• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपा सचिवालय बैठकः नेताहरुको विदेश भ्रमणको समिक्षामा सिमित

आन्तरिक विवादबारे २४ गते छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्र्टीको सचिवालय बैठकमा नेताहरुको विदेश भ्रमणको समिक्षा गरिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्र्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा आफ्नो सम्बोधन र कोस्टारिकाको भ्रमण सफल भएको जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा भ्रमणका अवसरमा विभिन्न मुलुकसँगको द्वैपक्षीय सम्बन्ध विस्तारसमेत भएको जानकारी दिएको पार्र्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण, वरिष्ठ नेता माधवकुमार नेपालको चीन तथा घानाको भ्रमण र प्रवक्ता श्रेष्ठको नेतृत्वमा भएको चीन भ्रमणबारे अवगत गराइएको थियो । 

प्रधानमन्त्री ओली विदेश जानुअघि पार्र्टीको सचिवालयले पार्र्टी एकतापछिको प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनका विषयमा वरिष्ठ नेता नेपालले सार्वजनिक असन्तुष्टि व्यक्त गरेको लगायत आन्तरिक समीक्षाका लागि भने यही असोज २४ गते बिहान बस्ने सचिवालयको अर्को बैठकमा छलफल हुने बताइएको छ । 

बैठकमा नेता माधव नेपालले संसदमा बोेलेको कुरालाई लिएर उनीसँग स्पष्टिकरण सोध्ने बताइएपनि आजको बैठकमा उक्त विषयले प्रवेश पाउन सकेन । प्रधानमन्त्री देश बाहिर भएको बेला नेता नेपालले दिएको उक्त अभिव्यक्तिले नेकपा र ओली नेतृत्वको सरकारका बारेमा नकारात्मक वातावरण बनेको भन्दै नेपालसँग स्पष्टिकरण सोध्नुपर्ने नेकपा नेताहरुले बताउँदै आएका छन् । 

सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर