• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गायक कृष्ण काफ्ले

काठमाडौं । गायनको क्षेत्रमा पर्दा पछाडिको एउटा हिरो हुन कृष्ण काफ्ले । कृष्णको जन्म  वि.स. २०४५ असोज १६ गते स्याङजाको रापाकोटमा भएको हो । बाल्यकाल नवलपरासीमा बिताएका गायक कृष्ण वि.स.२०६४ सालमा काठमाडौै छिरेका थिए । 

वि.स. २०६४ सालमा ‘नवलपरासी आइडल’ उपाधि जितेपछि उनले ‘आँसुमा डुबाउदिन भन्थ्यो, आँसुमै जिउने बनायौँ’ बोलको पहिलो गीत रेकर्डसँगै गायन क्षेत्रमा औपचारिका यात्रा सुरु गरे । 

त्यसपछि काठमाडौ आएर कृष्णले चर्चित धारावाहिक हास्य श्रृंखला ‘तितो सत्य’मा सानो भूमिकामा अभिनय गरेर अभियन क्षेत्रमा लागेका थिए । 

यसैबीच उनले विभिन्न फिल्ममा पनि सानो–तिनो भूमिका निभाउने मौका पाए । यस सिलसिलामा उनले संगीत तथा गायनलाई पनि निरन्तरता दिईरहेका थिए । 

नेपाली संगीत क्षेत्रमा ‘प्ले ब्याक सिंगर’को रुपमा उदाएका कृष्णले दुई सय वटा भन्दाबढी गीतमा आवाज दिएका छन् । १५ वटाबढी गीत नेपाली फिल्मका लागि गाएका उनको आवाज नसुन्ने सायद कमै होलान् । 

सानैदेखि गायनमा रुचि भएका उनले गाउँमा गीत गाएको सुनेर सबैले राम्रो गाउछस् भनेपछि आफनो गायनमा भएको पागलपन मेटाउन उनी योे क्षेत्रमा लागेका हुन् । जीवन भनेकै दुख र सुखको संगम मान्ने उनले यो क्षेत्रमा लाग्दा पाएका दुखको पल आजको सफता मानेका छन् । 

पछिल्लो समय फिल्म ‘छक्का पन्जा’को सुपरहिट बनेको गीत ‘देख न चम्पा, सुन न चम्पा’मा आवाज दिएपछि कृष्ण काफ्लेको नाम चर्चामा आउन थालेको हो ।  त्यसपछि, कृष्णको फिल्म ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’ गीत हिट भयो । यसअघि, फिल्म ‘किस्मत २’को ‘तिम्रो पिक्चर हिट’ बोलको गीतलाई पनि निक्कै मन पराइएको थियो ।

गायनमा लागेसँगै शब्द अनि संगीत भर्न जान्ने भएका कृष्णले २०६७ मा दयाराम दाहालको फिल्मको ‘तिम्रो पावरफूल बैश’ गीतमार्फत् फिल्मी गायकको रुपमा डब्यु गर्ने अवसर पाएका थिए । 

उनले ‘माया बस्यो जुनेली रातैमा’ गीतबाट वि.स. २०७२ मा बेस्ट पप सिंगरको म्युजिक खबर अवार्ड पाए ।  युरोपमा खुब रुचाइने गायकमध्ये एक उनले गीत–संगीतकै मार्फत २० भन्दा बढी देशहरु घुमिसकेका छन ।

 गिनिज वर्ल्ड रेकर्ड राख्न सफल फिल्म ‘लभ यु बाबा’को शीर्ष गीत गाएका कृष्णले यसै फिल्मबाट गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्रसमेत पाएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर