• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हातको बाला 

‘माइतीका दिदीबहिनीहरुको अगाडि केही नभएकी जस्तै कसरी जाउँ ! कमसेकम एकजोर सुनका बाला भए पनि केही राहत हुन्थो ?’ अनुजाले श्रीमानसँग निन्याउरो मुख लगाउँदै भनिन् ।

‘म भरखरै जागिरमा लागेको छुँ । यही वर्ष बहिनीको पनि विवाह भयो । बिस्तारै बनाउँदै गरौला ! बाला नलगाई नहुने के छ र !’ निर्मलले सम्झाउँदै भने ।

सासुआमाले पनि बोलाएपछि जानुपर्छ भन्नुभएको थियो । तैपनि अनुजा खुसी थिइनन् । माइतीले पूरा वर्ष दिन बितिसक्दा पनि घरमा ज्वाईं भित्र्याएका थिएनन् । उनीहरूको भागी विवाह भएरको थियो ।

‘त्यो ता हो । त्यै पनि मैले अप्ठ्यारो महसुस गरेकी छु,’ अनुजाले भनिन् ।

‘अनु ! हामीले यथास्थितिमा स्वीकारेको प्रेम हैन र !’ निर्मलले नजिक गएर भने ।

‘भाउजू ! हजुर भोली माइत जाने भनेर म आजै आएकी छुँ । हजुरको भने कोठाभित्रै गन्थन ।’ त्यतिबेला नन्दले कोठाभित्र पस्दै पसिन् ।

‘हजुर आउनु भा छ । म माइत नजाउँकी भनेर सल्लाह गरेकी नी नानू,’ अनुजाले मुस्काउँदै भनी ।

‘उताबाट बोलाई हाले ! यहाँ हाम्रो कुनै तयारी छैन । कसरी पठाउने बैनी !’ निर्मलले पनि बहिनीसँग अनुजाको कुरामा सही थप्दै भने ।

‘माइत जान पनि केको महातम । तिज भनेको समृद्धि र दिर्घायुको पुजा गर्ने हो । गहनाले सजिनु पर्छ भन्ने छैन । त्यै पनि हजुरसँग तिलहरी औँठी रहेछ । नपुगेको बाला । यहीँ मेरो लैजानुस । फर्केर घर आउँदा ल्याइ दिनुहोला ।’

‘नानू हजुरले के लगाउने नी ?’

‘ह्या भाउजू पनि ! कसैको दिल बुझ्नको लागि पहिला आफूले आफ्नो दिल राम्रो बनाउनु पर्छ रे के,’ भन्दै आफ्नो हातको बाला फुकाल्दै भाउजुको हातमा राखि दिइन् ।
 
अनुजा माइत नपुग्दै बाटैमा बज्रपात पर्यो । दैव लाग्यो । केको तिज मान्नु ! कसलाई भन्नु ! एक्लै रुँदा थाकेका आँखा सबैका सामुन्ने लुकाउँदै वेदनाले भिजेको चिसो मन लिएर तिज लगत्तै घर फर्किन ।

कोठामा पुग्दा नपुग्दै श्रीमानलाइ अङ्गालोमा बेरेर रुँदै भनिन् । ‘नन्द नानुको बालासहित मेरो पर्स बाटैमा हरायो ।’

निर्मल छागाँबाट खसेको जस्तै भए । त्यै पनि श्रीमतीलाई फकाउँदै भने । ‘चिन्ता नगर अनु ! भोली बजारबाट त्यस्तै गहना खोजेर बैनीलाई दिउँला ।!

अर्कोदिन निर्मलले ऋण धन गरेर भए पनि उस्तै सुनको बाला ल्याइदिए । अनुजाको मन अमिलो थियो । त्यै पनि मुस्कुराएर नयाँ बाला नन्दलाई दिँदै भनिन्, ‘नानू हजुरको बाला ।’

नन्दले मुसुक्क मुस्कुराउँदै भनिन्, ‘मेरी प्यारी भाउजु ! यो बाला अब हजुरले राख्नुस् । बाला ग्यारेन्टीका हुन् । मैले नहुनु भन्दा हातको शोभा हुन्छ भनेर ल्याएकी थिएँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर