाए भोकै, कुमाल बस्तीको दुःख बगाएन कालीगण्डकीले 

  • १ मङ्सिर, २०७५

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए । कालीगण्डकी नदीमा कति पानी बगे बगे । तर नदी  किनारस्थित कुमाल बस्तीको दुःख न मुलुकमा भएका ठूलठूला

भाई बहिनीको अटुट प्रेम गाथा सामा चकेवा पर्व

  • ३० कार्तिक, २०७५

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रले आफ्नो धर्म संस्कृतिको संरक्षणकालागि पर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग

विकासको लहर गाउँ–गाउँमा  

  • २९ कार्तिक, २०७५

दोलखा । २० वर्षपछि स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चयन भएसँगै अहिले विकासका लहर गाउँ–गाउँमा फहराउन थालेको छ । जनप्रतिनिधि भएको र नभएकोमा धेरै