• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

काठमाडौं ।  राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । 

यसअघि उक्त दु्रतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको हो । काठमाडंै–तराई–मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिए ।

 उक्त डिपीआर करीब  १० करोड १५ लाखको लागतमा तयार हुने छ जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ५१ करोड सस्तो हो । खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको छ । औपचारिक रुपमा दु्रतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो । 

एशियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ ।  सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रुख कटान भइसकेको छ । 

यसअघिको रेखाङ्कन परिवर्तन हँुदै 
आयोजना अघि बढाउने सिलसिलामा छोक्रेडाँडादेखि बाँदरे खोल्सीसम्मको करीब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुुरुङ निर्माण गर्ने गरी दु्रतमार्गको यसअघिको रेखाङ्कन परिवर्तन गर्ने निष्कर्षमा सेना पुगेको छ । सेनानी विनोद श्रेष्ठका अनुसार, छोक्रेडाँडादेखि महादेवखोल्सीसम्म ३ दशमलव ३, सीमपानीबेँसीदेखि चालिसे खोल्सीसम्म १ दशमलव ३७ र घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १ दशमलव ४ किलोमिटर दूरीका तीन वटा सुरुङ निर्माण गरिने छ ।

ती सुरुङ समानान्तर दूरीमा आवतजावत गर्नसक्ने दुईवटा मुख भएका ९ दशमलव ५ मिटर चौडाइ र ५ दशमलव ५ मिटर अग्ला हुने छन् । उक्त रेखाङ्कन परिवर्तन गरी सुरुङ निर्माण गर्दा ठूला १० वटा पुल र आधा दर्जानभन्दा बढी कल्भट बनाउन नपर्ने सेनाले बताएको छ । उक्त सुरुङ निर्माणपछि यसअघि प्रस्तावित ७६ किलोमिटरको उक्त द्र्रुतमार्गको दूरी झण्डै साढे तीनकिलो कम हुनेछ भने रु छ अर्ब ८० करोड लागत मूल्य बढ्ने छ । 

विसं २०७४ साल वैशाख २१ गते मन्त्री परिषद्ले नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको उक्त द्रुतमार्गको प्रारम्भिक अनुमानित लागत  १ सय ११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर