संविधानले जनतामा उत्साह थपेको छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्न संविधानले उत्साह थपेको बताएका छन् । 

संविधान दिवस २०७५ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले जनतामा संविधानले नयाँ संकल्पसहित अघि बढ्ने उर्जा ल्याएको जनाएका छन् । उनले नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्ररुपमा संचालन गरेका बलिदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताएका छन् । संविधान दिवसको सन्दर्भ पारेर मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप हरेक वर्ष असोज ३ लाई संविधान दिवसका रुपमा व्यापक हर्षोल्लासका साथ मनाउदै आएकोमा यस वर्षदेखि राष्ट्रिय दिवसका रुपमा समेत मनाउन थालिएको उल्लेख गरेका छन् । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुती दिने महान सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् । साथै उनले ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन, संविधान प्राप्तिका सबैखाले आन्दोलन तथा संघर्षमा सहभागी आम जनसमुदायप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् । 

स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनवाट स्थानीय तह र प्रदेश सरकारको गठन नयाँ संविधान कार्यान्वयनका महत्वपूर्ण खुड्किला भएको बताएका छन् । उनले जनताको घर आँगनमा जनताको आफ्नै सरकार बनेको विद्यमान अवस्थामा संविधान बमोजिम आवश्यक कानुन निर्माण गरी जनताको अपेक्षा बमोजिम सार्वजनिक सेवा तथा विकास निर्माण कार्यलाई अगाडि बढाउनु अहिलेको प्रमुख दायित्व भएको चर्चा गरेका छन् । यो दायित्व पूरा गर्न कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानुन र योजना निर्माणको बर्ष घोषणा गरेर अगाडि बढिरहेको जानकारी समेत दिएका छन् । 

शुभकामना सन्देशमा मुख्यमन्त्री शाहीले संविधान प्रद्धत्त अधिकारको प्रयोग गर्दै तीव्र गतिमा आर्थिक, सामाजिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माण गर्नु महत्वपूर्ण अभिभारा भएको जनाएका छन् । उनले कर्णाली प्रदेशमा रहेका प्रचुर प्राकृतिक श्रोत, कडा परिश्रम गर्न सक्ने जनता र नेतृत्वको तीव्र इच्छा शक्तिको प्रयोगबाट छोटो अवधिमै प्रदेशको समृद्धि प्राप्त गर्न सकिने विश्वास लिएको बताएका छन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर