• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

पहिलोपटक अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा जोडियो कर्णाली

हुम्ला । छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घघाटन गरेसँगै औपचारिक रुपमा कर्णाली प्रदेश अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ ।

कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री थापाले हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापनापछि कर्णाली प्रदेशसँगै पश्चिम नेपालको समृद्धिको ढोका खुलेको बताए । उनले हिल्सा नाका हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन तथा समृद्धिमा हिल्सा नाकाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै गृहमन्त्री थापाले मित्रराष्ट्र चीनको विकासमा यसले योगदान गर्ने बताए । उनले हिल्सा नाका छिमेकी देश चीन, भारत हुँदै युरोपसँग पनि जोडिने भएकाले यसको आफ्नै महत्व भनाइ राखे ।

उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिल्साको अध्यागमन कार्यालय स्थापनासँगै कर्णाली प्रदेशको समृद्धिका लागि बाटो खुलेको बताए । उनले भने, ‘भन्सार, अध्यागमन, क्वारेनटाइन, सीमा प्रहरी बलको कार्यालयका लागि पूर्वाधार विकास गर्न प्रदेश सरकारले चार करोड बजेट बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमै निर्माण कार्य पूरा गरिने छ ।’ 

उनले पूर्वाधार निर्माणमा बजेट अभाव भए थप बजेट व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको पनि बताए । मुख्यमन्त्री शाहीले यो महिनाको पहिलो साता गरेको चीन भ्रमणलगत्तै सिमा–नाकामा भन्सार कार्यालय स्थापना भएको हो । शाहीले भ्रमणका क्रममा चीनसँग सिमा–नाका संचालन, हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माण लगायतका विषयमा संवाद गरेका थिए । 

अध्यागमन कार्यालय उद्घाटनमा गृहमन्त्री थापासँगै मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, गृहसचिव, भन्सार विभागका महानिर्देशक, लगायत १५ जनाको टोली हुम्लाको सिमकोट हुँदै हिल्सा पुगेको थियो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर