• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सांसदलाई थुनेर मलाई हराइयो : अष्टलक्ष्मी शाक्य

प्रदेश नम्बर ३ एमाले संसदीय दलको नेतामा नेतृ अष्टलक्ष्मी शाक्य पराजित भएसँगै महिला मुख्यमन्त्री हुने सम्भावना सकिएको छ । पराजयपछि उनले आक्रोस पोखेकी छिन् । उनी काठमाडौंबाट नेवार समुदायकी महिला मात्र नभई एमालेकी उपाध्यक्षसमेत हुन् । प्रस्तुत छ यसैसन्दर्भमा एमाले उपाध्यक्ष एवं प्रदेश नम्बर ३ की सांसद अष्टलक्ष्मी शाक्यसँग गरिएको कुराकानी : तपाईको हारको मुख्य कारण के हो ?  हारको मूल कारण भनेको पार्टी भित्रको गुटबन्दीले मलाई मन पराएन, सिध्यायो । खासगरी हाम्रो पार्टीको अध्यक्ष कम्रेडबाटै त्यस्तो भयो ।  तपाईको पार्टीले पहिलो महिला मुख्यमन्त्री बनाउने अवसर पाएको थियो, त्यो अवसर छोप्न नसक्नुको कारण गुट मात्रै हो ? मूल कुरा त त्यही मान्नु पर्छ । किनभने २८ सालदेखि निरन्तर विश्राम नलिइकन लागेको एक महिला हुँ, महिला मात्र होइन म पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक पनि हुँ । नेवार र तामाङहरुको वाहुल्यता रहेको प्रदेश हो ।  सबै हिसावले अवसर थियो । तर  आज आएर लोकतान्त्रिक विधिको नाममा एउटा निष्ठा र इमान्दारीपूर्वक आन्दोलनमा सक्रियरुपमा लागेको एक महिलामाथि यति धेरै प्रहार हुनु साह्रै पीडाको विषय हो । पार्टीमा त सम्मानको कुरा पनि हुन्छ होला, मानसम्मान पनि हुँदो रहेनछ, विकल्प पनि त कोही थिएन । निक्कै पीडाबोध भएको कुरा सुनाउनुभयो । तर तपाई एउटा गुटको उम्मेदवार भइसकेर निर्वाचनमा गइसकेपछि त्यो परिणामलाई स्वभाविक रुपमा लिनु पर्ने होइन ?  म गुटको उम्मेदवार थिएन । एउटा उपाध्यक्ष, प्रदेश संयोजक र सांसदको नाता थियो । मलाई प्रदेश सचिवालयले उठिदिनुस्, प्रदेश सम्हाल्दिनुस्, हामी साथ दिन्छौं भनेर सर्वसम्मत निर्णय गरेर पठाएको थियो । तर तपाईलाई पार्टी अध्यक्षले त्यो वचन त दिएका थिएनन् होला नि ? होइन । म हिजो मात्र अध्यक्षलाई भेटेर कुरा गर्न गएको थिए । समग्र स्थिती बुझ्नुभयो, के छ अवस्था भन्नुभयो, मैले राम्रो छ, म उठ्ने हो माहौल राम्रो छ, जित्छु भने । अनि ल ठिकै छ । तपाई वरिष्ट पनि हो, पार्टीको उपाध्यक्ष, प्रदेश संयोजक हो अव त्यो प्रदेश तपाईकै नेतृत्मा जानु पर्छ । तपाई उठ्नुस भनेर बचन दिनुभएको हो । तर त्यो भएन । धेरै माननियहरुलाई ठाउँ ठाउँमा राख्ने काम भयो, थुन्ने काम भयो । समग्रमा साह्रै नराम्रो काम भयो । तपाईले भनेजस्तै थुन्ने काम नै भएको हो भने त अलि आपत्तिजनक काम नै भयो नि, होइन र ? हो । म त आपत्ति नै जनाउँछु अव । लोकतान्त्रिक संस्कार, मूल्यमान्यता भन्ने पनि त हुन्छ होला नि ? सबै बिर्सेर जे पनि गर्दा हुन्छ भन्ने कुराहरु त्यो तहबाट देखिनु राम्रो होइन । म व्यक्ति एकजना हारे हुँला त्यो ठूलो कुरा होइन । तर एउटा इमान्दारीता हारेको छ, नैतिक मूल्य माान्यता हारेको छ ।  एउटा महिलामाथि यसरी प्रहार गर्नु सबै महिला माथिको प्रहार हो भन्छु म त । तपाईले आपत्ति जनाउँछु भन्नुभयो नि त्यो चाँही कसरी गर्नुहुन्छ ?  यस्ता कुराहरुबाट म पछि हट्दिन । किनभने एउटा मुख्य मन्त्री हुनु नै ठूलो कुरा होइन । नैतिक मूल्य मान्यताको राजनीति सबैभन्दा ठूलो कुरा हो ।  के चुनावमा गुटको मात्र कुरा नभएर अरु चलखेल पनि भयो ? गुतगट राजनीति वा लोभलाचलका ? त्यो त म खै कसरी जानु र । तर जे होस् ममाथि जुन प्रहार भयो त्यो एकदमै नाजायज भयो । यसलाई सहज रुपमा लिनै सकिन्न । मैले अत्यन्तै मेहनत गरेर यो प्रदेशलाई बहुमत दिलाएकी छु, स्थानीय चुनाव होस् वा प्रदेश र प्रतिनिधिसभाको चुनावमा । त्यसको श्रेय त मैले पाउनु पर्ने हो नि ! त्यति पनि नसोचि यो स्थितीमा पुर्याउनु भनेको त चानचुने कुरा होइन ।  यसले अव मेरो राजनीतिक आन्दोलन अझै शसक्त तरिकाले अघि बढ्छ । पराजयले मलाई निरास बनाएको छैन । महिलाको मुद्धा, लोकतन्त्रलाई बलियो बनाउने मुद्धा अनि मूल्य मान्यताको राजनीति स्थापित गराउनका लागि म अझै शसक्त भएरर लाग्छु । अन्त्यमा, तपाई नेतृत्व तहमा रहेर, मन्त्री भएर पनि पार्टी नेतृत्वलाई प्रभावमा पार्ने काम गर्न नसकेकोले पनि त तपाईको नेतृत्वले तपाईलाई साथ नदिएको वा प्रदेश सांसदहरुले तपाईलाई नपत्याएका पो हुन् कि  ? त्यस्तो छ भने त ती कुराहरु प्रष्ट भन्न पर्यो नि । तर मैले अहिलेसम्म जति पदमा बसेर काम गरें, मैले नैतिक मूल्य मान्यतामा रहेर काम गरेकी छु । लोकतन्त्रलाई बलियो बनाउन काम गरेकी छु, जनताको हितमा काम गरेकी छु । त्योभन्दा अरु के हो र ? –बिबिसीसँगको कुराकानी 

Read more at: http://samachardainik.com/C2K2dTxr

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर