• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

निर्मला बलात्कार तथा हत्याको छानविन अन्तिम चरणमा : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपराधी छिटै कानुनको कठघरामा आउने बताए ।

सरकारले उक्त घटनाको अनुसन्धानका लागि विभिन्न समिति गठन गरी पठाएको बताउँदै उनले भने, ‘उच्चस्तरीय छानबिन समिति गठन भएको र प्रहरीको तर्फबाट पनि छानबिन तथा अनुसन्धान समिति पठाइएको छ । प्रतिवेदन तयार हुने अन्तिम चरणमा रहेको छ। सदनले पनि गम्भीर चासो देखाएको र दोषीहरूलाई कानुनको दायरामा ल्याउन गृह मन्त्रालय प्रतिवद्ध छ ।’ राष्ट्रियसभामा बोल्दै उनले यसअघि आफूले प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट नै दोषी हुन भनेर नभनेको जनाए ।

उनले गृह मन्त्रालयले भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले निर्मला पन्त बलात्कार तथा हत्यामा संलग्न को हुन र अनुसन्धानको क्रममा क–कसले लापरबाही गरे भन्ने बारेमा समेत अनुसन्धान गरिरहेको बताए। त्यस्तै, गृहमन्त्रीले बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभएको पोस्टमार्टम रिपोर्ट आएको जानकारी दिए । उनले भने, ‘प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहरको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको छ ।’

उनका अनुसार हिरासतमा रहेका यादव एक्कासी बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल  अस्पताल र मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । त्यहाँ उपचार हुनसकेपछि स्वास्थ्यकर्मीको टोलीसँगै उनलाई काठमाडौं ल्याइएको थापाले जानकारी दिए। 

राममनोहरलाई उपप्रधानमन्त्री उपेन्द्र यादयवको कार्यकर्ता भेटघाटमा विखण्डनकारी नारा लगाइएको आरोपमा पक्राउ गरेको थियो। राममनोहर सिके राउतको कार्यकर्ता भएको र उनले देशको अखण्डता, नेपालको स्वतन्त्रता, राष्ट्रिय हितविपरीत नारा लगाएकाले राज्य विरुद्धको कसुरमा मुद्दा लगाइएको र उनलाई अदालतबाट ७ दिनको म्याद थपिएको गृहमन्त्री जानकारी दिए । सोही क्रममा उनको बिरामीका कारण भदौ १६ गते शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 

त्यस्तै, खोजतलास साप्ताहिक र खोजतलास डटकममा प्रधानसम्पादक राजु बस्नेतले संघीय प्रतिनिधिसभा सदस्य पम्फा भुसाल र प्रदेशसभा सदस्य राजकाजी महर्जनको अपमान हुनेगरी फोटोसहित जग्गा दलालसँग मिलेको भनेर फोटोसहित समाचार राखेको उजुरीका आधारमा पक्राउ गरिएको गृहमन्त्री थापाले जानकारी दिए। त्यसैगरी सांसद निरु पालमाथिको हमला र पूर्वराजदूत केशव झाको हत्याका विषयमा गृहमन्त्रालय अनुसन्धान गरिरहेको उनले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर