आन्तरिक कृषि उत्पादनमा चर्को कर, स्थानीय आक्रोसित

हिमाल जोशी / धनगढी । आन्तरिक कृषि उपजमा कर नलाएको भनेर घोषणा गरेको  धनगढी उपमहानगरपालिकाले कृषकलाई ढाड सेकिने गरी कर लगाएको छ ।  

कुखुरा एक वडाबाट अर्को वडामा लग्दा पनि कर तिर्नु परेपछि धनगढीका कृषक आक्रोसित बनेका छन् । धनगढी उप-महानगरपालिकाले आन्तरिक उत्पादनमा प्रति कुखुरा २० रुपैंयाँ, प्रतिअण्डा १ रुपैयाँ, खसी बोकामा २ सय रुपैंयाँ माछा प्रतिकिलो २० रुपैंयाँ र तरकारी फलफूलमा प्रति क्वीन्टल १५ रुपैयाँ सम्म कर लगाउनुका साथै त्यसैमा थप १३ प्रतिशत भ्याट असुल्ने गरेको पाइएको छ । 

आन्तरिक कृषि उत्पादनमा यसरी चर्को कर असुली हुन थालेपछि किसानले त्यसको चर्को बिरोध गरेका छन् ।   उनिहरुले सो निणर्य तत्काल नसच्याय आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । धनगढी स्थित बालाजी कन्ट्रक्सनलाई न्युन मुल्यमा ठेक्का दिएर धनगढी उप–महानगरपालिकाले कर असुलीमा आतङ्क  मच्चाएको अण्डा अत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले बताए । 

धनगढी उप महानगरपालिकाले बालाजी कन्ट्रक्सनलाई बार्षिक ४१ लाख ५ हजार ७ सय ८६ रुपैयाँ बराबरको ठेक्का कायम गरी न्यूनतम शुल्कमा तरकारी, फलफूल, माछा, मासु उत्पादन तथा विक्रि वितरणमा कर असुल गर्न अनुमति दिएको  छ । व्यवसायीले चर्को कर तिर्न नमान्दा ठेकेदारले उल्टै धम्की दिने गरेको व्यवसायी सन्तोष देउपालले बताए । 

धनगढी उप-महानगरपालिका कै एक वडाबाट अर्को वडामा लैजाने क्रममा पनि कृषि उपजबाट कर लगाउने गरेको उनले बताए । ठेकदारले आफुलाई बाटो बाटोमा रोकेर धम्क्याउदैं कर माग्ने गरेको उनको आरोप छ । ‘कृषि उपजको कर उठाउने ठेक्का बालाजी कन्ट्रक्सनले पाएको थियो, त्यसका सञ्चालक सुमित सिंह हुन्’ देउपालले भने–‘हामीलाई पैंसा नदिए ठिक पारि दिन्छौ भन्दै शेख मुनिरले धम्काउन थालेका छन् ।’

धनगढी उप-महानगरपालिकाले लगाएको कर तत्काल खारेज नभए व्यवसायी आन्दोलनमा उत्रन बाध्य हुने कुखुरा व्यवसायी दिनेश चटौतले बताए । उनले कर निर्धारण गर्दा उप-महानगरपालिकाले व्यवसायी संग समन्वय समेत नगरेको बताए । नगरपालिकाले गरेको बोलपत्र आह्वान समेत गोप्य रुपमा गरिएको उनको आरोप छ ।

 अण्डा उत्पादक किसान संघका अध्यक्ष भुवन पाण्डेले नगरपालिकाले लगाएको कर तिर्न नसकिने बताए । ‘बैंङ्कको चर्को व्याज लिएर किसानले व्यवसाय गरिरहेका छन्’ उनले भने–‘स्थानीय सरकार व्यवसायीलाई सहयोग गर्नुको सट्टा कर आतंङ्कले तर्साउन थालेको छ ।’ मेयरको बोली र व्यवहार फरक भएको उनले बताए ।  

कृषिमा कर लगाएका छैनौं भनेर ठाउँठाउँमा भाषण गर्दै हिडेका मेयरले कसरी त्यस्तो भन्न सकेका रहेछन् ? भन्दै उनले प्रश्न पनि गरे । ठेकेदारका तर्फबाट कर असुल्न थालेका शेख मुनिरले भने आफुले कसैलाई न धमक्याएको बताए । व्यवसायी संग कर माग्दा उल्टै घेरावन्दी गर्ने गरेको उनले बताए । 

उनले भने, ‘कर असुली गर्न हामीलाई स्वइकृति मिलेको छ, तर व्यवसायीले उल्टै धम्काएका छन्, नगरपालिकाले पनि सहयोग गरेको छैन ।’ धनगढी उप–महानगरपालिकाका प्रशासकिय अधिकृत चक्रपाणी पाण्डेले कर निर्धारणमा त्रुटि भएको भन्दै सच्याउन सकिने   बताए ।

उनले स्थानीय सरकारलाई आर्थिक रुपमा सक्षम बनाउँदा कर निर्धारण गरिएको बताए ।  यसअघि पनि जिल्ला विकास समितिबाट सो शिर्षकबाट कर असुली हुने गरेको भन्दै उनले आफ्नो नीतिको बचाउ गर्न खोजे । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले भने आन्तरिक उत्पादनमा कर नलगाएको बताएका छन् । 

हाल नगरले निर्धारण गरेको कर आयातित कृषि उपजमा मात्रै लगाइने उनले बताए । आयातित कृषि उपजले स्थानीय कृषि व्यवसायीलाई समस्या पार्ने हुँदा उनीहरुलाई हौसला दिन आयातित कृषि तथा मासु जन्य पदार्थमा कर लगाएको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर