• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

याे क्षेत्रमा परिवारले मलाई कहिल्यै साथ दिएन-महानायक हमाल 

नेपाली चलचित्र जगतमा लामो समयदेखि क्रियाशील अभिनेता राजेश हमाल यत्तिवेला युरोप भ्रमणमा छन् । युरोपका विभिन्न देशमा भएका सांस्कृतिक कार्यक्रममा सहभागी भएका हमालसँग  समाचार दैनिक डटकमका लागि सञ्चारकर्मी भोला लामिछानेले गरेको कुराकानी : 
 

युरोप भ्रमणमा आउनुभएको छ । कतिऔँ पटक हो यो तपाईको आगमन ? 

थुप्रै पटक आएको छु । युरोपमा खासै एकिन भन्न सकिन सानो उमेरमै युरोप आउने जाने गरेको हुँ । म रसियामा बसेर पनि पढेको थिएँ । सानो छँदा स्पेन आएको याद छ । तर, अहिलेको स्पेनका सबैजसो ठाउँहरू घुमाइको क्षण अविस्मरणीय रह्यो । 

नेपाली जहाँ गएर जस्तो तरिकाले बसे पनि उ नेपाली नै हो । हाम्रो विदेशमा नेपालीको इतिहास लामो छैन । अहिलेको यो पहिलो पुस्ता हो । पहिलो पुस्ता भएकोले हाम्रो जिम्मेवारी अलि बढी नै रहेको हुन्छ ।

 

युरोप भ्रमणको तय कसरी भयो थाहा नदिइ सुटुक्क आउनु भयो त ? 

होइन, मेरो नजिकका मित्र शिव कार्कीजीले नेपाली मुभि ‘चि मुसी ची’ को प्रदर्शन गर्न युरोप आउन लाग्नुभएको र मलाई पनिसँगै आउन आग्रह गरेसँगै म यता आएको हुँ । हाम्रो पोल्यान्डमा कार्यक्रम पहिल्यै नै तय भएको थियो  । तर समय भने निकै छोटो रहेको थियो ।

छोटो समयमा नै कार्यक्रमसहित ५, ६ देश त घुम्नु भयो नि त ? 

यो सबै तपाईंहरू जस्तै दर्शकस्रोताको मायाले संम्भव भएको हो । सेप्टेम्बर २० तारिख पोल्यान्डको कार्यक्रम सकेका थियौं । स्पेनमा साथीहरूले बोलाउनुभयो म्याडि«डमा कार्यक्रमको सेडुल तय भयो । लगत्तै स्पेनका थुप्रै एेतिहासिक र पर्यटकीय ठाउँहरू पनि घुम्ने अवसर प्राप्त भयो । बेनिड्रमको खाविया भन्ने ठाउँ रहेछ । म सानैदेखि पौडीको शौखिन मान्छे हुँ । यस क्षेत्रमा आउँदा पौडिनसमेत भ्याए । पछि स्पेनकै बार्सिलोना, पोर्चुगलको लिस्वन, बेल्जियमको एन्ट्रोपेन लगायतका ठाउँमा पनि नेपाली समुदायको अनुरोधमा साना साना कार्यक्रमहरू तय भए । युरोपको विकासको पूर्वाधारले नै छोटो समयमा धेरै ठाउँमा पुग्न सकिन्छ हैन र ? 

तपाईं कलाकारको हैसियतले विदेशमा नेपाली समुदायलाई कसरी हेर्नुभा’छ ? 

नेपाली जहाँ गएर जस्तो तरिकाले बसे पनि उ नेपाली नै हो । हाम्रो विदेशमा नेपालीको इतिहास लामो छैन । अहिलेको यो पहिलो पुस्ता हो । पहिलो पुस्ता भएकोले हाम्रो जिम्मेवारी अलि बढी नै रहेको हुन्छ । उहाँहरू रोजीरोटीको लागि होस् या पढाई तथा अन्य जोसुकै तरिकाबाट पनि विदेश लागेको होस्, थप जिम्मेवारी रहेको छ । यो मानेमा कि पहिलो पुस्ता आफ्नै देशको कला संस्कृति रीतिरिवाजमा भिजेको हुन्छ ।

उसले विश्वको जुन कुनामा पुगे पनि त्यो चिजलाई मेट्न सक्दैन तर अब अर्को पुस्ता जो यतै आएर हुर्केको हुनुहुन्छ उहाँहरूलाई हाम्रो देशको कल्चर कला संस्कृतिले त्यत्ति प्रभाव पारेको हुन्न । त्यही भएर पुरानो पुस्ता अगाडि थप चुनौती रहेको छ । त्यो चाहिँ नयाँ पुस्तालाई कसरी नेपाली कल्चरसँग घुलमिल गरेर अगाडि बढाउने भनेर कलाकारको हैसियतले हेर्दा पनि या एक नेपालीको नाताले यसरी विदेशी भूमिमा नेपाली श्रम बगाउनु पक्कै पनि राम्रो होइन देशको दुर्भाग्य र हाम्रो बाध्यता नै हो जस्तो लाग्छ । आशा गरौ विस्तारै राम्रो होला । 

सिनेमा लाइनको सुरूवात कसरी गर्नुभयो ? तपाई यसरी नेपालकै हिरो बन्छु भनेर पहिल्यै सपना देख्नुभा’थ्यो ? 

हो मेरो परिवार फरक क्षेत्रको हुनुहुन्छ । मलाई यस क्षेत्रमा कहिल्यै पनि सपोर्ट गर्नुभएन । सिनेमा क्षेत्रमा लाग्यो, के देखेर लागेको होला ? त्यो बेलामा मसँग थुप्रै प्रश्नहरू आइरहन्थे । जब मैले मेरो पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ को काम गरे यसलाई सबै आमनेपाली जनमानसले रूचाइदिनुभयो । यसले मभित्र धेरै उत्साह थप्यो । मलाई यस क्षेत्रमा टिकाउनुमा सबै दर्शकको हात छ । म कसैको कृपाले यस क्षेत्रमा लागेको होइन । आफै मेहनत गरेर एकपछि अर्को चलचित्र सफल हुँदै आएसँगै ममा थप हौसला र उत्साह थपिएको हो । म पहिलेदेखि हिरोको सपना त थिएन । तर, भित्रभित्र आत्मविश्वास थियो र काममा निरन्तर लागेर यो अवस्थामा आए । त्यो बेलामा वर्ष मा एकादुई जति फिल्म बन्थे । म एक्लो सैनिक थिए यस क्षेत्रमा । 

जब मैले मेरो पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ को काम गरे यसलाई सबै आमनेपाली जनमानसले रूचाइदिनुभयो । यसले मभित्र धेरै उत्साह थप्यो । मलाई यस क्षेत्रमा टिकाउनुमा सबै दर्शकको हात छ । म कसैको कृपाले यस क्षेत्रमा लागेको होइन ।

 

तपाईंलाई विदेशको विकास र रमझमले छोएन ? कहिलेकाही काठमाडौंको धुलो र धुँवाले विदेशतिर बस्ने मन जागेन ? 

ममा सानै उमेरदेखि विदेशी संकारको ज्ञान थियो । बुबा राजदूत हुनुहुन्थ्यो । म उहाँ जहाँ जानुहुन्छ त्यही जाँदै पढ्ने मौका पाए । रसियाबाट मेरो पढाई सुरूवात भयो । इन्डियामा पनि गएर पढे । पछि नेपालमा अमृत साइन्स कलेजमा पढे । मलाई विदेशी मोहले त्यत्ति छोएन । विस्तारै सिनेमा क्षेत्रमा धेरै व्यस्त हुन थाले । ममा वास्तवमा भन्ने हो भने विदेशको मोह जाँग्दै जागेन, जहाँ जान्छु नेपाली भनेर बोल्दा शान आउँछ । नेपाली पासपोर्ट नै बोकेर संसार घुम्दै गर्दा गर्व गर्छु । 

हाम्रो देशको विकास नहुनुमा नेपाली नेताहरू कै हात छ ?  

केही मानेमा हो । तर, पनि देशका जनताहरू एक भएर जाग्नु पर्यो । जनता शिक्षित हुनुपर्यो । यो पार्टी त्यो पार्टी नै भनेर पछि लाग्दा सबै असल नेतृत्वकर्ताको प्रवेश पनि हुन सक्छ भन्ने छैन । आखिरमा नेपालका पार्टीका सिद्दान्त त कसैका पनि नराम्रा छैनन् नि । पार्टीलाई नहेरी निस्वार्थ भावनाको जागरूक व्यक्तिलाई लिडरमा लग्नुपर्छ । साथसाथै त्यत्ति मात्र नभएर उसले आफ्ना जिम्मेवारी पनि बिर्सनु हुँदैन । विकासका लागि सक्षम नेतृत्वसँगै जागरूक जनताको पनि खाँचो रहन्छ । 

अन्तमा केही भन्नुहुन्छ ?

नेपाली डायस्फोरामा रहेर पनि नेपालीहरू आफ्नो अमूल्य समय मिलाएर विभिन्न कार्यक्रमको आयोजना गर्दै हामीलाई भेटघाट गर्ने मौका मिलाउनु हुन्छ । यसका लागि सबै नेपाली दाजुभाई दिदीबहीनीलाई विशेष धन्यवाद । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर