‘घरेलु रक्सी स्तरीय छन्, यसलाई कानुनी मान्यता दिनुपर्छ’

कास्की । घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने गण्डकी प्रदेशका सांसदले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली पोख्रेलले घरेलु मदिरालाई वैधानिकता दिएर करको दायराभित्र ल्याउनुपर्ने माग राखे ।

प्रदेशसभामा बोल्दै उनले घरेलु मदिरा आधुनिक रक्सीभन्दा धेरै स्तरीय रहेको अध्ययनले देखाएको बताए । मापदण्ड पूरा गरेर मदिरा उत्पादन गर्न पाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘हाम्रो प्रदेशमा गाउँहरु धेरै छन् । घरेलु मदिरा उत्पादन गर्ने हाम्रो पुरानो संस्कार हो । उनीहरुलाई बेलाबेलामा प्रहरी प्रशासनबाट कारबाही गरिन्छ र मदिरा पनि नष्ट गरिन्छ । २१ औं शताब्दीमा यो अव्यवहारिक र सामान्ती शैली फेरिनुपर्छ । लाइसेन्स दिइ कर तिरेर घरेलु मदिरालाई वैधानिकता दिनुपर्छ ।’

उनले ३ सय होम स्टे चलाउने प्रसंग कोट्याउँदै भने, ‘पर्यटनमा हाम्रो जोड छ । तर पर्यटनका आधारहरु घरेलु मदिरा पनि हो भन्ने हेक्का हामीसँग हुनुपर्छ । डिस्टिलरी मालिकले सरकारलाई पैसा दिएर घरेलु मदिरा हटाउन लागेका छन् । यसबाट सरकार जोगियोस् ।’

उनले एउटा किसानले १ मुरी कोदो बनाएर १ महिना खान नपुग्ने तर राम्रो रक्सी बनाएर मार्केटमा लग्यो भने ६ महिना खान पुग्ने धारणा राखे । उनले थपे, ‘महँगो रक्सी छोडेर हाम्रो देशको रक्सी आधुनिक डिस्टिलरीको भन्दा राम्रो छ भन्ने अनुसन्धानले देखाइसकेको छ । समयसापेक्ष रुपबाट सरकार अघि बढ्नुपर्छ । ट्याक्सको दायरामा ल्याएर यसलाई लिगलाइज गर्नुपर्छ । बरु आवश्यक मापदण्ड बनाइ नियन्त्रण पनि  गर्नुपर्छ ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर