• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रतिबद्धता बिर्सिए मन्त्री र सांसदले, भटाभट विद्यालय छोड्दै विद्यार्थी 

धनगढी । गत बैशाखमा पहिलो चरणको भर्ना अभियानका क्रममा  मन्त्री, सांसद, पार्टीका उच्चस्तरीय नेताले अभिभावक बनेर वालवालिका विद्यालयमा भर्ना गरेका थिए । सरकारले अझै विद्यालय वाहिर छुटेका वालवालिकाका लागि भन्दै भदौदेखि असौजसम्म दोस्रो चरणको भर्ना अभियान संचालन गरेको छ ।

पहिलो चरणमा भर्ना गरेका विद्यार्थी अहिले विद्यालय छोडेर जान थालेका विद्यालय श्रोतले जनाएको छ । आफुले भर्ना गरेका विद्यार्थीलाई अभिभावकत्व प्रदान गरी पठनपाठन गराउने प्रतिबद्धता मन्त्री तथा सांसदले लिएका थिए, तर भर्ना गरेको दिन यता मन्त्री तथा सांसदले विद्यार्थीको बारेका कुनै चासो नदिएको विद्यालय श्रोतले बतायो । 

‘बालबालिकालाई घरबाट झिकाउने, उनिहरुलाई विद्यालयमा टिकाउन,े सिकाउने र विकाउने’ सरकारी नाराका साथ पहिलो र दोश्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको थियो । तर जिम्मेवार निकायले त्यस्ता नारा भाषणमा मात्रै सिमित राख्ने गरेका कारण दोश्रो चरणको भर्ना अभियान कार्यक्रम पुरै असफल भएको छ । 

दोश्रो चरणको भर्ना अभियान कार्यक्रम सञ्चालन भइरहँदा हालसम्म कैलालीका १३ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या शुन्य रहेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख विष्णुदत्त भट्टले बताए । ‘माध्यामिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई नै छ’ इकाई प्रमुख भट्टले भने, ‘हामीले स्थानीय तहलाई दोश्रो चरणको भर्ना अभियानको प्रगति विवरण उपलब्ध गराउन २ पटक पत्राचार गरि सक्यौ, अहिले सम्म कुनै स्थानीय तहबाट सो विवरण उपलक्ध हुन सकेको छैन ।’ 

तर धनगढी उप–महानगरपालिकाका शिक्षा अधिकृत बिरबहादुर नेपालीले भने विद्यार्थीलाई कक्षामा टिकाई राख्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । दोश्रो चरणको भर्ना अभियान कार्यक्रममा थप विद्यार्थी भर्ना नभएपनि पहिलो चरणमा भर्ना भएकालाई कक्षामा टिकाई राख्न कार्यक्रम सञ्चालन गरिएको नेपालीले बताए । 

विपन्न बालबालिकालाई कक्षामा टिकाई राख्न रुडुक नेपालसंग मिलेर ३ सय ५० जना विद्यार्थीलाई झोला, ड्रेस, नगद उपलब्ध गराइएको र थप ३ सय ५० जना विद्यार्थीलाई सोही सामाग्री वितरण गर्ने योजना रहेको नेपालीले जानकारी  दिए । 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का राजेश दमाई गत बैशाखमा लालपुर स्थित चण्डेश्वरी निमाविमा कक्षा ७ मा भर्ना भएका थिए । प्रथम त्रैमासिक परिक्षासम्म निरन्तर विद्यालय गएपनि बर्षे विदापछि भने उनि विद्यालय गएनन् । सोही ठाउँकी धनसरा नेपालीले पनि कक्षा ८ मा भर्ना गरेर विद्यालय जान छोडेकी छिन् । 

घरमा आर्थिक समस्या हुँदा उनि विद्यालय जान छोडेर दैनिक मजदुरी गर्न थालेकी छिन् । राजेस र धनसरा कक्षा छोड्ने पात्र मात्रै हुन् । सो विद्यालयमा अध्यनरत उनिहरु जस्ता दर्जन विद्यार्थीले बर्षे विदा यता कक्षा छोडिसकेको स्थानीय कौशिल्या नेपालीले बताइन् । पढेर केही उपलब्धी नहुने गरेको भन्दै सो क्षेत्रका दलित विद्यार्थीले हरेक बर्ष यसरी नै विचैमा कक्षा छोड्ने गरेको उनले बताइन् । हाल प्रदेशको राजधानी रहेकै धनगढी स्थित शारदा माविमा अध्यनरत विद्यार्थी पनि अहिले कक्षा छोडेर जान थालेका छन् । 

आर्थिक अवस्था कमजोर हुनु, बाल बिवाह, कुलतमा फस्नु, गलत साथीको संगतमा पर्नु, परिवार बसाई सरी अन्यत्रै जानु, अर्काको घरमा आश्रित हुँदा कामबाट निकालिनु रोजगारीको शिलशिलामा परिवार संगै भारत जानु जस्ता विभिन्न कारणले स्कुलमा भर्ना भएको छोटो समयमानै विद्यार्थीले कक्षा छोड्ने गरेको पाइएको  छ । 

शारदा माविका प्रधानाध्यापक तेज बहादुर सिंहका अनुसार शारदा माविमा भर्ना भएका विद्यार्थी मध्ये कक्षा ९ मा अध्यनरत सवै भन्दा बढी विद्यार्थीले कक्षा छोडेका छन्, भने अन्य कक्षामा अध्ययनरत विद्यार्थी पनि कक्षा छोडेर जान थालेका छन् । असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउन शिक्षकको तलव कट्टा गरी पठनपाठनमा सहयोग गर्ने गरेको भएपनि कक्षा छोड्ने विद्यार्थीको संख्यामा भने कमी नआएको प्रधानाध्यापक सिंहले बताए । 

धनगढीस्थित ‘धनगढी नमूना मावि’का प्रधानाध्यापक लक्ष्मण दत्त भट्टले पनि केही विद्यार्थी लामो समय देखी कक्षामा आउन  छोडेका बताए । सरकारले बालबालिकालाई विद्यालय झिकाउ, सिकाउ, टिकाउ र विकाउको नारा लिएको भएपनि सो अनुसारको कार्यक्रम भने लागु नगरेको उनले बताए । कतिपय विद्यार्थीको दाहोरो बसाई हुँदा पनि कक्षा छोड्ने प्रवृति बढेको प्रधानाध्यापक भट्टले बताए । कतिपय विद्यार्थी अभिभावक संगै मजदुरी गर्न जाने गरेका कारण पनि कक्षामा हाजीर नहुने गरेको उनको उनले सुनाए । 

शिक्षाको समेत जिम्मेवारी पाएका प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले भने विद्यार्थीलाई कक्षामा टिकाई राख्न विशेष कार्यक्रम सञ्चालन गरिने बताए । सामाजिक विकास मन्त्रालयले शिक्षाका लागि कुल बजेटको ६० प्रतिशत बजेट छुट्याइएको भएपनि हालसम्म शिक्षा विभाग नै सामाजिक विकासको मातहतमा नआउँदा कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको मन्त्री सोडारीले बताए । उनले सवै स्थानीय तह अन्तरगत रहेका वडा कार्यालय मार्फत विद्यार्थीलाई कक्षामा टिकाई राख्न विशेष कार्यक्रम सञ्चालन गरिने समेत बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर