• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

काष्ठमण्डपको काम यथाशीघ्र अघि बढाउन ज्ञवालीको निर्देशन 

काठमाडौं । काष्ठमण्डपको पहिलो तल्ला २०७६ असार मसान्तभित्र पुरा गरिने भएको छ ।

काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको आज बसेको बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

समितिका संयोजक एवं तीन नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढंगले यथाशीघ्र अघि बढाउन निर्देशन दिए ।

उनले पुनर्निर्माण कार्यको गुणस्तर कायम गर्नका लागि समयसमयमा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउन पनि सुझाव दिए । समितिका संयोजक शाक्यले पुनर्निर्माणलाई अघि बढाउन पुरानो डीएसपी कार्यालय रहेको स्थानमा काठको वर्कसप संचालन भएको र इन्द्रजात्रालगत्तै अर्को ठूलो वर्कसप स्थापना गरी संचालन गरिने जानकारी दिए ।

संयोजक शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुप परीक्षण गरिने बताए । समीक्षा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल लगायतको पनि उपस्थिति थियो ।

काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर